|

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकामा लामाहरु कुन्छाम् (गुफा) बस्ने भएका छन्। कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको अध्यक्ष वीरबहादुर वाइबाले करिब दुईजना लामाहरुको उपस्थितिमा कुन्छाम् (गुफा) बस्न लागेको जानकारी दिए।

अध्यक्ष वाइबाका अनुसार खानीखोला–५ स्थित ताल्ढुंगामा २९ मंसिर गते उद्घाटन भएसँगै ३० मंसिरबाट भने लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन शुरु हुनेछ। 

उनले कुन्छाम् (गुफा) बस्ने लामाहरु २ सयजना पुग्न सक्ने अनुमान गरेको बताए। कुन्छाम् बस्न काभ्रेसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट लामाहरु उपस्थित हुने आयोजकले जनाएको छ।

अध्यक्ष वाइबाले अहिंसा र शान्तिमा योगदान पुर्‍याउनुका साथै बौद्ध धर्म, कला, संस्कृतिको संरक्षण, संवर्द्धन र विकाससँगै समस्त लामाको हक, हित, भाषा, लिपी, बुद्धको उपदेशहरूको पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो पार्ने, एकरूपता र सरल पार्ने हेतुले कुन्छाम् राखिएको स्पष्ट पारे। 

उनले तामाङ समाजमा पछिल्ला समय लामाहरू कम हुँदै गएकाले कुन्छाम् मार्फत् लामा पठनपाठनसँगै लामा उत्पादनमा सहयोग पुग्ने बताए। 

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाका सचिव प्रेमबहादुर स्याङ्तानले कुन्साम्‌ले धार्मिक तथा साँस्कृतिक सम्बन्ध विकास गरी लामाहरूलाई बौद्ध ज्ञानसहित संगठित तथा उत्पादन गर्न टेवा पुग्ने बताए। 

उनले कुन्छाम्‌मार्फत बौद्ध धर्मको प्रचारप्रसार, प्राणी तथा अप्राणी सत्वहरूको मुक्ति, अहिंसा र शान्तिमा योगदान पुग्ने विश्वास व्यक्त गरे। 

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले केही दिनअघि मात्रै महायज्ञ भएको र लामाहरुले समेत कुन्छाम् राख्न लागेको खबरले आफू निकै खुशी भएको बताउँदै यसले खानीखोलाको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले आफू सधैँ खानीखोलालाई धार्मिक पर्यटनको रुपमा पनि चिनाउनु पर्छ भन्ने पक्षमा रहेकाले आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको आयोजनामा हुन लागेको कुन्छाम्‌को लागि गाउँपालिकाबाट आवश्यक सहयोग तथा समन्वय हुने जनाइएको छ। 

एकै पटक ठूलो संख्यामा उपस्थित हुँदा व्यवस्थापन गर्न असहज हुने देखिएकोले कुन्छाम्‌मा सहभागी हुने लामाहरुलाई आयोजकसँग सम्पर्क गरी नाम टिपाउनसमेत पालिकाले आग्रह गरेको छ। 

सहयोगका लागि अनुरोध

आयोजकले लामाहरु कुन्छाम्‌ बस्ने क्रममा धेरै खर्च लाग्ने हुँदा इच्छुक व्यक्ति तथा संघ/संस्थाले आवश्यक खाद्यान्न तथा म्याटसहित विभिन्न सामाग्री सहयोगका लागि आग्रहसमेत गरेको छ।

लामा घेदुङ खानीखोलाका सचिव तितुङले कुन्छाम्‌ बस्ने लामाहरुको लागि खाना र बस्न भने आयोजकले नै व्यवस्था गर्ने बताए।

आयोजकले कुन्छाम् बस्न आउने लामाहरुलाई खाना खाने थाल वा प्लेट, गिलास जस्ता आवश्यक सामाग्री भने आफैँले लिएर आउन पनि अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.