जाजरकोटमा १०१, रुकुमपश्चिममा ५२ को मृत्यु

|

जाजरकोट : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या घटेको छ। प्रहरीले यसअघि जाजरकोटमा नै १०५ जनाको मृत्यु भएको जनाएको थियो।

जाजरकोटको नलगाड नगरपालिकाका ३ जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको जिल्ला प्रहरी प्रमुख, डिएसपी सन्तोष रोकाले बताए।

यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्यांक प्रहरीले दिएको थियो। अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको संख्या यकिन भएको डिएसपी रोकामगरले बताए।

उनले भने, ’हामीले प्रारम्भिक तथ्यांकअनुसार १५७ मृतक घोषणा गरेका थियौं तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएका मृतकहरू दोहोरिएकाले मृतक संख्या घटेको हो।’

डिएसपी रोकामगरका अनुसार नलगाड नगरपालिका-८ की सरिता सिंह, नलगाड-७ का रेगम सिंह, नलगाड-१२ की मिना बिष्टको नाम दोहोरिएको छ।टेकबहादुर पुन नामको व्यक्ति एक जना मात्र रहेका तर नाम दुई पटक लेखिँदा संख्या दोहोरिएको थियो।

जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ। तीमध्ये २८ जना महिला र १४ जना पुरुष छन्। जाजरकोटकै नलगाड नगरपालिकामा ५१ जना, कुशे गाउँपालिकामा ७ जना र छेडागाड नगरपालिकामा १ जनाको गरी १०१ जनाको मृत्यु भएको हो।

रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १५३ मात्र एकिन भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

सबै नाम र ठेगानाको भेरिफाई गर्दा हालको संख्या घटेको प्रजिअ सुनारले बताए। यसअघि १५७ जनाको मृत्यु भएको प्रहरी र स्थानीय प्रशासन आफैँले पुष्टि गरेको थियो। हाल मृत्यु हुनेमा ९७ जना महिला र ५६ जना पुरुष गरी जम्मा मृतक संख्या १५३ जना कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.