|

सल्यान : सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितहरू चिसोले विरामी हुन थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ।

चिसोका कारण बालबालिका, सुत्केरी, वृद्धवृद्धा विरामी परेपछि घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए।

अधिकांश भूकम्पपीडित त्रिपालमुनि बस्दै आएका र तिनीहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो।

स्वास्थ्योपचारका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीको सहित १४ जनाको टोली खटिएको छ।

भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेट्न नसकिने र विरामी परेका समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि विरामी परेकाको घरघरमा गएर स्वास्थ्योपचार गर्न थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए।

उनका अनुसार भूकम्पका कारण दार्माका झन्डै १ हजार १ सयभन्दा बढी घर बस्नै नमिल्ने गरी क्षति भएका छन् भने १ हजारभन्दा बढी आंशिक क्षति भएका छन्। जसका कारण २ हजारभन्दा बढी विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टागेर बस्दै आएका छन्।

खुला ठाउँमा बस्नुपर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बूढाबूढीमा दमको समस्या बढी देखिएको छ।

सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या देखिए पनि त्यस्तो जटिल समस्या नदेखिएको डा. बुढा मगरले बताए। चिसोले गर्दा बालबालिका, सुत्केरी तथा वृद्धवृद्धा समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रूप लिनमा नपाओस् भनी स्वास्थ्योपचार सेवा सञ्चालन गरेर उनीहरूलाई सचेत गराइएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.