विराटनगर : परिवर्तन राजनीतिमा मात्रै होइन, पछिल्लो समय चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ।
सुन्दर नायक, नायिका, द्वन्द्व र सांगीतिक दृश्यले आधा भाग ओटेको विगतका चलचित्रहरू भन्दा पछिल्लो समयको चलचित्रमा फरक स्वाद भेटिन थालेको छ।
समाजमा भोगेका, देखिएका र भइरहेका विषयवस्तुलाई ‘अर्गानिक’ नै कथामा उतार्दै चलचित्र निर्माणमा फरक धार भएर बग्न सक्नुमा पछिल्लो पुस्ताका निर्देशकहरू अब्बल देखिन थालेका छन्।
यसअघि अत्यधिक चर्चा कमाउन सफल उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्र जारीमा पनि मौलिकता भेटिन्छ।
लिम्बू संस्कार र संस्कृतिलाई समेटेर सरल ढंगले पस्कन खोजको सुब्बा निर्देशित चलचित्रले सबै जातजाति र समुदायका दर्शकहरूको मन तान्न सफल भएको थियो।
यस्तै अहिले चर्चामा रहको नेपाली चलचित्र ‘दिमाग खराब’ ले दर्शकको मन उत्तिकै तान्न सफल भएको छ।
चलचित्रको माध्यमबाट पुराना भनिएका राजनीतिक दल र नयाँ उदय भएका राजनीति शक्तिको गतिविधिलाई आश्चर्य बनाउने तरिकाले दर्शकमार्फत पस्कन खोजेका छन्। रहर र बाध्यताबीचको दोसाँधमा बाँचिरहेका युवा तिनकै हरेक बाध्यत्मक परिस्थितिलाई निर्देशक बस्नेतले चलचित्रलाई केन्द्रीकृत गरेका छन्।
झरी पर्दा चुहिने छाना, बिरामी आमाको औषधि उपचार, छोरीको महँगो निजी विद्यालयको ‘फी’ र श्रीमतीलाई एकसरो गहना जोड्ने चाहना तर अभावले पिल्सिएको युवाको निर्दोष सपना नै ‘दिमाग खराब’ ले दर्शकको दिमाग खराब बनाउँछ।
चुहिने छाना फेर्ने, झुपडीलाई महल बनाउने , सन्तानको सुन्दर भविष्य, बिरामी आमाको उपचार र श्रीमतीलाई खुशी र सुखी राख्ने सपना आफ्नो देशको माटोले पूरा गर्न नसकेपछि विदेशी माटोमा पसिना बेच्न हिँडेका इन्द्र शर्मा अर्थात् खगेन्द्र लामिछाने खाली खुट्टाले एयरपोर्ट पुग्दाको दृश्यले दिमाग खराब मात्रै बनाउँदैन चलचित्रको शुभारम्भ पनि त्यहीँबाट हुन्छ।
देशमा भएको राजनीतिक परिवर्तन र योसँगै व्यवस्था परिवर्तन त भयो तर, जनताको अवस्था भने झनै नाजुक हुँदै गएको विषयलाई चलचित्रले न्याय दिएको छ। धन कमाएर घरको आर्थिक अवस्था परिवर्तन गर्ने सपनाको पोकासँगै चुँडिएको चप्पलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका इन्द्र शर्मा मेनपावरले नपत्याउँदो तरिकाले ठगेको दृश्य मर्मस्पर्शी छ।
बिहान विदेश हिँडेको श्रीमान् बेलुका घर फर्किंदा अच्चमित भएकी इन्द्रकी श्रीमती सची अर्थात् स्वस्तिमा खड्काको अभिनयमा कुनै मिसावट देखिँदैन। स्थानीय स्तरमा उत्पादन भएको वस्तुहरूलाई बजारीकरण गर्न सकस भएको बजार र बैंकको किस्ताले पिरोलेको युवाहरूको पीडालाई कथामा गजबले समावेश गरिएको छ। भोलासाङ थोकर अर्थात् दयाहाङ राईको अभिनयसँगै अर्गानिक हुन्छ।
मेयर हरिप्रसाद अर्थात् अर्पण थापालाई तोकिएको पात्र अनुसारको चरित्र खुब सुहाएको छ। उनी मेयर हुँदा सारथि रहेको विजय बराल अर्थात् बलेको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन। पात्रअनुसार हाउभाउ, पहिरन सम्पूर्ण पाटो दमदार छ। त्यसो त चलचित्रमा राजनीतिक दलका नेताहरूको चरित्रलाई मात्रै चित्रण गरिएको छैन।
एउटा संचारकर्मीले कति हदसम्म सकारात्मक र नकारात्मक भूमिका निर्वाह गर्न सक्छ भन्ने पनि चलचित्रमा देख्न सकिन्छ। समाजमा देखिएका सामाजिक अभियन्ताको चरित्रलाई अभियन्ता निरज गौडेल बनेका सुमन कार्कीको अभिनयले राम्रैसँग देखाउन खोजिएको छ।
