|

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दशैँतिहारको अवधिमा नै ६१ हजारभन्दा बढी दर्शनार्थी आएका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मंसिर ५ गतेसम्मको अवधिमा ६१ हजार ५६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन्।

वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दशैँतिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए। 

नवरात्रका समयमा देवीको पूजाआराधना गर्न उपयुक्त मानिने र चाडबाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका उनको भनाइ थियो।

यहाँ आउने दर्शनार्थीको गणनाका लागि अहिले गणना गर्ने प्रविधिसहितको सिसी क्यामेरा जडान गरिएकाले उक्त संख्यामा दर्शनार्थी आएका देखिएको निर्देशक हाङ्वाङले बताए। यस वर्ष दशैँतिहारमा मौसम सफा रहेकाले स्वदेशी तथा विदेशी तीर्थयात्रीको आगमन बढेको जानकारी उनले दिए। 

समितिका निर्देशक हाङ्वाङका अनुसार पाथीभरा मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। पाथीभरामा भारतको सिक्किम, आसामलगायतका ठाउँबाटसमेत तीर्थयात्री आउने गरेका छन्।

पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारीसाधनमा काफ्लेपाटीसम्म र सोभन्दामाथि पैदल हिँड्नुपर्छ। करिब ४ घण्टाको उकालो चढेपछि पुगिने मन्दिर ३ हजार ७९४ मिटरको उचाइमा पर्छ। 

दर्शनार्थीको चापलाई मध्यनजर गर्दै मन्दिर दर्शनका लागि जनशक्ति खटाएर आवश्यक व्यवस्थापन गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.