|

जनकपुरधाम : जनकपुरधाममा गत वर्ष जनकपुरधाम उपमहानगर-७ की मीना साहले ६ सयमा केराको घरी किनेकी थिइन्। उनी यो वर्ष १ हजार १ सयमा किन्न बाध्य भइन्।

केरा किनेर घरतर्फ फर्कन लागेकी मीनाले भनिन्, ‘यो वर्ष के भयो खै ? केराको भाउले आकाश छोएको छ।’ एउटा घरीलाई ५ सयभन्दा धेरै तिर्नुपर्दा उनी आक्रोशित देखिन्थिन्।

मीना मात्र होइन, छठ पर्वका लागि जनकपुरधाममा केरा किनेका प्रायः सबैले अचम्म परेका छन्।

जनकपुरधाममा केराको भाउ बढेकाले सीमा छेउछाउका बासिन्दा भारतीय बजार पुगे। त्यहाँ पनि यो वर्ष केराको भाउ बढेको उनीहरूको भनाइ छ।

जनकपुरधामबाट सबैला गाउँ करिब २० किलोमिटर छ। त्यहाँबाट केरा किन्न आएका किसन यादवले भाउ सुनेर आश्चर्य लागेको बताए‚ ‘घरीमै ४‚ ५ सय बढेको छ’, उनले भने, ‘के गर्ने ? ९ सयमा सानो घरी किनेँ।’

त्यसैगरी जनकपुरधाम उपमहानगर-३ निवासी ६८ वर्षीय राजेन्द्र भगतले पनि १ हजार ३ सयमा केराको घरी किने। यो वर्ष केराको हाहाकार भएको छ।

भारतबाट केरा आयात गर्न नदिएकाले नेपाली केरा महँगोमा किनेर ल्याएकाले महँगोमा बेच्नुपरेको व्यापारीहरूले बताए।

छठमा केराको घरी चढाइन्छ। हरेक व्यक्तिले कम्तीमा एउटा केराको घरी किन्छन्। त्यसैले छठका वेला हरेक वर्ष केराको हाहाकार हुन्छ। यो वर्ष त भारतीय केरा आयात नभएकाले महँगो भएको फलफूल व्यवसायी संघ जनकपुरधामका अध्यक्ष विशेश्वर यादवले बताए।

यादवले भने‚ ‘भारतबाट केरा आयात गर्न नदिँदा केराको भाउ बढेको हो।’

अध्यक्ष यादवले भने, ‘गत वर्ष करिब ४० ट्रक भारतीय केरा जनकपुरधाम आएको थियो। यो वर्ष भारतबाट केरा ल्याउनै दिएनन्।’

भारतबाट केरा नआएकै कारण भाउ आकाशिएको उनको कथन छ। सरकारकै कारण केरा महँगोमा किन्नुपर्ने बाध्यता भएको बताउँदै यसमा सरकार दोषी भएको उनको भनाइ छ।

जनकपुरधाममा वार्षिक करोडौँ रुपैयाँको केराको कारोबार हुन्छ। नेपालमा केरा अभाव भएपछि सीमावर्ती क्षेत्रका मानिस भारतीय बजारबाट किन्न बाध्य भएका छन्। भारतीय बजारबाट एउटा/दुईवटा घरी किनेर ल्याउँदा प्रहरीले रोक्ने गरेका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.