मौज्दातमा अढाइ मेट्रिक टन मात्र

|

काठमाडौं : दशैँअघि सुरू भएको चिनीको अभाव अझै कायमै रहेको छ। चाडबाडकै बेला चाहिने चिनी अभाव हुँदा उपभोक्ताहरूलाई मार परेको छ। पर्याप्त मात्रामा चिनी किन्न नपाउँदा चिनीको सट्टा मिस्री किन्न बाध्य छन् उपभोक्ता।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईँका अनुसार चाडबाड सुरू हुनुअघि नै बजारमा कालोबजारी शुरू भएकाले चिनी पाइएको थिएन। तर पनि सरकारले चिनीको व्यवस्थापनमा पहल गरेको छैन। ‘अहिले पसलतिर गयौँ भने पसलेले चिनी छैन भन्छ, त्यसैले पाइँदैन,’ उनले भनिन्।

माइतीघर मण्डला चोकमा रहेको गंगा स्टोरका सञ्चालक निरज राना मगर पनि अहिले बजारमा चिनी अभाव भएकाले पसलमा ल्याउन नसकेको बताउँछन्। सरकारले चासो नदिँदा उपभोक्ता मारमा परेको उनको भनाइ छ।

चिनी खरिदका लागि तोकिएको मिति सारियो

बजारमा चिनी अभाव भइरहँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी खरिदका लागि तोकेको बैठकसमेत दशैँ पर्वलाई कारण देखाउँदै पछि सारेको थियो।

लिमिटेडले चिनी खरिदका लागि प्रि-बिड मिटिङ गर्न कात्तिक १० गते समय तोकिएको थियो तर समयमा बैठक हुन सकेन। बैठक आज (मंगलवार) बस्ने गरि सारिएको छ। 

‘यस कम्पनीबाट चिनी खरिदका लागि मिति २०८०/०६/१० मा आह्वान गरिएको अन्तरराष्ट्रिय बोलपत्र आई एफ बी नं एफ एम टि सि एल सी एस पि आइ सि बि ०१/०८०/०८१ मा प्रि-बिड मिटिङको मिति २०८०/०७/१० गते तोकिएकोमा सो समय वडादशैँको कोजाग्रत पूर्णिमाभन्दा अगावै पर्न गएको हुँदा इच्छुक उद्यमीहरूलाई बैठकमा सहभागिता जनाउन अपायक पर्ने देखिएकोले सो बैठक २०८०/०७/१४ गते बस्ने गरी तय गरिएको व्यहोरा सबै सम्बन्धित पक्षमा जानकारी गराईन्छ,’ कम्पनीको सूचनामा उल्लेख छ।

सरकार भन्छ : कात्तिकसम्म अभाव रहन्छ

यस वर्षको दशैँ सकिए पनि तिहार नजिकिँदै छ। विशेष गरी तिहारमा सेलरोटीलगायत परिकार बनाउन चिनीको आवश्यकता पर्छ। यस्तो बेला सरकारले चिनीको व्यवस्थापन गर्नुपर्नेमा अझै कात्तिकभरि नै चिनीको अभाव रहने बताएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले चिनीको अभाव कात्तिक महिनासम्म नै रहने बताए। ‘ठ्याक्कै कहिलेबाट चिनीको अभाव हट्छ भन्न त सकिँदैन तर एक महिनाभित्र चिनी उद्योगहरू सञ्चालनमा आए यो समस्या हट्छ,’ उनले भने।

देशबाहिरबाट चिनी ल्याउन प्रतिबन्ध लागेका कारण चिनी अभाव भएको उनको भनाइ छ। ‘अहिले भैरहवालगायत नाकाबाट चिनी ल्याउन सकिएको छैन,’ उनले भने, ‘आयात नै हुन सकेको छैन, त्यसैले यस्तो समस्या भएको हो।’ सरकारले चिनी व्यवस्थापन गरी सहज रूपमै उपलब्ध गराउन पहल गर्दै आएको उनको जिकिर छ।

मौज्दातमा अढाइ मेट्रिक टन चिनी मात्र

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता ठाकुरले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग अढाइ मेट्रिक टन चिनी मौज्दात रहेकाले तिहारमा चिनीको धेरै अभाव नहुने दावी गरे।

‘साल्ट ट्रेडिङ्गसँग दशैँमा २ सय मेट्रिक टन चिनी थियो, अब अढाइ सय मेट्रिक टन चिनी मौज्दात छ, यो तिहारको लागि राखिएको हो,’ उनले भने। उनका अनुसार उक्त चिनी प्रति व्यक्ति २ किलोमात्र उपलब्ध गराइनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.