|

लहान : कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अनौठो भूत मेला लागेको छ।

कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराले अत्यधिक भक्तालु आकर्षित गर्छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ।

पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आएका छन्। मेलाका अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन्।

धामी‚ झाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा यस्तो योग पाको हुने जनविश्वास रहेको श्रद्धालुले बताएका छन्।

भूत मेलामा स्नान गरेपछि घर आउने वेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ।

तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुति दिने चलन रहँदै आएको छ। स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीतसमेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ।

मिथिलामा पहिलेदेखि नै तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ। यद्यपि यसको कुनै वैज्ञानिक आधार नरहे पनि अन्धविश्वासको रुपमा नभई यो लोकआस्था रहेको संस्कृतिविद् एवं मैथिलीका साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले बताए।

मुख्यतः ग्रामीण भेगमा अशिक्षाका कारण टुनामुनामा विश्वास गर्नेहरुले भूत मेलाको परम्परा धान्दै आइरहेको कतिपयको भनाई छ। घर परिवारका कुनै सदस्यलाई हानी नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास छ।

सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकडलगायत कमला नदीछेउ विभिन्न स्थानमा स्नान गर्ने लाखौंं श्रद्धालुको घुइँचो लागेको थियो।

भूत मेलाका केही झलकः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.