|

जाजरकोट : भूकम्प गएको भोलिपल्ट अर्थात् कात्तिक १८ गते फिल्डमा खटिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत अहिले पनि गाउँमै छन्। स्थलगत रुपमा भत्किएको बाटोदेखि भौतिक संरचनाको अवस्था बुझ्दै पीडितका त्रिपाल-त्रिपालमा पुगेका मन्त्री बस्नेत सरकारको तर्फबाट अभिभावकत्व दिइरहेका छन्।

भेरी नगरपालिका भित्रका भूकम्पबाट क्षति भएका वडाहरुका सर्वसाधारणसँग भेटघाट गर्दै सुरु भएको मन्त्री बस्नेतको यात्रा नलगाड नगरपालिका सम्म पुगेको छ।

भूकम्पबाट भेरी नगरपालिकाभन्दा नलगाड नगरपालिकाभित्र बढी मानवीय क्षति हुनुका साथै भौतिक संरचनासमेत हानि पुगेको छ। सरकारले पठाएको राहत सामग्री नपुगको आलोचना भइरहदा कहाँ समस्या आयो भन्दै अनुगमन तथा निरीक्षणमा समेत रहेका मन्त्री बस्नेत मृतकका आफन्त, घाइतेका आफन्तको घरमा पुगेर सरकारले गर्ने कामको विषयमा जानकारी दिई चर्किएको घाउँमा मलम ,पट्टी लगाउने प्रयासमा छन्।

भेरी –३ को  थाप्ले, १ को रिम्ना हुँदै नलगाड १ को पाली कल्पत , वडा नम्बर ४ ,५ र ६ मा बिहीबार नै पुगेका मन्त्री बस्नेत आज बारेकोट गाउँपालिकामा पुग्ने उनको सचिवालयले जानकारी दिएको छ।

मन्त्री बस्नेतसँग पीडितले अब चिसोबाट जोगिनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्। नलगाड नगरपालिका–५  भारगाउँका परिमल सुनारले त्रिपालले मात्र नबाँचिने भएकाले अस्थायी टहरा निर्माण गरेर पन:स्थापनाको कामलाई ध्यान दिन मन्त्री बस्नेतलाई आग्रह गरेका थिए।

मन्त्री बस्नेतले मानिसका लागि मात्र नभई पशुचौपायका लागि समेत नयाँ घर निर्माण नहुन्जेल सम्मका लागि अस्थायी टहरा सरकारले निर्माण गर्ने भन्दै आश्वस्त पार्नुभएको थियो। मन्त्री पीडितसमक्ष पुग्दा त्यहाँका सर्वसाधारणहरु अभिभावकत्व दिएको भन्दै सरकारको उपस्थिति राम्रो भएको भन्दै खुलेरै पीडा सुनाएका थिए।

नगर प्रमुख डम्बर रावतलाई सँगै लिएर गएका मन्त्रीले संघ सरकार र स्थानीय सरकारले गर्ने कामको बारेमा समेत सबैलाई जानकारी गराएका थिए।

आज बारेकोट गाउँपालिका– १ अर्थात भूकम्पको केन्द्रविन्दु रहेको रामीडाडामा मन्त्री बस्नेत पुग्ने योजना रहेको छ।

 मन्त्री जहाँ पुग्छन्, त्यहाँ सर्वसाधारणहरु पीडाका कुरा सुनाउँछन् र भन्दछन् हामी अब आफ्नो घरमा कहिले बस्न पाउँछौँ। पीडित परिवारलाई एउटा त्रिपाल दिइँदा सबै परिवारका सदस्य एकै ठाउँमा बस्न नमिल्ने भएकाले समस्या भएको समेत गुनासो गरेका छन्।

