|

सुर्खेत : भूकम्पबाट घरबारविहीन भएका जाजरकोटका भूकम्पपीडित चिसो बढिरहेका वेला हिमपात पनि हुँदा समस्यामा परेका छन् भने हिमपातले हिमाली जिल्लामा दैनिकी कठिन बनाएको छ।

हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा समस्या भएको छ। जिल्लाभरि नै पानी परेकाले चिसो अत्यधिक बढेको छ।

त्रिपालको सहारामा बस्दै आएका सर्वसाधारणलाई चिसोले जीवनयापन कठिन बनाएको छ। सबैभन्दा बढी ज्येष्ठ नागरिक , बालबालिका र सुत्केरीलाई समस्या भएको छ। 

भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएकामध्ये ५ वर्षमुनिका १२ हजार ४०४ जना बालबालिका छन् भने १ हजार ८८३ जना गर्भवती त्रिपालमा बसिरहेका छन्। १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमुनि बस्न बाध्य छन्।

१ हजार ८३२ जना दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा छन्। १५ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको छ भने ५५ वटामा आंशिक क्षति भएको छ। 

घरबाहिर चिसोमा त्रिपालको सहारामा दिन गुजार्न समस्या भएपछि यहाँका सर्वसाधारण सरकारप्रति आक्रोशित भएका छन्। 

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले संघ, संस्थाहरुले एकद्वार प्रणालीअन्तर्गत काम नगरेर आफूखुशी गरिरहेको आरोप लगाएका छन्।

‘अब राहत वितरणका काम पूर्ण रुपमा बन्द गरिन्छ। संघ, संस्थाको कडा निगरानी हुनेछ,’ उनले भने। आफूखुशी धेरै काम भएको र खटाएको ठाउँमा काम नगर्ने तर आफूले रोजेकै ठाउँमा मात्र काम गर्ने भन्ने संघ, संस्थाको काम गर्ने तरिका ठिक नभएको आरोपसमेत उनले लगाए। 

‘पालिकामा राहत सामग्री स्टक राख्ने र समस्या परेको ठाउँमा मात्र पठाउने निर्णय भएको भन्दै प्रजिअ सुनारले राहत वितरणको काम अब रोक्ने निर्देशन गरिन्छ‚’ उनले भने। 

आज (सोमवार) भेरी नगरपालिकाले सूचना निकालेर राहत वितरणको काम रोकिएको जनाएको छ। आजै यहाँ पानी पर्न थालेको छ। पानी परेकाले सदरमुकाममा रहेका निजी विद्यालय बन्द भएका छन्। 

पालिकाहरुमा अस्थायी संरचना निर्माण नभएका सबै विद्यालयको पढाइ रोकिएको छ। अस्थायी आवास निर्माण गर्नका लागि दिने भनिएको रकम अहिलेसम्म शिवालय गाउँपालिकाबाहेक अन्य ठाउँमा पठाउन सकिएको छैन।

अन्य पालिकाले क्षति विवरण पठाउन नसक्दा अहिलेसम्म उक्त रकम पठाउन नसकिएको हो। विवरण नपठाएको भन्दै प्रजिअ सुनारले अब विवरण पालिकाले नपठाएको भनि पत्र लेखेर पठाउने धम्कीसमेत दिएका छन्। 

अस्थायी टहरा निर्माण गरिरहेका स्वयमसेवकले कति अस्थायी टहरा निर्माण गरे भन्ने जिल्ला प्रशासनसँग विवरण नरहेको पाइएको छ। 

सामाजिक सञ्जालमा पार्टीहरुले सयौँ अस्थायी टहरा निर्माण गरेको भनि प्रचार गरे पनि सरकारी निकायसँग कुनै विवरण नहुँदा समस्या भएको छ। कसले कहाँ काम गरिरहेको भन्नेसम्मका विवरण पनि सरकारी निकायसँग छैन।

