|

दैलेख : कुटपिटबाट घाइते भएका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्। 

बिहीबार राति यहाँको भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा युवाहरूबीच भएको झडपमा घाइते भएका बुढा क्षेत्रीको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको हो। 

युवाहरूबीच भएको झडपमा घाइते भएका उनको प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको त्यहाँ उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। 

झडपमा परी अन्य एकजना घाइते भएका छन्। घाइते भएका भैरवी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पताल पुर्‍याएकोमा सामान्य उपचारपछि फर्किएका छन्। उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ। 

भैरवी गाउँपालिका–५ सैनचौरस्थित ससुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाही सिलङ्गी बजारमा गएको समयमा युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ। 

यसैगरी यहाँको नारायण नगरपालिका–७ मा दशैँका राति युवाहरूबीच भएको झडपमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ। दशमीको राति भएको झडपमा घाइते भएका शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो। 

उक्त घटनामा संलग्न रहेको भन्दै चारजनालाई पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख लम्सालले बताए। छुट्टाछुट्टै ठाउँमा भएका दुईवटै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.