|

विराटनगर : जब आँगनमा ढोल बज्न सुरु हुन्छ, दशैँको रौनक बढेको संकेत हुन्छ। तराईका घरदैलोमा परापूर्वकालदेखि नै ढोल पिटेर दशैँ आएको सूचना दिने चलन छ।

‘दशैँ आयो’ भन्दै घरदैलोमा ढोल बजाउने संस्कृति राम (चमार) समुदायको पुरानो संस्कृति हो। पछिल्लो समय ढोल बजाउने संस्कृति लोप हुँदै गएको छ। विराटनगर ११ मा बिहान ढोल बजाउँदै गर्दा भेटिएका दीपेश राम बाउबाजेले गरेको सांस्कृतिक कामलाई निरन्तरता दिएको सुनाउँछन्।

दशैँको नवरात्रिको पहिलो दिनदेखि नै ढोल बजाउने चलन रहेको बताउने उनी दशमी अर्थात् टीकाको दिनसम्म बजाउने चलन रहेको बताउँछन्। ढोल बजाएर नै अन्न, दाल, तेल, पैसालगायत सामग्री आर्जन गर्दछन्। कला, संस्कृति र जातीय परम्परागत पेशासँग जोडिएको ढोल बजाउने कार्य अन्य शुभकार्य, उत्सवमा बजाएको पाइन्छ।

विवाह, व्रतबन्ध, लोकनाच, छठ, तिहार, न्वारन, छठिहारलगायत राम समुदाय (चमार जाति)ले ढोल बजाउने गरेको देखिन्छ। बुवाको मृत्युपछि आफूले पनि ढोल बजाउने संस्कृतिलाई प्राथमिकता दिएको उनले बताए। बाउबाजेले गरिल्याएको पराम्परागत बाजा बजाउने संस्कृति पुस्ता हस्तान्तरण नभए केही समयपछि यो परम्परा पनि हट्न सक्ने चुनौती उनी सुनाउँछन्।

‘मेरो त बुवाको मृत्यु भइसेको छ, उहाँपछि मैले ढोल बजाउन सुरु गरेँ’, उनी बताउँछन्, ‘अब त आउने पुस्ताले यस्तो काम गर्दैनन् होला।’

अबको नयाँ पुस्ताका युवाले यो परम्परा नअँगाले दशैँमा ढोल कमै बज्ने उनी सुनाउँछन्। केही पढेका र जानेका युवा पुस्ता अन्य व्यवसायमा आबद्ध हुने वा देश छोड्नाले पनि ढोल बजाउने परम्परा विस्तारै लोप हुनसक्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.