|

काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतवार भेटवार्ता भएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न उनीहरुबीच शिष्टाचार भेट भएको हो। सो अवसरमा दुवैबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए।

महासचिव गुतेरस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी थिए।

महासचिव गुतेरस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुतेरसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्दै छन्।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधारशिविर र लुम्बिनी जाने छन्। यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्। महासचिव गुतेरस नेपाल भ्रमण सकेर कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.