तत्कालै पाठ्यपुस्तक उपलब्ध गराउँछौँ : विकास केन्द्र

|

काठमाडौं : चाडपर्व सकिएसँगै देशभर भोलिदेखि सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुँदै छ। रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्‍याएकाे छ।

ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा भोलिदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।

कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयहरूमा क्षति पुगेको थियो। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको छ।

आठबीसकोटमा भोलिदेखि पठनपाठन

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले नगरपालिकाभित्रको भूकम्पप्रभावित विद्यालयमा भोलिदेखि नै पठनपाठन थाल्ने जानकारी दिए।

उनले थाहाखबरसँग भने, ‘जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन भोलिदेखि नै हुन्छ, पूर्ण रूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौँ। त्यसैले पठनपाठन रोकिँदैन,भोलिदेखि नै सुरु हुन्छ।’

उनका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ वटा विद्यालयमा क्षति पुर्‍याएकाे थियो। जसमा ५२ वटा पूर्ण क्षति भएको छ। पठनपाठन थाल्न १३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ। ‘अझै पनि प्रदेश सरकार, विभिन्न संघसंस्थाहरूले सहयोग गर्दै आएका छन्, अझै थप अस्थायी सिकाइ केन्द्र बनाएर सहज रूपमै पठनपाठन थाल्नेछौँ, किताबको व्यवस्था पनि गर्दै छौँ’, उनले भने।  

नलगाडमा पनि भोलिदेखि नै पठनपाठन थालिने

जाजरकोटको नलगाड नगरपालिकामा पनि भोलिदेखि नै पठनपाठन सुरु हुने भएको छ। जाजरकोटको उक्त नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो। नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ वटा विद्यालयमा क्षति पुगेको छ।

जसमा १२८ कक्षाकोठा पूर्ण रूपमा क्षति पुगेको छ। नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिक रूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिए।

‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्ण रूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला। बनिसकेपछि पढाइ हुन्छ’, उनले भने।

‘सबै विद्यालयमा पठनपाठन थाल्ने तयारी भइरहेको छ’

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताए। उनले भने, ‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौँ। हामीले पनि निरीक्षण गर्दै आएका छौँ।’ प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उनको भनाइ छ। 

तत्कालै पाठ्यपुस्तक उपलब्ध गराउँछौँ : विकास केन्द्र

भूकम्पले घर भत्काउँदा कतिपय विद्यार्थीको पाठ्यपुस्तक पुरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले तत्कालै पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए।

उनले भने, ‘हामीले के-कति पाठ्यपुस्तकमा क्षति पुग्यो भनी विवरण प्रदेश सरकार र स्थानीय तहलाई मागेका छौँ, उपलब्ध हुनेबित्तिकै पुस्तक उपलब्ध गराउँछौँ। हामीसँग जति पनि पाठ्यपुस्तक छ। यसमा कुनै समस्या छैन।’ उनले भूकम्पबाट प्रभावित विद्यालयहरूमा छिटो पठनपाठन थाल्न प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.