भारतबाट सयपत्रीका माला ल्याउन पनि राेक

|

काठमाडौं :  हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते सुरू हुँदैछ। २५ गते कागतिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाईतिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ। सप्तरंगी टीकाजस्तै तिहारमा फूलको पनि विशेष महत्व हुन्छ। यस वेला बजारमा फूलको माग उच्च हुन्छ।

तिहारकै लागि भनेर वर्षेनि सर्वसाधारणहरू गाउँमा होस् या शहरमा फूल रोप्ने गर्छन्। काठमाडौं उपत्यका आसपासका किसानले आर्थिक उपार्जनका लागि नै फूल खेती गर्छन् तर पनि वर्षेनि फूलको अभाव हुँदा ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। 

यस वर्ष भने विदेशबाट फूल आयात नहुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस वर्ष गाउँदेखि शहरका खेतबारीमा लटरम्म फूल फूलेको छ। यहाँकै फूल पर्याप्त हुन्छ। फ्लोरिकल्चर एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष शिवबहादुर खड्काले यस वर्ष बाहिर देशबाट फूल ल्याउन नपर्ने बताए।

‘अहिले नेपालमै भने जस्तो फूलहरू फुलेका छन्, यही वेला ठ्याक्कै तिहार आयो। त्यसैले यहाँकै फूलले पर्याप्त पुग्छ, विदेशबाट ल्याउँदैनौँ, विदेशबाट ल्याउन पनि पर्दैन,’ उनले भने।

उनका अनुसार गत वर्षको तिहारमा यहाँ उत्पादित फूलले धान्न नसकेको कारण १४ प्रतिशत फूल विदेशबाट आयात भएको थियो तर यस वर्ष नेपालभर उत्पादन भइरहेको फूल नै बिक्री वितरण गरिनेछ।

सरकारले पनि भन्यो : भारतबाट सयपत्री माला ल्याउन पाइँदैन

सरकारले पनि सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको छ। कृषि विकास निर्देशनालयको पुष्प विकास केन्द्रले भारतबाट फूल आयातका लागि सिफारिस नगर्ने भनी सूचना जारी गरेको छ।

पुष्प विकास केन्द्रले यस वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएका आयात अनुमतिपत्रको सिफारिस जारी गर्न बन्द गरिएको जनाएको छ। 

केन्द्रले कात्तिक १२ गते जारी गरेको सूचनामा भनिएको छ, ‘तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गरेको तथा हिउँदको समयमा मौसमको प्रतिकूलताको कारण उत्पादनमा कमी हुने कारण भारतीय सयपत्री मालाको आयात गर्नु परिरहेको अवस्थामा यस वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा २०८० कार्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ।’

पुष्प विकास केन्द्रका सूचना अधिकारी सिर्जना न्यौपाने पौडेलका अनुसार हालसम्म पनि फूल आयात अनुमतिपत्रको सिफारिस जारी गर्न बन्द छ। उनले यहाँ उत्पादित फूलले नै तिहारमा धान्ने भएपछि बन्द गरिएको बताइन्।

‘यसपालिको तिहारमा यहाँकै उत्पादित फूलहरूले मज्जाले धान्छ, त्यसैले हामीले विदेशबाट आयात गर्नमा रोक लगाएका हौँ, कात्तिकअगाडि जे जतिले ल्याए, अब भने कसैले ल्याउन पाउँदैनन्,’ उनले भनिन्। 

प्लाष्टिकजन्य फूल बिक्रीमा रोकले किसान उत्साहित

पछिल्लो समय नेपालकै फूल खेतीलाई व्यावसायिक बनाउन भारतीय फूल र प्लाष्टिकजन्य फूल बिक्री वितरणमा रोक लगाइरहेका छन् स्थानीय तहहरू। कतै भने फूल खेती गरिरहेका छन्।

यतिखेर काठमाडौं उपत्यकाका लागि मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरूलाई मखमली फूल टिप्न भ्याइनभ्याइ छ। उनीहरूले अहिले मखमलीको माला प्रतिगोटा ३० देखि ५० रूपैयाँसम्ममा बिक्री गर्दै आइरहेका छन्। 

यता, दाङको तुलसीपुर उपमहानगरले प्लाष्टिकजन्य फूल बिक्री वितरणमा रोक लगाएको छ। जसकारण फूल खेतीमा किसानको आकर्षण बढेको छ। विगत ३ वर्षदेखि तुलसीपुर-८ मा सयपत्रीको व्यावसायिक फूल खेती गर्दै आएका गणेश भण्डारीले विगतको वर्षजस्तै यस पटक फूल बिक्रीमा समस्या नहुने भन्दै खुशी व्यक्त गरे।

‘विगत वर्षहरूमा भारतबाट फूल आउने र प्लाष्टिकजन्य फूलले गर्दा हामीले उत्पादन गरेको फूलले बजार पाउन सकेको थिएन,’ उनले भने, ‘यस पटक तुलसीपुर उपमहानगरले मात्र नभइ छिमेकी पालिकाहरूले पनि प्लाष्टिकजन्य फूलहरू बिक्री वितरणमा रोक लगाएपछि धेरै सहज भएको छ। हामीले अर्काको जग्गा भाडामा लिएर फूल खेती गरेका हुन्छौँ।’

उनका अनुसार यसअघि भारतबाट आउने फूल र प्लास्टिक फूलका कारण यहाँको फूलले बजार पाउँदैन थियो। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन्।

उनीहरूले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन्। विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार  ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो। ३० हजार रुपैयाँ लगानीमा १ हजार ५०० बोट सयपत्री रोपिएको छ।

अहिले फूल फूलेर ढकमक्क भएको छ। करिब दुई रोपनी जग्गामा फूल खेती गरिएको र यसबाट १ लाख ५० हजार रूपैयाँ आम्दानी हुने उनको अनुमान छ। वर्षेनि मखमली, सयपत्री गरि २६ लाख रुपैयाँभन्दा बढीको माला खपत हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.