डोल्पामा हिमपात शुरु भएको छ। आइतवार रातिदेखि मौसम बदली भए पनि सोमवार विहानैदेखि हिमपात भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीवन, बन्तडि, हुम, काईगउलगायत बस्तीमा हिमपात भएको छ। 

त्यसैगरी ठूलीभेरी नगरपालिकामा पर्ने माझफाल, थरगाउँ‚ तालीलगायत बस्तीमा पनि बिहानैदेखि हिमपात भएको छ। जिल्लाका आठवटा स्थानीय तहमध्ये धेरैजसोमा विहानैदेखि वर्षातसँगै हिमपात शुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

चिसोले अहिलेसम्म कुनै घटना नघटेको र जिल्लावासीलाई आगो तापेर न्यानोमा बस्न अपिल गरेको उनले बताए। उपल्लो डोल्पामा पर्ने शे फोक्सुन्डो, डोल्पोबुद्व र छार्काताङसोङ गाउँपालिकामा रातिदेखि नै हिउँ पर्न शुरु भएको थियो। 

उपल्लो डोल्पाका गाउँबस्तीमा अहिलेसम्म बाक्लो हिउँ जमिसकेको र अझै हिमपात जारी रहेको डोल्पोबुद्व गाउँपालिका उपाध्यक्ष पेमा धोर्चे गुरुङले बताए। 

हिमपातपछि बढेको चिसोले जिल्लाभरिकै जनजीवन प्रभावित भएको छ। चिसोले बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन्।

बाहिर अत्यधिक चिसो बढेकाले स्थानीय घरभित्रै आगो बालेर ताप्ने र झोलिलो खानेकुरा पकाएर चिसोबाट जोगिने उपाय खोज्न थालेका छन्। 

सोमवार डोल्पाको तापक्रम शून्य डिग्रीमा झरेको छ। डोल्पाको तल्लो क्षेत्रमा पर्ने त्रिपुराकोट, खदाङ्गलगायतका ठाउँमा विहानैदेखि पानीसमेत पर्न थालेको छ।

चिसोका कारण कार्यालयमा सेवाग्राही उपस्थिति न्यून रहेको बताइएको छ। विहानैदेखि हिमपात भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनुका साथै पठनपाठनमा समस्या भएको त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए।

विहानैदेखिको हिमपात र बदलीका कारण सोमवार जुफाल विमानस्थलमा उडान अवरुद्ध भएको छ। आज नेपालगन्जदेखि कुनै उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ। 

चिसोका कारण डोल्पामा नेपाल टेलिकमको फोनसमेत प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानमा राखिएका मोबाइल टावरहरुमा सोलार सिस्टम डाउन भएपछि फोन सेवा अवरुद्ध भएको हो।

हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरुवाती हिमपात हुन थालेको छ। आइतवार रातिबाट बदली हुँदै गए पनि सोमवार बिहानैदेखि उच्च भूभागमा हिउँ र बेँसीमा पानी पर्न थालेको हो। 

मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए। उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न शुरु भएको र चिसो असाध्यै बढेको छ।

फर्कन थाले रारा पुगेका पर्यटक

रारा घुम्न आएका पर्यटक हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए। 

जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूध ताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न थालेको खबर पाएको उनले बताए।

सदरमुकाम गमगढीमा पानी पर्न थालेको छ। अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताए। 

हिमपात हुन थालेपछि हिउँदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरको हुने भन्दै किसान, जडीबुटी व्यापारी खुशी भएका छन्।

हुम्लाको सदरमुकाम सिमकोटमा हिमपात शुरु भएको छ। रातभर मौसम सफा रहेको भए पनि सोमवार विहानै मौसम बिग्रिँदा हिमपात भइरहेको हो। 

व्यापारी सरोज रावतले विहानदेखि हिममात भइरहेको बताए। एक इन्च हिउँ जमेको छ। चिसो बढेको छ। तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको छ। 
मानिसहरू बाक्ला र ऊनी कपडा लगाएर हिँडडुल गरिरहेका छन्। चिसोले आज वस्तुभाउ गोठबाट बाहिर निकालिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.