|

गण्डकी : राष्ट्रिय स्तरको बुकी कप भलिबल प्रतियोगिता आगामी पुस ८ देखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ। 

पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्म्‌सले आयोजना गरेको सो प्रतियोगितामा ३ विभागीयसहित ६ टोलीको सहभागिता रहने जनाइएको छ। 

प्रतियोगिताका संयोजक मोहन केसीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र गलकोट नगरपालिकाको टिमले प्रतियोगितामा भाग लिने छन्। 

पहिलोपटक आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद ५ लाख रुपैयाँ, दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने जानकारी उनले दिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई १० हजार, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भरलाई जनही ६ हजार रुपैयाँ नगद र म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने संयोजक केसीले बताए।

गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।

प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवाफाँटमा सञ्चालन हुनेछ। सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ। 

प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारहरुको प्रस्तुति रहने संयोजक केसीले उल्लेख गरे।

‘धवलागिरि क्षेत्रमै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ,’ उनले भने, ‘पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल हेर्नका लागि टिकट शुल्क तोक्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.