|

जाजरकोट : भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले कात्तिक १७ गते बेलुकी नै तहसनहस भयो। उनकी छोरी सोही घरमा घाइते भइ प्रदेश अस्पतालमा उपचार गरेर बल्ल फर्किएकी छन्।

आमा र छोरीसँगै सुतेको समयमा एक्कासी भएको भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन्। घाइते भएकी एकमायालाई अहिले पनि हिँडदा भूकम्प आएझैँ लाग्ने गरेको छ।

आमा देउमा भत्किएको घरभित्र रहेको मालसामान निकाल्नका लागि घरेलु उपकरण प्रयोग गरि दिनरात काममा जुटिरहेकी छन्। घरको कुनै नामनिसान छैन।

घरभित्र भएका कुनै पनि सामान देउमाले निकाल्न नपाएको बताइन्। अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ। संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नविनसहित घरका अन्य सदस्यहरु छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्न गएका थिए।

घरमा आमा, छोरीमात्र भएको समयमा गएको भूकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भएको उनले बताइन्।

छिमेकी कर्णबहादुर रानाले भूकम्पमा दाजु नै गुमाउनु पर्‍यो। माटाले बनाइएका कच्ची घरमा सुतेका कर्णका दाइ रविन्द्र (गाउँमा बोलाउने नाम) को बोल्न नपाइ भूकम्पको झड्कामै ज्यान गएको थियो। अहिले घुयलनेटाको पूरै गाउँ शोकमा रहेको छ।

घाइते भएका र मृतकका आफन्तहरु अहिले पनि सामूहिक रुपमा त्रिपालमा बसेका छन्। भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ। यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्ती हो। जनयुद्धकालमा समेत यहाँका बस्तीमा धेरै पटक बमबारी गरिएको थियो।

पटकपटक पीडा खेप्दै आएको यो गाउँ फेरि भूकम्पको मारमा परेको छ। डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए।

भेरी नगरपालिका–४ खलंगास्थित कस्तुरी बोर्डिङ स्कुल प्रांगणमा एक सातादेखि १८ दिनकी सुत्केरी विमला तिरुवाको दैनिकी त्रिपालमा बितिरहेको छ। एक त चिसो त्यसमाथि चाहिने स्याहारसुसार नपाउँदा आमाका साथै नवजात दुवै बिरामी छन्।

त्रिपालको चिसोले आमा र नवजात दुवैका मुख, आँखा, हातखुट्टा सुनिएको अवस्था छ। कुशे गाउँपालिका–९ निवासी १८ वर्षीया उनी सदरमुकामस्थित गोरख तिरुवामा भाडामा बस्दै आएकी थिइन्। भूकम्पले भाडामा बसेको घर भत्किएपछि अहिले त्रिपालमा बसेकी छन्। 

भूकम्प जानुभन्दा ३ दिनअघि मात्र सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन्। पति वीरेन्द्र ज्याला मजदुरी गरेर ५ जनाको परिवारको गुजारा चलाउँदै आएको उनले बताइन्।

भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले भाडामा बस्न घर पाएको छैन। यो परिवार अहिले कामविहीनमात्र भएको छैन, घरमा खानेकुरासमेत नभएर पीडामा छ।

त्रिपालमै बसिरहेको अर्को परिवार हो हेमन्तजंग सिंहको परिवार। यो परिवारलाई पनि तिरुवा परिवारको जस्तै समस्या रहेको छ। एउटा त्रिपालभित्र परिवारका सबै सदस्य बस्दा समस्या हुँदै आएको छ। साना नानी बाबु चिसोले बिरामी भएका छन् भने ठूलालाई समेत त्रिपालमा बस्न मुस्किल परिरहेको छ। 

भेरी नगरपालिका–१ डिँगाकी २१ वर्षीया पुष्पा सिंहको २ महिनाअगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्काएपछि त्रिपालमा बस्दै आएकी छन्। २ महिनाको छोरासहित त्रिपालमा बसेकी उनको दैनिकी पनि समस्याग्रस्त छ।

‘छोरीलाई आँखा पाकेर हैरान बनाएको छ। रातभर सुत्दैन‚’ उनले भनिन्‚ ‘अरु नदेखिने समस्या त हामीलाई थाहा छैन‚ घर भत्किँदा भाग्यले बाँचियो तर त्रिपालको सहारामा कसरी बाँच्ने हो थाहा छैन।’ 

उनले त्रिपालमा शीत चुहिने भएकाले शिशुसहित परिवार नै विरामी भएको बताइन्। ​‘त्रिपालबाट शीत चुहिएकाले छोरी बिरामी परेकी हो। न अन्न छ न जीउ ढाक्ने कपडा नै। घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?‚’ उनले भनिन्‚ ‘राहतका नाममा अहिलेसम्म त्रिपालबाहेक केही पाएका छैनौं। चिसो र भोकले मर्ने बेला भो।’

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकाहरूमा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन्। उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन्। 

‘जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन्। शौचालयहरू भत्किएका छन्। पोषिला खानेकुराको अभाव छ। सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका विरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन सकेको छैन। शौचालय नहुँदा बस्तीनजिक खुला ठाउँमा शौच गर्न थालिएको छ। धेरै मानिसहरू मानसिक रूपमा डराइरहेका छन्। धेरैलाई मनोसामाजिक परामर्श दिनुपर्ने अवस्था छ‚’ नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए।

उनले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरोध क्षमता बढाउनुपर्ने अवस्था रहेको बताए। स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उनले बताए।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन्।

पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ। नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ। बिरामीलाई भर्नादेखि उपचारसम्म सबै काम त्रिपालमा भइरहेको छ।

बारेकोटको लिम्सास्थित १० शय्याको अस्पतालसमेत त्रिपालमा नै सञ्चालन भइरहेको छ। जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा भूकम्पले क्षति गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.