हत्या आरोपीकै मृत्यु, सीसीटीभी फुटेज लुकाउँदै प्रहरी

|

धनगढी : कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्।

हिजो (बिहीवार) जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ।

तर उनका दाई गोपाल सेट्टीले भने प्रहरीकै कस्टडीमा आफ्नो भाइको हत्या भएको बताए। उनले प्रहरीले सीसीटीभी पनि लुकाइरहेको दाबी गरे। आफ्नो भाइको स्वास्थ्यमा कुनै समस्या नरहेको पनि उनको भनाई छ। उनीसहितका आफन्तले अहिले घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेका छन्।

अस्तिमात्रै धनगढी उपमहानगरपालिका-१६ बेहडाबाबा विद्यालय क्षेत्रमा लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा मृतक सेट्टी पक्राउ परेका थिए।

बिहीवार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

सोमवार दिउँसो मदिरा चोरी गरेको आरोप लगाएर स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई लाठी कुटेपछि थापाको मृत्यु भएकोमा सेट्टी समातिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.