जाजरकोटको संस्कारअनुसार जेठाजु दाइ र बुहारी बीचमा छुन नहुने चलन स्थापित छ। टाउकोमा समेत कपडाले छोप्ने चलन भएकाले एकै त्रिपालमा बस्न सम्भव नभएको हो। कतै सुत्केरी भएकी महिला र अन्य सबै एकै ठाउँमा बस्न नमिल्ने अवस्था पनि रहेको गुनासो मन्त्रीसँग सुनाएका छन्। सदरमुकाममा घरमालिकलाई मात्र पीडित मान्दा भाडामा बसेकाहरुको बिचल्ली भएको छ।

सुत्केरीलाई बढी समस्य

नलगाड नगरपालिका–७ दल्लीको मीनाकुमारी बादी सुत्केरी भएर बिहीबार नगर अस्पतालबाट बिदा पाउनुभएकी उनी घर जाँदा उनलाई खाना र न्यानो कपडा नहुँदा समस्या निम्तिएको छ।

भूकम्पले घरमा क्षती बनाउँदा सबै त्रिपालमा रहेका समयमा मीनालाई भत्किएको घरबाहिर बस्नुपर्दा समस्या उत्पन्न भएको छ। उनका लागि छुट्टै त्रिपाल नहुँदा सबै सँगै भएपछि तनाव उत्पन्न भएको छ।

उनीसँग ६ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर बस्दा झन् अर्को समस्या उत्पन्न हुने गर्दछ। मीनाकी सासूका (सुनिता) अनुसार अब मीनाको काँधमा ३ वटा बच्चाको व्यवस्थापनको कामसमेत थपिएको छ। उनका श्रीमानको केही दिनअघि अप्रेसन गरेकाले राम्रोसँग हिँड्न सक्ने अवस्थामा छैनन्।

सुनिताले भनिन्, ‘बस्नका लागि भर भत्किएको छ, घरमा अन्नको एक गेडो छैन। माछा मारेर दैनिक गुजारा चलाउँदै आएका छौँ।’

उनीजस्तै बारेकोट गाउँपालिका–२ रोकायगाउँकी सरिता गिरीलाई पनि समस्या परेको छ। तीन दिनकी सुत्केरी अहिले त्रिपालको सहारामा चिसोले हैरानी खेप्दै कतिखेर घाम लाग्ला भन्दै आकाश हेरेर बस्ने गरेको सरिताको भनाइ छ।

उनका श्रीमान भारतको कोलकत्तामा काम गर्न गएको पनि ५ महिना भइसक्यो। अहिले उनी  ९ वर्षको छोराका साथमा छिन्। काखमा ५ दिनकी छोरी छिन्। माइतीघरबाट बैनी आएर आफूलाई काममा सघाएले समस्या अलि कम भएको छ। भूकम्पको केन्द्र विन्दु रहेको नजिकै आफ्नो गाउँ भएकाले पराकम्पन गइरहने समस्या छ।

सुत्केरीलाई स्याहारसुसार पाउने समयमा आफैँ काममा लाग्नुपर्दा स्वास्थ्य जोखिममा पर्ने खतरा बढेको छ।

त्रिपालमुनि स्वास्थ्य संस्था सञ्चालन

भूकम्पबाट कति मात्रामा स्वास्थ्य संस्था क्षति भए भन्न अझै यकिन डाटा छैन। भूकम्प प्रभावित भएका अधिकांश ठाउँमा स्वास्थ्य संस्थाका भवनहरू चर्किएर सेवा प्रभावमा समस्या भएको छ।

लिम्सास्थित स्वास्थ्य तथा सरसफाइ शाखाको भवन भत्किएपछि खुल्ला चौरमा त्रिपाल टाँगेर सेवा सुचारु गरिएको सिनियार अनमी कल्पना रोकायले जानकारी दिए। त्यस्तै अन्य ठाउँको अवस्था समेत चिन्ताजनक रहेको उनको भनाइ छ। खासगरी बारेकोट, नलगाड र भेरीमा भौतिक संरचनामा क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.