|

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका च्याङ्‍ग्रा यस वर्षको दशैँमा सबै बिक्री हुन सकेका छैनन्। व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस वर्ष ५४६ च्याङ्‍ग्रा ल्याएकोमा अझै २७० वटा च्याङ्‍ग्रा बिक्री हुन बाँकी छ। 

ती च्याङ्‍ग्रा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएको छ। अपेक्षाअनुसार यस वर्ष च्याङ्‍ग्रा बिक्री नहुँदा अब दाना पानीमा सरकारको खर्च बढ्ने देखिन्छ।

कम्पनी लिमिटेडका सूचना अधिकारी न्यौपाने सुवेदीले गत वर्ष १ हजार ६१५ वटा खसीबोका र १६२ वटा च्याङ्‍ग्रा बिक्री भएको जानकारी दिइन्। ‘त्यस वेला उपभोक्ताहरूको धेरै चासो च्याङ्‍ग्रामा थियो, त्यसैले हामीले यस वर्ष बढाएर ल्याएका थियौँ तर अपेक्षाअनुसार बिक्री हुन सकेन,’ उनले भनिन्।

यसकारण बिक्री भएनन् च्याङ्‍ग्रा

च्याङ्‍ग्राको बढी मूल्य परेका कारण खरिद नगरिएको उपभोक्ताहरू बताउँछन्। कम्पनी लिमिटेडका सूचना अधिकारी न्यौपाने सुवेदी भने यस वर्ष अपेक्षाअनुसार च्याङ्‍ग्रा बिक्री नहुनुमा विभिन्न कारण देखाउँछिन्।

‘अघिल्लो वर्ष धेरै उपभोक्ताहरूको च्याङ्‍ग्राप्रति चासो थियो तर यस वर्ष त्यति चासो छैन,’ उनले भनिन्, ‘नेपालमा अहिले पनि आर्थिक मन्दीकै समस्या छ, त्यसैले पनि होला, निजीमा पनि बिक्री भएको छैन।’

उनका अनुसार अघिल्लो वर्षसम्म कोभिडलगायत विभिन्न महामारीका कारण त्यति धेरै सर्वसाधारण गाउँ गएका थिएनन्। ‘यहीँ बसेकाले धेरै खरिद गरे, यस वर्ष भने लाखौँ सर्वसाधारण शहर छोडेर गाउँ गएका छन्, त्यसैले पनि बिक्री भएन,’ उनले भनिन्। उनले एउटा च्याङ्‍ग्राको मोल ३० हजार रुपैयाँभन्दा माथि नै पर्ने बताइन्। 

१ हजार ८६९ वटा खसीबोका र च्याङ्‍ग्रा बिक्री

कम्पनी लिमिटेडका अनुसार दशैँको नवमीसम्ममा १ हजार ८६९ वटा खसी, बोका र च्याङ्‍ग्रा बिक्री भएको छ। अब बोका भने ३० वटामात्र बिक्री हुन बाँकी रहेको कम्पनी लिमिटेडका सूचना अधिकारी न्यौपाने सुवेदीले जानकारी दिइन्। ‘खसी चाहिँ सबै बिक्री भइसक्यो, अब ३० वटा बोका मात्र बिक्री हुन बाँकी छ,’ उनले भनिन्।

च्याङ्‍ग्रा बिक्री नभए के हुन्छ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकी च्याङ्‍ग्रा तिहारसम्ममा बिक्री हुने प्रक्षेपण गरेको छ। कम्पनी लिमिटेडका सूचना अधिकारी न्यौपाने सुवेदी भन्छिन्, ‘गाउँ गएका सर्वसाधारण अहिले शहर फर्किँदै छन्, दशैँको मासु नै सकिएको छैन अधिकांशको, त्यसैले अहिले नकिनेको हुन सक्छ, अब तिहार नजिकिँदै छ, अब किन्छन् होला।’

उनले अहिले पनि दैनिक ३/४ वटा च्याङ्‍ग्रा बिक्री भइरहेको जानकारी दिइन्। तिहारसम्ममा बाँकी च्याङ्‍ग्रा बिक्री नभए के गरिन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यो समयसम्म बिक्री हुन्छ भन्ने अपेक्षा छ, बिक्री भएन भने विकल्प खोजिन्छ।’

उक्त समयसम्म पनि बिक्री नभए मूल्य घटाएर पनि बिक्री गरिने उनको भनाइ छ। कम्पनी लिमिटेडले जिउँदो च्याङ्‍ग्राको प्रतिकेजी १ हजार १६० रुपैयाँमा अहिले १० रूपैयाँ छुट दिएर १ हजार १५० तोकेको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी न्यौपाने सुवेदीका अनुसार यस वर्षको चाडबाडमा खसी, बोका र च्याङ्‍ग्रा खरिदका लागि ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। उनले कति घाटा वा नाफा भयो भनेर तिहारपछि मात्र यकिन हिसाब हुने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.