|

सल्यान : सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। दशवटा पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका हुन्।

आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहको संयुक्त बैठकले एकद्वार प्रणालीमार्फत जिल्लाका १० स्थानीय तहले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति बेलाराम रावलले जानकारी दिए।

जम्मा भएको रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत रुकुम पश्चिममा जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरी प्रभावितको राहत उद्धार र पुनःस्थापना लागि पठाउने निर्णय गरेको उनले बताए।

यस्तै आइतबार बसेको जिल्ला विप्द व्यवस्थापन समितिको बैठकले भूकम्पका लागि जिल्लामा क्षतिग्रस्त भएका भौतिक संरचनाको तथ्यांक संकलनलाई निरन्तरता दिने जनाएको छ। भूकम्पबाट हालसम्म २५ वटा पूर्ण रूपमा क्षति, ८८ आंक क्षति र ९४ वटा घरमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक वेदप्रसाद खरेलले जानकारी दिए।

यस्तै भूकम्पबाट पीडित भएकालाई विपद् पीडित उद्धार तथा राहत वितरणसम्बन्धी मापदण्ड २०७७ बमोजिम राहत वितरण गर्ने, जिल्लामा क्षतिग्रस्त भौतिक संरचनाको यथार्थ वितरण संकलन गरी आ-आफ्नो क्षेत्रबाट समेत राहत वितरण गर्ने निर्णय भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.