|

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी निर्णयविरूद्ध कोशीको मुख्यमन्त्रीमा केदार कार्कीलाई अघि बढाएपछि देशको सबैभन्दा ठूलो दलमा तरंग पैदा भएको छ। 

कोशीमा शेखरले गरेको विद्रोहलाई बढ्न नदिन सत्ता गठबन्धन र नेपाली कांग्रेसले उनको विद्रोहलाई हतार हतार स्वीकार गर्‍यो तर पनि कोशी विद्रोहको बाछिटाले बागमतीलाई पनि तरंगित बनाउने प्रयास गरिरहेको छ। 

कोशीमा शेखरको विद्रोहले मुख्यममन्त्री बनेका कार्कीलाई कांग्रेस र गठबन्धनले स्विकारेर थुमथुमाउने प्रयास गरे पनि बागमती प्रदेशमा पनि कोशी प्रकरण दोहोरिने सम्भावना देखिएको हो।

बागमतीमा कांग्रेसका असन्तुष्ट सांसदहरु माओवादी नेतृत्वको सरकार भत्काएर आफ्नो नेतृत्वमा बनाउनुपर्ने माग गर्दै सिंहदरबार धाइरहेका छन्। 

कांग्रेस महामन्त्री गगन थापाले बिहीवार सार्वजनिक कार्यक्रममा नै बागमतीका कांग्रेसका असन्तुष्ट सांसदहरुले सरकार परिवर्तनको माग गर्दै आफूकहाँ आएको बताएका थिए। उनले ०८४ को निर्वाचनमा पनि कांग्रेसले गठबन्धन गरे पार्टी नै फुट्नसक्ने सम्भावना रहेको समेत उद्घोष गरे। 

बागमती कांग्रेसमा असन्तुष्टि बढे पनि कोशीमा जस्तो परिस्थिति तत्काल बन्ने सम्भावना भने छैन। बागमतीमा हालसम्म उपधारा २ अनुसारको सरकार रहेको छ।

कोशीमा जस्तै उपधारा ५ को अवस्था आएमा भने बागमतीमा कोशीको घटना नदोहोरिएला भन्न सकिँदैन तर कांग्रेसका असन्तुष्ट सांसदहरु माओवादी नेतृत्वको सरकार ढालेर एमालेसँगको सहकार्यमा सरकार बनाउने पक्षमा रहेको स्रोतको दावी छ। 

कोशीको घटनालाई सभापति शेरबहादुर देउवाले छोप्ने प्रयास गरे पनि सो घटना अन्य प्रदेशमा पनि फैलिँदै जाने जोखिम बढेको छ। कोशी प्रकरणले कांग्रेसभित्रका आन्तरिक समीकरणहरु तरंगित हुन थालेका छन्। 

बालुवाटारमा गत बिहीवार बसेको सत्ता गठबन्धनका सात दलको बैठकले कोशी मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको थियो तर कोशीको मुख्यमन्त्री दावी गरिरहेको कांग्रेसको कोइराला पक्षले पार्टी सभापति देउवासहित सत्ता गठबन्धनका दलले गरेको निर्णय स्वीकार गरेन।

कोशी मुख्यमन्त्री माओवादीलाई छाड्ने देउवासहितको निर्णय र सर्कुलरलाई कांग्रेसका ८ सांसदले चुनौती दिँदै कार्कीलाई मुख्यमन्त्री बनाएपछि कांग्रेस राजनीति तरंगित भएको छ। पार्टी सभापतिले गरेको निर्णय कार्यान्वयन नभएको अवस्थालाई कसरी समाधान गर्ने छलफलमा देउवा जुटेका छन्। 

सत्ता गठबन्धन र पार्टीमा आउनसक्ने जोखिम न्यूनीकरणको लागि शेखरको विद्रोहलाई स्वीकार गरे पनि देउवाको निर्देशनलाई मुख्यमन्त्री कार्कीले अझै टेरेका छैनन्।

देउवाले शेखरसँग एमालेसँगको सहकार्य तोडेर केन्द्रमा भएको गठबन्धनलाई निरन्तरता दिने सहमति गरे पनि कोशीमा मुख्यमन्त्री कार्कीले एमालेसँगको सहकार्य जारी राखेका छन्।

कार्कीले पार्टी र गठबन्धनको दबाबको बाबजुद एमालेलाई सरकारमा सहभागी गराएका छन् भने सत्ता गठबन्धन सरकारबाहिर छ।

कोशीबाट सुरु भएको सभापतिको निर्णयविरुद्धको विद्रोह बागमती हुँदै अन्यत्र पनि फैलिन सक्ने सम्भावनाले कांग्रेसभित्र कस्तो असर पार्न सक्छ? भन्ने चर्चा चल्न थालेको छ।

