|

विराटनगर : मानिसको जीवन अनुभूति र भोगाइको एउटा  पुस्तक रहेछ। जहाँ विगत, वर्तमानका कैयौं तीता, मीठा भोगाइका कथाहरू मिसिएका हुन्छन्।

प्रत्येक मानिसको भविष्यका यात्रा अनिश्चित हुन्छन्, विगतका सम्झना र वर्तमानका अनुभूतिहरू भने  यथावत् नै रहन्छ। जति उमेरका खुड्किला बढ्दै गयो उति नै विगतका दिनहरू मानसपटलमा सम्झनाका छाल बनेर आइदिन्छन्।

त्यसो त यी सम्झनाका प्रतिविम्बहरू पनि समय, घटना र सन्दर्भ सापेक्ष हुने रहेछ। अहिले मेरो मन, मस्तिष्कमा बाल्यकालमा मनाएको दशैँको झल्झली सम्झनामा आइरहेको छ।

म संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा जन्मेकी हुँ। पहाडी श्रृंखलाले खाँदबारीलाई सधैँ रसिलो र भरिलो बनाइरहको आभास हुन्छ। संखुवासभाको शिरमा चाँदी झैँ टल्किने मकालु हिमालमा सुनका किरण छरेर सुनौलो बनाउँदै उदाउने बिहानको सूर्यले हरेक दिन नयाँ उत्साह, आशा र उमंग छरिदिन्छ।

म जन्मेको ठाउँ जहाँ सबै जातजाति, धर्मको समावेशी संरचनायुक्त समाज छ। सदरमुकाम बजारमा नेवार समुदायको बाहुल्यता छ, म त्यही नेवारी समुदायमा हुर्केकी लिम्बुकी छोरी हुँ। मेरो परिवारमा दशैँमा टीका लगाउने या नलगाउने  भन्ने विषयमा आमा र बुवाको रमाइलो विवाद चल्थ्यो।

बुवाको अडान दशैँमा टीका नलगाउने लगाइहाले सेतो भन्ने हुन्थ्यो। आमा भने सबैको निधारमा रातो टीका हुँदा आफ्ना छोराछोरीले कहाँ मान्छन् भन्दै प्रश्न उठाउनुहुन्थ्यो। आमा र बुवाको वादविवादमा हामी दिदीभाइको रातो टीका लगाउने भन्ने भनाइको जीत हुन्थ्यो। बुवाको लिम्बूहरूको मौलिक पर्व दशैँ होइन भन्ने अडान थियो।

तर पनि सन्तानको खुशीका लागि बाआमा हारिदिन्थे। हामी दशैँ आउनुअघि नै दशैँको खुशियाली एकअर्कामा साट्न आतुर हुन्थ्यौँ। त्यो समय मोबाइल इन्टरनेटको पहुँचमा हामी थिएनौँ, साथीभाइसँगको सामीप्यता एकदमै घना थियो। छिमेकका साथीभाइहरूसँगको जम्काभेटमा खुब आत्मीयता महसुस हुन्थ्यो।

अहिले प्रविधिको विकाससँगै त्यो निकटता हराउँदै गएको अनुभूति हुन थालेको छ। सँगै भेटेका साथी एकअर्काको गफमा भन्दा पनि मोबाइलको स्क्रिनमा सामाजिक सञ्जालका हरिया बत्तीमा उपस्थित भएका साथीहरूसँग नजिक हुन्छन्। अझ भनौँ भौतिक रुपमा भेटिएका साथीभन्दा पनि भर्चुअल साथीभाइसँग नै रामाइरहेका हुन्छन्।

जे होस्, दशैँको रौनक बढ्दै जाँदा नयाँ लुगा किन्न बुवाको दशैँ बोनस कुरेर बस्ने आमाको दशैँ मनाउने तयारी गजबको हुन्थ्यो। मासुले दिक्क लाग्दा आमाले हाम्रा जिब्रोलाई स्वाद फेर्न दिने सुकेको मुला, करेला, गुन्द्रुक आजभोलि शायदै महिनौँ अगाडिदेखि जोहो गर्नु नपर्दो हो।

मेरो बुवा जनकपुर चुरोट कारखानामा कार्यरत हुनुहुन्थ्यो। दशैँ आउनु केही दिन अगावै बुवाको दशैँ बोनस आएपछि आमाले नयाँ लुगा र जुत्ता किनिदिनुहुन्थ्यो।

भाइको रोजाई अलिक फरक थियो- उसलाई जुत्ता, लुगा आफ्नो रोजाइमा किन्नुपर्ने त्यो पनि महँगो र बजारमा चलेको।

मेरो रोजाई भने भाइको विपरीत थियो। मलाई आमाले जस्तो रोजेर किनिदिनुहुन्थ्यो म त्यसैमा खुशी हुन्थेँ। आमाको रोजाइ नै मेरो रोजाइ हुन्थ्यो। आमाले छोरी मान्छे भएर सर्ट पेन्ट लगाउनु हुन्न भन्ने धारणाको बिउ कलिलो मष्तिष्कमा छरिदिनुभएको थियो।

