काठमाडौँ : चाडपर्व सकिएसँगै देशभरको पठनपाठन हिजो (सोमवार)देखि सुरु भएपछि भूकम्प प्रभावित क्षेत्रका केही स्थानीय तहका विद्यालयमा पनि पठनपाठन सुरु भएको छ। स्थानीय तह र विद्यालयले अस्थायी सिकाइ केन्द्र बनाएपछि पठनपाठन थालेका छन्।
तर भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थीहरू भत्किएका विद्यालयमा गएर पढ्न मानसिक रूपमा तयार भएको पाइँदैन। कतिपय विद्यार्थीका साथी भूकम्पबाट गुमेका त कोहीका घरबार नरहेका कारण भावविह्वल छन्। विद्यालय गए पनि साथी गुमाएका कारण निकै पीरमा देखिन्छन्।
किताब घरमा पुरिएका छन्। उनीहरूको मनमा अझै पनि त्रास छ। जसकारण पठनपाठन सुरु भए पनि कम विद्यार्थी जाने गरेका छन्। रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टका अनुसार हिजोदेखि नगरपालिकाभित्र ६४ विद्यालय भएकामा ५ वटा विद्यालयमा अस्थायी टहरा बनाएर पठनपाठन थालिएको छ।
उनले कम विद्यार्थी आएको जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्र मात्रै भूकम्पबाट ११ जना विद्यार्थी र एकजना नगरपालिकाका कर्मचारीको मृत्यु भएको छ।
जाजरकोटको नलगाड नगरपालिकाभित्रका विद्यालयमा पनि उस्तै समस्या छ। अझै विद्यार्थीहरू त्रासमा रहेका कारण विद्यालय आउन मानेका छैनन्। जाजरकोटको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकका अनुसार भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेका छन्।
कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयमा क्षति पुगेको थियो। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको छ।
‘तत्काल पढाइ होइन, पहिला मनोवैज्ञानिक रणनीति आवश्यक’
मनोविश्लेषक वासु आचार्य भूकम्पप्रभावित क्षेत्रका विद्यालयहरूमा तत्काल पढाइ नभई पहिला मनोवैज्ञानिक रणनीति आवश्यक रहेको बताउँछन्। भूकम्प प्रभावित क्षेत्रमा समेत पुगेका आचार्य भन्छन्, ‘यो अपकल्पनीय घटना हो। यसले बालमष्तिष्कमा असर पुर्याएकाे छ। अझै उनीहरूको मनमा त्रास छ।’ उनले विद्यार्थीहरूमा मनोपरामर्श आवश्यक रहेको बताए।
‘सबै विद्यार्थीलाई मनोपरामर्श दिन सम्भव नहोला। त्यसैले पहिला त विद्यालय, विद्यालय व्यवस्थापनले मनोवैज्ञानिक रणनीति बनाउन आवश्यक छ’, उनले भने।
उनका अनुसार घरमै बालबालिकाहरू राखियो भने झन् तनाव लिन्छन्। त्यसैले विद्यालयले सबै विद्यार्थीहरूलाई विद्यालयमा बोलाउनुपर्छ तर तत्काल पढाउनुहुँदैन।
‘विद्यार्थी बालबालिकाहरूलाई बरु रमाइलो गराउनुपर्छ, खेल खेलाउनुपर्छ। उनीहरूसँग मजाले शिक्षकहरू पनि घुलमिल हुनुपर्छ। उनीहरूको डराउने भावनालाई कन्ट्रोल गराउनुपर्छ। त्यसैले पहिला यस्तो मनोवैज्ञानिक रणनीति आवश्यक छ। विद्यालयले यी कुरामा ध्यान दिनुपर्छ’, उनले भने।
उनले पहिलाको अवस्थामा फर्किन समय लाग्ने बताए। ‘भूकम्प पीडितले अझै पर्याप्त राहत पाएका छैनन्, चिसो छ, पालमुनि बस्नुपरेको छ’, उनले भने, ‘त्यसैले बालबालिकाहरू बिस्तारै पहिला जस्तो अवस्थामा फर्किन्छन्य। सका लागि समय लाग्छ।’
स्थानीय तह भन्छन् : हामी मनोपरामर्श दिन्छौँ’
जाजरकोटको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बालबालिकाहरूलाई मनोरामर्श दिँदै पठनपाठन अगाडि बढाउने बताए। उनले भने, ‘बालबालिकाको पढाइ नरोकियोस् भनेर हामीले टहरा बनाएर पनि पढ्ने व्यवस्था गरेका छौँ। कतिपय ठाउँमा बनिसकेर पनि पढाइ भइरहेको छ। कहीँ भने बनाउँदै छौँ। त्यहाँ पनि छिटो नै पढाइ थाल्छौँ। बालबालिकाहरूमा अनेक डर छ। हामीले काउन्सिलिङ गर्दै आएका छौँ।’
आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बिष्टले पनि बालबालिकामा अझै विभिन्न डर रहेको भन्दै सोसेक नेपालबाट मनोपरामर्श दिइरहेको जानकारी दिए।
‘हामीले अस्थायी सिकाइ केन्द्र बनाएर पठनपाठन सुरु गरे पनि बालबालिकाहरू खासै पढ्न आएका छैनन्। आफन्त, साथी, घर गुमाउँदा उनीहरू निकै दुःखी छन्। त्यसैले पढ्नलाई मानसिक रूपमा तयार छैनन्। त्यसैले हामीले मनोपरामर्श दिइरहेका छौँ’ ,उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।