|

विराटनगर : कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको छ। 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार मुख्यमन्त्री कार्की र एमालेका प्रमुख सचेतक भण्डारीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो। 

माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए। 

उनले सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको बताए।

प्रमुख सचेतक भण्डारीले भने, ‘माओवादी, जसपा, एकीकृत समाजवादी ३ वटालाई सामेल गर्ने अनि हामी पनि त्यहीँ बस्ने कुरा चाहिँ हामीले हुँदैन भनेका छौं। त्यसमध्ये कुनै एउटा थप्नै पर्ने परिस्थिति भयो र काँग्रेस र एमालेको बीचमा सहमति भयो भने कुनै एउटा थपिन पनि सक्ला।’

यता, काँग्रेसले पनि गठबन्धनभित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी काँग्रेस सांसद समशेर राईले जानकारी दिए।

उनले भने, ‘कोशी प्रदेशको सवालमा गठबन्धनभित्रको थप एउटा थप्ने भनेपछि सकियो नि। सजिलो त्यही होला।’

एमालेको समर्थनमा काँग्रेसबाट विद्रोह गरेका कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.