दशकौँदेखि राजनीतिक आडले शासन गर्दै आइरहेको र त्यही शासनमा दबिएका आमनागरिकका आर्थिक , राजनीतिक साथै प्रशासनिक पाटोलाई मन तान्ने गरी प्रस्तुत गर्न खोजिएको छ। चलचित्र हेर्दाको समय अवधिभर बज्ने दुईवटा गीतले कथाअनुसार खुब न्याय दिएको छ।
सन्दर्भअनुसार गीतले दर्बिलो साथ दिएको छ। अलिकति कम्जोर पाटो शहरमा हुर्किएकी सची र गाउँमा अभावको रापमा पिल्सिएको इन्द्रबीच प्रेमको टुसा कसरी पलायो भन्ने विषय अदृश्य नै रहेको जस्तो महसुस भयो।
स्थानीय तह निर्वाचनको समय पुरानो दलबाट आजित बनेका मतदाताहरूले जसरी काठमाडौं र धरानमा नेतृत्वको स्वाद फेर्न चाहे। सोहीअनुसार चलचित्रमा नेतृत्वको स्वाद परिवर्तन गर्नुपर्छ भन्ने चेतना जागेको छ। तर, केही फितलो दृश्यहरू पनि छन्।
राष्ट्रिय झण्डाबाट सुरुवात भएको चुनावी अभियान मतदान हुने मितिसम्ममा आइपुग्दा स्वतन्त्र पार्टीको झण्डाको रंग देख्न सकिन्छ। चुँडिएको चप्पल र सत्ताले पोतिएको चम्किलो जुत्ता बीचको अन्तर्ससम्बन्धलाई राम्रोसँग नियाल्न सकिन्छ।
मल नपाएर हैरान भएका किसानहरू र त्यही मल अभावलाई चुनावी एजेण्डा बनाएर मैदानमा होमिएका पुराना नेतृत्वको आश्वसनयुक्त भनाइलाई जनताले मुख खुम्चाउँदै प्रतिकार गरेको दृश्य गजबको छ। ‘रिलमा झैँ रियल’ मा पनि नेतृत्व परिवर्तनको अभियानमा जनता जाग्ने हो भने आगामी दिनमा पुराना दलहरूलाई जनता र जनचाहनाप्रति प्रतिबद्ध रहन दबाब बढ्ने थियो।
यता, मेयरको गलत कामप्रति प्रतिकार गरेका पात्रलाई मेयरकै सारथिहरूले कार्यक्रममा कुटपिट गरेर रगताम्मे बनाइएको इन्द्रलाई उपचारको क्रममा अस्पतालको बेडबाटै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको दृश्य एकदम काल्पनिक लाग्यो। घाइते भएका बिरामीलाई उपचार गर्न प्रशासनले रोक लगाउँछ जस्तो लाग्दैन। राजनीतिक दबाब र प्रभावको भुमरीमा नेपाल प्रहरीलाई समेत रुमलिदिएको महसुस हुन्छ।
सत्ता र शक्तिका लागि आफ्नो राजनीतिक भविष्य नै दाउमा राखेर बालिका अपहरण गर्ने दृष्य यथार्थमा असम्भव हुँदो हो तर चलचित्रमा अनौठो ढंगले देखाउन खोजिएको छ।
अर्को कमजोरी उम्मेदवारी घोषणा गरेको कुनै पनि प्रतिनिधि पात्रलाई चोट पुर्याउन सक्दैन तर अपहरणको प्रयास हुन्छ। त्यो समयसमेत प्रहरी प्रशासन मौन नै रहेको देखाइन्छ।
कृषि अनुदानमा घोटाला गरिएको सन्दर्भमा निर्दोषलाई दोषी करार गरेर न्यायिक हिरासतमा राखिएको हुन्छ तर त्यसको छानबिन कसरी भइरहेको छ भन्ने देखाउन खोजिएको छैन। जनप्रतिनिधिको दबाबमा हिरासतमा राखिएकालाई मेयरले नै थुनामुक्त गराइरहँदा झुटो मुद्दामा फसाइएको विषयमा जनताले विरोध पनि त गर्दो हो। जनताको आवाज केबल मतदानको समय मत खसाल्दा मात्रै देखाइएको छ।
निदर्शेक बस्नेतले वर्तमान परिवेशमा राजनीतिमा मौलाएको विकृति, विसंगतिलाई न्यायपूर्ण ढंगले औंल्याउन सफल भएका छन्। नयाँ पुस्ताको पक्षमा खुलेर वकालत गर्न खोजिएको छ। तर, त्योसँगै कमी कमजोरीको पाटो पनि उत्तिकै देखिएको छ। यद्यपि, चलचित्रले दिन खोजेको खुराक भने नाक, मुख खुम्च्याएर हल बाहिर निस्किनुपर्ने अवस्था छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।