|

काठमाडौँ : वर्षेनि वडा दशैँ धुमधामका साथ शहरदेखि गाउँसम्म मनाइन्छ। अधिकांश शहरमा बसेर सर्वसाधारण बालबालिका लिएर गाउँ गएका छन्। यो दशैँ रमाइलो गर्न मात्र नभइ चाडपर्वबारे जान्नुपर्ने जीवन उपयोगी शिक्षा सिक्ने अवसर पनि हो। शहरमा बसेका र गाउँघरमा बसेका बालबालिकाहरूमा समान रुपमा लागू हुँदैन।

गाउँमा स्कुल भएका बालबालिकाहरू सबै परिवारमा छन्। पूजापाठ गर्छन्। परिवार, समाजको क्रियाकलापमा छन्। त्यसैले उनीहरूलाई धेरै संस्कार सिकाउनु पर्दैन। आफैँ बुझ्छन् तर पनि दशैँ तिहार जस्तो चाडबाडमा भने सान्दर्भिक, सापेक्षिक कुराहरू सिकाउने व्यवस्था गराउनुपर्छ। शहरमा बसेका बालबालिकाहरूलाई भने धेरै यस्ता कुराहरू सिकाउनुपर्छ।

बालबालिकाहरू गाउँ गइसकेपछि नियमित कामसँगै पढाइमा जोड दिनुपर्छ। जस्तो दशैँभरि के–केमा खर्च गरे? कूल खर्चको सूची बनाएर हिसाब गराएर स्कुलको गणित र घरको आम्दानीसँग जोडिन्छ। म चाहिँ गराउँछु बालबालिकाहरूलाई अरूले पनि गराउनुपर्छ।

काठमाडौं, पोखरा जस्तो शहरबाट गाउँमा जाने बालबालिकाहरू छन् उनीहरूलाई अभिभावकहरूले हाम्रा संस्कार, धर्म, चाडपर्व किन मनाइन्छ? कसैले सेतो टीका, कसैले रातो त कसैले बेसार मुछेको टीका लगाउँछन्, यो किन फरक फरक संस्कार बस्यो? यस्ता कुराहरू पनि उनीहरूलाई सिकाउन आवश्यक छ।

दशैँको वेला हरेक दिनको फरक फरक महत्व छ, त्यसबारे पनि भन्नुपर्छ। देवता मानेर हाम्रो दैनिक जीवनमा के प्रभाव पार्छ? भौतिक, आधुनिक ज्ञानलाई जोड्न अभिभावकले सिकाउनुपर्छ।

अभिभावकहरूले हरेक बालबालिकालाई कक्षा कोठामा के के पढेको छ र दशैँमा भएको पूजाबारे पढ्यो पढेन भनेर दुर्गाको चित्र बनाएर कलर लगाउनु लाउनुपर्छ। र यो तिम्रो किताबमा कुनमा सामाजिक कि नैतिकमा जोडिन्छ भनेर पनि सोध्नुपर्छ।

यस्तै, बालबालिकाहरूलाई सांस्कृतिक, आर्थिक, व्यवस्थापकीय, कसरी भान्छा कोठाको व्यवस्थापन गर्ने, तरकारीबारे खानेकुरा कति खाने? के के खाने? यी कुराहरू पनि सिकाउनुपर्छ। उनीहरूलाई लिखित रूपमा सिकाए झन् प्रभावकारी बन्छ।

हराउँदै गएका रोटे पिङबारे युवाले जानकारी दिनुपर्छ

बढी त अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई दशैँको बिदामा हरेक क्रियाकलापमा संलग्न गराउनुपर्छ। पछिल्लो समय रोटे पिङ र अरु पिङ पनि लोप हुँदै गएका छन्। यीबारे भने विशेषगरि युवाहरूले बालबालिकाहरूलाई जानकारी दिनुपर्छ। कसरी पिङ हाल्ने, केका लागि भन्ने यस्ता संस्कारमा युवाहरूले नयाँ पुस्तालाई सिकाउनुपर्छ।

यसमा गाउँमा रहेका युवा क्लब र समुदायको पनि उत्तिकै भूमिका छ। अग्रजहरूले नयाँ पुस्ताका लागि देउसी भैलोको अर्गनाइज गराउनुपर्छ। दशैँमा त ५०/६० केटाकेटीहरू जम्मा हुन्छन् नभए पनि जम्मा पार्ने।

उनीहरूलाई बाटो निर्माण, कुलो निर्माण आदिबारे पनि जानकारी गराउनुपर्छ। यो व्यावहारिक रूपमा सिक्ने र हामीले सिकाउन पाउने पनि अवसर दिनुपर्छ। यस्तो अवसर सधैं मिल्दैन। यो शिक्षाले जीवनलाई सार्थक बनाउँछ।

पहिलेका बालबालिका जिज्ञासु, अहिलेका बढी मोबाइलमा व्यस्त

पहिलेका बालबालिका प्रकृति, कामप्रति जिज्ञासु थिए। हरेक संस्कार जान्न प्रेरित हुन्थे। डोरी बाट्ने, हलो बनाउन सिक्थे। यसरी जीवन उपयोगी सीप सिकेका हुन्थे तर अहिले छैन। अहिलेका बालबालिकाहरू मोबाइलमा मात्रै व्यस्त छन्।

मोबाइल टीभीमा मात्रै रुचि राख्छन्। यसबाट नयाँ कुराहरू सिक्छन् प्रविधिबारे जानकार त हुन्छन् तर यसले स्वास्थ्य बिग्रिन्छ। अधिकांश बालबालिकाहरू आत्मनिर्भर बन्न सक्दैनन्।

यस्ता बालबालिकाहरूलाई संस्कार र सीपप्रति जिज्ञासु बनाउनु सबैको दायित्व हो। उनीहरूलाई आत्मनिर्भर बनाउन बढी काममा संलग्न गराउनुपर्छ। अधिकांशको दशैँ र तिहार गरी लामो बिदा छ।

यो वेला बच्चाहरू हरेक दिन अभिभावकहरूकै साथमा हुन्छ। त्यसैले उनीहरूलाई मोबाइल टीभी जस्ता आधुनिक प्रविधिबाट छुटाउनुपर्छ र घर परिवारमा भएको संस्कारजन्य कुरामा सहभागी गराउनुपर्छ। 

१/२ घण्टा होमवर्कमा र बाँकी समय सामाजिक जीवनमा बिताउनुपर्छ   

विद्यालयले विद्यार्थीहरूलाई कक्षा कोठामा जान्ने बनाएको र बिदामा पढाएका कुराहरू बिर्सिन्छन् भन्ने आरोप लगाएर बढी होमवर्क दिने गर्छन्। यो आवश्यक होइन, अब दिएपछि अन्यथा पनि होइन। हरेक बच्चालाई १/२ घण्टा होमवर्क र बाँकी समय दैनिक, पारिवारिक जीवन, सामाजिक जीवनमा बिताउन लगाउनुपर्छ।

त्यसो गरिए उनीहरूको जीवन उपयोगी हुन्छ। यो चाहिँ गाउँको स्कुलको बच्चाका लागि। शहरमा पढ्ने र चाडबाडमा गाउँ जानेहरूको हकमा यति गर्न पर्दैन। उनीहरूलाई पूरै सामुदायिक, सामाजिक, प्राकृतिक र आफ्नो पारिवारिक जीवनमा व्यस्त बनाउनुपर्छ र हुन दिनुपर्छ। 

(शिक्षाविद् डा. मीनबहादुर शाहीसँग गरिएको कुराकानीमा आधारित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.