|

रुकुम पश्चिम : सोमवार दिउँसो जाजरकोटको रामिडाँडामा गएको परकम्पमा रुकुम पश्चिममा ७ जना र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन्।

जाजरकोटमा ३ वटा घर भत्किएको जानकारी जिल्ला प्रहरी जाजरकोटमा डिएसपी सन्तोष रोकायले बताए। 

दिउँसो ४:३४ बजे जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ५.८ म्याग्निच्युड को भूकम्पले जिल्लाको आठबिसकोट नगरपालिकाका ४ जना, चौरजहारी नगरपालिकाका २ जना र सानीभेरी गाउँपालिकाका एकजना गरी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

आठविसकोट नगरपालिकाका प्रमुख नगर प्रमुख रवि केसीका अनुसार वडा नम्बर ११ का ३७ वर्षीय बीरबहादुर बुढा, सुवासना आग्री, वडा नम्बर १२ का २२ वर्षीय सुरज बिक र ५ वर्षीया ज्ञानिल बिक घाइते भएका छन्। 

घाइते ४ जनाको उद्धार गरेर अहिले राडिबजारस्थित नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको नगर प्रमुख केसीले जानकारी दिए। 

परकम्पमा घाइते चौरजहारी नगरपालिका-४ का १५ वर्षीया लक्ष्मी नेपाली र वडा नम्बर ७ का ३१ वर्षीय उदयराज कामीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ।

सानीभेरी गाउँपालिका-४ आमलाटाकुरा गाउँका घाइते एकजनाको सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचार भइरहेको स्थानीय डिल्ली परियारले बताए। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसअघि गत शुक्रवार जाजरकोटको रामिडाँडा नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.