|

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ।

युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैलाउने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रक्तदान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रूपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताए।

उनले रक्तदाताहरूलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैलाउन आवश्यक रहेको बताए। बजारमा अहिले रगतको अभाव भएको भ्रम फैलाइएको बताए। उनले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैलाउने काम भएको गुनासो गरे।

रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहेका उनले चाडपर्वमा रगत संकलनमा कमी आउने भए पनि अन्य समयमा खासै कमी नभएको बताए। नेपालमा बसोवास गरिरहेका मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गरे।

उनले रगत पाइँदैन भन्ने कुरा अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको पनि बताए।

उनले भने, ‘रगत स्वस्थ मानिसबाट प्राप्त हुन्छ। यसको कुनै विकल्प छैन। रक्तदान गर्ने संघ संस्था र व्यक्तिलाई मोटिभेट गर्न आवश्यक छ। रगतको कमी नहोस् भनेर हामी लागिरहेका छौँ। नेपालमा बसोवास गरिरहेका मानिसमध्ये २ प्रतिशत मानिसले रक्तदान गर्ने हो भने कहिल्यै अभाव हुँदैन।’

त्यस्तै नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको जानकारी दिए। काठमाडौँ उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक काठमाडौंमा १ लाख ३० हजार टनको आवश्यकता रहेको बताए।

उनले चाहिने रगत ८५ प्रतिशत क्याम्पबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताए। युवा र महिलालाई यसबारे सचेत बनाउन सके रक्तदाताहरू बढ्ने उनको भनाइ छ।

नेपालमा लगभग २ प्रतिशत दाताको आवश्यकता पर्ने भए पनि अहिलेसम्म ०.९ प्रतिशत मात्रै पुगेको बताए। उनले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए।

​निर्देशक पौडेलले रगत व्यवस्थापनमा रक्तसञ्चार सेवा केन्द्रहरूको आपसी समन्वय आवश्यक रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.