|

दमौली : जिल्ला कारागार तनहुँमा पानी अभाव भएको छ। कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ। 

पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । ‘दैनिक आवश्यकताभन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या परेको छ’, उनले भने, ‘मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै थियो। केही महिनायता नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको उनको भनाइ छ।

कारागार निरीक्षणका लागि सोमबार पुग्नुभएका तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीसमक्ष कारागार प्रमुख अधिकारीले पानीको व्यवस्थाका लागि अहिलेबाटै काम गर्नुपर्ने विषय अवगत गराएका छन्। निमित्त प्रजिअ भण्डारीले पानीको समस्याका बारेमा कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा लेखी पठाउने जानकारी दिए।

मादी नदीबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चारवटा धारा जडान गरिएको छ।

कारागारमा महिला र पुरुष गरी ३०० दुई कैदीबन्दी छन्। महिलातर्फ २० र पुरुषतर्फ ११४ जनाको क्षमता रहेकामा महिलातर्फ २२ र पुरुषतर्फ २८० कैदीबन्दी छन्। करागारका निमित्त प्रमुख अधिकारीका अनुसार महिला कारागारमा आमासँग तीन बालिका पनि छन्।

कारागारमा जबर्जस्ती करणी मुद्दाका ८६, लागुऔषध मुद्दाका ५६, कर्तव्य ज्यान मुद्दाका ५३, चोरीका २७, सवारी ज्यानका १९ जना कैदीबन्दी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.