|

काठमाडौँ : संघीय संसद सचिवालयले संसद अधिवेशन नभएका वेलामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ। 

संघीय संसदको दुवै सदनको अधिवेशन गत कात्तिक १६ गते अन्त्य भयो। सो दिन प्रतिनिधिसभाको दोस्रो अधिवेशन र राष्ट्रियसभाको चौथो अधिवेशन अन्त्य भएको हो।

संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ। सांसदहरु र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीडभाड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरुको चाप निकै कम भएको छ।

अहिले संसदको अधिवेशन नभएका वेलामा पनि संघीय संसद सचिवालयले भने प्रशासनिक कामबाहेक पनि संसदीय गतिविधिहरु जारी रहने जनाएको छ। शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरुले भने काम गरिरहेका बताए।

उनले यस अवधिमा समितिहरुले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरुमाथि विस्तृत रुपले छलफल  गर्ने बताए। त्यसैगरी समितिहरुले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरुको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकताअनुसार निर्देशनसमेत दिने जानकारी उनले दिए।

प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरु अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरुको व्यवस्थापन गर्नेलगायत काम गर्छ। त्यसैगरी वेबसाइटहरुलाई परिष्कृत पनि यसै समयमा हुन्छ। उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरु पनि संघीय संसद सचिवालयले सम्पन्न गर्ने बताए।

‘अधिवेशन अन्त्य भएपछि पनि समितिहरु सञ्चालनमै रहेका हुन्छन्। यो अवधिमा समितिमा विचाराधीन विधेयकहरुमाथि समितिमा विस्तृत रुपमा छलफल हुन्छन्। संसदको अर्को काम सरकारको निगरानी गर्नु पनि हो। यो बीचमा समितिहरुले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरकार अथवा सम्बन्धित मन्त्रालयसँग जानकारी लिने, कार्यप्रगतिको बारेमा बुझ्ने, आवश्यकताअनुसार निर्देश गर्ने लगायतका विभिन्न तरिकाबाट निगरानीको कार्यसम्पादन पनि भइरहेको हुन्छ‚’ उनले भने‚ ‘त्यसै गरेर सचिवालयले नियमित प्रकृतिका कामहरु, जस्तोः वार्षिक कार्यक्रमहरु यही अवधिमा प्राथमिकता दिएर कार्य सम्पादन गर्छ सचिवालयले। सफ्टवेयरहरु अपडेट, भिडियो व्यवस्थापन, अडियो रेकर्डहरुलाई व्यवस्थापन गर्ने। वेब पेजहरुलाई अझ स्तरीकृत गरेर नयाँ बनाउने काम हुनसक्छ।’

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरुमा काम भइरहेको बताए। उनले कतिपय समितिले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका काम गर्ने गरेको बताए।

उनले समसामयिक विषयमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने काम पनि समितिहरुले गर्नसक्ने र सोहीअनुरुप काम गरिरहेका पनि बताए।

उनले भने‚ ‘संसद अधिवेशन नभए पनि समितिहरु निरन्तर काम गरिरहेका हुन्छन्। समितिमा विचाराधी विधेयकहरुमा छलफलहरु गर्न सक्छ। फिल्डमा गएर अनुगमन गर्न सक्छ। अध्ययन, अनुसन्धानका कामहरु गर्न सक्छ। संसद नहुँदा संसदकै रुपमा समितिले सरकारलाई ध्यानाकर्षण गराउने, निर्देशन दिने, समसामयिक विषयमा छलफल गर्ने, जनताको समस्या, गुनासोहरुमा जनताको ध्यानाकर्षण गराउनेलगायत धेरै तरिकाले संसदसरहकै काम समितिले गर्न सक्छ र ती कामहरु गरिरहेका पनि छन्।’

सभापति पन्थले अधिवेशन अन्त्य भएको वेलामा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.