भन्सार वृद्धिले मूल्य पनि बढ्यो

|

काठमाडौं : तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती विदेशबाट करिब ५० करोड रुपैयाँसम्मको आयात भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार झिलीमिली बत्ती आयात गरेर पसलहरूमा तयारी राखिएको छ। तिहारका बेला घर, पसलमा सजाउन झिलीमिली बत्तीको धेरै प्रयोग हुन्छ।

विशेषगरी तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ। विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले भने, ‘हामीले यस वर्षको तिहारको लागि भनेर ४० देखि ५० करोड रुपैयाँसम्मको झिलीमिली बत्ती आयात गरेका छौँ, पसलहरूमा प्रशस्त छ, आम उपभोक्ताहरूले मज्जाले खरिद गरी घर सजाउन सक्नुहुनेछ।’

अपेक्षित व्यापार नहुँदा व्यवसायी चिन्तित

तिहार नजिकिँदै गए पनि यस वर्ष अपेक्षित रूपमा झिलिमिली बत्तीको किनमेल नभएको व्यवसायीहरूले बताएका छन्। हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते सुरू हुँदैछ। २५ गते कागतिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाईतिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ।

विद्युतीय व्यवसायी महासंघका अध्यक्ष देवकोटाले पनि अहिले बजारमा उपभोक्ताहरूले सोचेजस्तो खरिद नगरेको बताए। ‘तिहार आइसके पनि उपभोक्ताहरूले त्यति झिलीमिली बत्ती किनेका छैनन्, त्यसैले सबै व्यवसायीहरू चिन्तित छन्, झण्डै ५० करोडको ल्याएको झिलीमिली बत्ती स्टक नै रहने देखिन्छ,’ उनले भने।

झिलिमिली बत्ती कारोबार नहुनुमा उनी विभिन्न कारण देख्छन्। ‘कोभिड,आर्थिक मन्दीले जग्गामा लगानी भएन, त्यसपछि नयाँ संरचनाहरू बन्न सकेनन्, त्यसैले पनि व्यापार कम भयो,’ उनले भने।

कतिपयले गत वर्ष नै झिलिमिली बत्ती किनिसकेको र यस पटक पनि त्यही प्रयोग गर्ने योजना बनाएका कारण पनि त्यति धेरै किनबेच नभएको उनको भनाई छ।

‘एक पटक किनिसकेपछि २/४ वर्ष नै टिक्छ, त्यही प्रयोग गर्नेहरूले नयाँ किन्दैनन्,’ उनले भने। उनका अनुसार गत वर्ष कोरोनाबीच पनि करिब ४० करोडको झिलीमिली बत्तीको कारोबार भएको थियो।

भन्सार विभागको साउनदेखि असोजसम्मको तथ्यांकमा २९ करोड ७६ लाख १ हजार ६२३ रूपैयाँ बराबरको विद्युतीय उपकरणहरू विदेशबाट आयात भएका छन् भने क्रिसमसका लागि भनेर विदेशबाट करसहित १ लाख ३४ हजार २ सयको झिलिमिली बत्ती आयात भएको देखिन्छ।

भन्सार दर वृद्धिले बढ्यो बत्तीको मूल्य

भन्सार विभागले भन्सार दर वृद्धिले यस वर्ष झिलिमिली बत्तीमा मूल्य बढाउनु परेको विद्युतीय व्यवसायी महासंघको दाबी छ।

विद्युतीय व्यवसायी महासंघका अध्यक्ष देवकोटाका अनुसार यस पटक अघिल्लो वर्षभन्दा २० देखि ३० रूपैयाँसम्मले झिलिमिली बत्तीको मूल्य बढेको छ। ‘भन्सारका कारण हामीले मूल्यवृद्धि गर्न बाध्य भयौँ, पहिलाजस्तो १२०/१३० पर्ने सामानमा २०/३० रूपैयाँ बढेको छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.