त्यसैले प्रत्येक वर्ष मेरो बाल्यकालको दशैँ थानबाट सिलाएको लामो कुर्ता सुरुवालमा नै बित्यो। त्यो समय नयाँ लुगाबाट आउने सुगन्धले दशैँको रौनक थप बढेको जस्तो हुन्थ्यो। घरका भित्तामा पोतिएको चुना, कमेरो माटोको सुगन्धले परदेशमा रहेका आफन्तहरूलाई घरमा बोलाएको झैँ आभास हुन्थ्यो।

यता, सिलाएको थानको पहिरन लगाउँदा र भाइले जस्तो पेन्ट लगाउनु हुँदैन भन्दै पहिरनमा पनि लिङ्गभेद गर्ने आमाको स्वभावलाई कुनै कुनै समय त प्रतिकार गर्न मन लाग्थ्यो। तर नैतिकता अग्रभागमा आएर मेरो विद्रोहपूर्ण शब्दमा पूर्णविराम लाग्थ्यो। म चुपचाप आमाको रोजाइमा दशैँ मनाउँथेँ।

मलाई पहिरनमा महिला हुनुको आभास दिलाउने मेरी आमाले बाँचेको समाज, परिवारको पनि उही सोच थियो होला, शायद। उहाँलाई हुर्काउने आमा र समाजले पनि हरेक कोणहरूबाट महिला हुनुको आभास दिलाएकै थियो होला‚ त्यसैले पनि मैले मेरो आमासँग महिला र पुरुषको विभेदविरुद्ध विद्रोह गर्न सकिनँ।

मेरो बुवाले हामी आदिवासी लिम्बू समुदायले दशैँ मनाउन हुँदैन भन्ने विषयमा रहेर केही पुरानो ऐतिहासिक कथा सुनाउनुहुन्थ्यो। तर म सानैदेखि विगतलाई भुलेर वर्तमानमा रमाउने स्वभावकी थिएँ। म र मेरो भाइ बुवाको विगतका ऐतिहासिक कथाका घटनाक्रमलाई बेवास्ता गर्दै वर्तमानमा रमाइरहेका हुन्थ्यौँ।

हामी नेवारी समुदायमा हुर्केकाले हाम्रो लिम्बू परम्परा, संस्कार, संस्कृतिभन्दा पनि नेवारी संस्कारसँग धेरै घुलमिल हुन पुगेका थियौँ।

बुवाले रातो रङको टीका लगाउनु हुँदैन, सेतो टीका लगाउनू भन्नुहुन्थ्यो तर बाल्यकाल जिद्दीपनाको एउटा भण्डार नै रहेछ। साथीभाइले खिसी गर्छन्। हामी रातो टीका नै लगाउँछौँ भन्दै अडान लिएपछि बाले त रातो टीका छुनु हुन्न थियो तर आमाले चैं रातो टीका, जमरा लगाइदिनु हुन्थ्यो।

खाँदबारीमा हाम्रा दाजुभाइ, आफन्त कोही नभएकाले हाम्रो आफ्नो, आफन्त भनेको नै हामी हुर्केको समाज थियो।

घरमा बाआमाको आर्शीवाद थापेर छिमेकी अजीको हातको टीका, आर्शीवाद ग्रहण गर्न जाने गर्थ्यौं। अजीले टीका लगाएर दिएको दुई रूपैयाँको ‘कटकटे’ नयाँ नोट पाउँदा त्यो समयमा २ हजार नै पाए झैं खुशी मिल्थ्यो। कसैले टीका लगाएर ५ रूपैयाँ दिँदा त खुशीले भुईँमा खुट्टा हुँदैनथे।

दिनभरि साथीभाइ, चिनेजानेको घरमा टीका थापेर बटुलेको पैसा गन्दै दिदीभाइ कस्को धेरै भन्दै बाजी लगाउँदाको त्यो क्षण अब कहिले आउला? सबै साथीभाइ भेला भएर एकअर्काको दक्षिणा कसको कति भयो भन्दै सोधासोध गर्दाको मज्जा नै बेग्लै।​

दशैँमा जम्मा भएको पैसाले के–के किन्ने भन्ने योजना बुन्दाबुन्दै दशैँ सकिउन्जेलसम्म एक रूपैयाँ, दुई रूपैयाँ त हो नि भनेर खर्च गर्दागर्दै गोजी रित्तो हुन्थ्यो।

बाल्यकालको दशैँ रहरको दशैँ हुने रहेछ, उमेर बढ्दै गएसँगै दशैँ जिम्मेवारी र आफन्त भेटघाटको माध्यम बन्दो रहेछ। यही बुझेर नै गीतले पनि भनेको होला, ‘फेरि कहाँ आउँछ र घुमेर बालापनको उमेर।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.