गठबन्धनले गर्दा कांग्रेसमा व्यापक असन्तुष्टि र वितृष्णा बढ्दै गएको कांग्रेसकै नेताहरु बताउँछन्। गठबन्धनले गर्दा नै कांग्रेसमा समस्या बढ्दै गएको टिप्पणी नेताहरुले सार्वजनिक रुपमा नै गर्ने गरेका छन्। 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसले नीतिगत निर्णय लिने बेला आएको बताउँछन्। हाल कायम रहेको गठबन्धनको कारण कांग्रेसमा समस्या बढ्दै गएकोले कांग्रेसले गठबन्धनको समीक्षा गरेर यसलाई राख्ने कि भत्काउने भन्ने विषयमा नीतिगत निर्णय गर्नुपर्ने बताए। 

‘कांग्रेसले अब गठबन्धनबारे समीक्षा गरेर निर्णय गर्ने बेला आएको छ। अहिलेको गठबन्धनले देश र जनताको हितको लागि काम गरिरहेको छ। कांग्रेसलाई पनि असर पारिरहेको छ। त्यसैले कांग्रेसले यो गठबन्धन तोडेर नयाँ बनाउनुपर्छ’, आचार्यले भने। 

उनले पार्टीमा थप समस्या निम्तिन नदिन कांग्रेसले पार्टीभित्र समीक्षा गरेर गठबन्धनबारे निर्णय लिनुपर्ने बताए। 

अर्का राजनीतिक विश्लेषक उज्वल प्रसाईं गठबन्धनले गर्दा कांग्रेसमा समस्या देखिएको बताउँछन्। चुनावमा टिकट वितरणदेखि नै कांग्रेसमा गठबन्धनले वितृष्णा बढाएको भन्दै गठबन्धनको निरन्तरताले कांग्रेसमा ससमस्या बढ्दै जाने प्रसाईंको भनाई छ। 

गठबन्धन निश्चित समय र निश्चित उद्देश्यका लागि हुनुपर्नेमा लोकतन्त्रलाई नै गठबन्धनबाट चलाउने प्रयास गर्दा नेपालको समग्र राजनीतिलाई असर पारेको उनले बताए। 

‘गठबन्धनले नेपालको संघीयतालाई नै कमजोर बनाइरहेको छ। प्रदेशप्रति जनताको वितृष्णा बढाइरहेको छ। कांग्रेसमा पनि गठबन्धनले गर्दा समस्या बढिरहेको छ। त्यसैले कांग्रेसले सबै समस्या समाधान गर्न गठबन्धन तोडेको राम्रो हो। गठबन्धन नतोडे कांग्रेसमा समस्या थप बढ्दै जान्छ’, प्रसाईंले भने। 

उनले नेतृत्वले गठबन्धन कहिलेसम्म के का लागि गर्ने भन्ने स्पष्ट नपार्दा कोशीमा घटना घटेको भन्दै अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिँदै जानसक्ने बताए। गठबन्धन नतोडे कांग्रेसको सामान्य राजनीतिक अवस्था नै खलबलिन सक्ने जिकिर प्रसाईंले गरे। 

राजनीतिक विश्लेषक लोकराज बराल सभापति शेरबहादुर देउवाको मनपरिका कारण कांग्रेसमा समस्या आएको बताउँछन्। बरालले कोशीमा शेखरपक्षले गरेको विद्रोहको असर कांग्रेसमा विस्तारै पर्दै जाने बताए। 

थाहाखबरसँग कुरा गर्दै बरालले भने‚ ‘देउवाको मनपरितन्त्रले गर्दा समस्या भइरहेको छ। कांग्रेसमा सधै शेरबहादुरको वर्चश्व हुँदैन, उनको दिनगन्ती सुरु भइसकेको छ। अब कांग्रेसमा असर देखिँदै जान्छ।’

सभापति देउवाले मनपरि रुपमा गठबन्धनबाट पार्टीको निर्णय गर्दा समस्या बढिरहेको बरालको भनाई छ। 

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ भने गठबन्धनले कांग्रेसमा कुनै समस्या उत्पन्न नभएको बताउँछिन्। उनी गठबन्धनले गर्दा नै कांग्रेस केन्द्रीय सरकारमा सहभागी हुन सकेको र विभिन्न प्रदेशमा सरकार गठन गर्न सकेको उनले बताइन्। 

डिनाले कोशीमा उपधारा ५ मा पुगेको अवस्थाले गर्दा स्वतन्त्र रुपमा कांग्रेस सांसदले सरकार बनाएको भन्दै अन्य प्रदेशमा उपधारा ५ को अवस्था नपुगेकोले कोशीको घटना नदोहोरिने उनको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.