|

सल्यान : गत भदौ १२ गते सल्यानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भइन्। पीडित बालिकाले उक्त कुरा परिवारलाई जानकारी गराइन् तर उनको कुरा कसैले सुनेन। त्यसपछि घटना भएको केही दिनपछि उनले आत्महत्याको प्रयास गर्दा मात्र कुरा बाहिर आयो।

यस्तै अर्की बालिका पनि २०७९ साल चैत ५ गते आफ्नै बाबुबाट बलात्कृत भइन्। गर्भवती भएको ८ महिनापछि भदौमा मात्र यो कुरा प्रहरीमा आएपछि बाबु पक्राउ परे। लैंगिक हिंसाको अभियान चलिरहेकै वेला गएका बुधबार मात्र सिद्धकुमाख गाउँपालिकामा आफ्नै लोग्नेले बन्चरोले हानी श्रीमतीको हत्या गरे। केही महिनाअघि पनि चिनेकै व्यक्तिबाट आमाछोरीको जलाएर हत्या भएको थियो।

यी केही प्रतिनिधिमूलक घटना हुन्। सल्यानमा यस्ता घटना परिवार, आफन्त र नातागोताबाटै भएको प्रहरीको तथ्यांकले देखाएको छ। ५ महिनामा आफन्तैबाट ११ वटा जबरजस्ती करणीका घटना भएका छन्।

लैंगिक हिंसाको घटनामध्येमा सबैभन्दा बढी महिला र बालिकामाथि हिंसा हुने गरेका छन्। सल्यानमा पछिल्लो समय घरपरिवार र आफन्तबाटै यस्ता जघन्य अपराधले प्रश्रय पाएको देखिन्छ। त्यति मात्र होइन कतिपय घटनामा घरभित्रकै सदस्यबाट महिला र बालिका पीडित भएकाले आत्महत्याको बाटो समेत रोज्ने गरेका छन्।

जिल्लामा यौनजन्य घटना आफन्तबाटै भएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए। उनले भने, ‘जिल्लामा जति पनि यौनजन्य घटना भएका छन्, ती घटनामा ९० प्रतिशत घटना आफन्तबाट भएको पाइएको छ।’

सल्यानमा हुने अन्य अपराधजन्य घटनामा पनि महिला र बालिका बढी पीडित छन्। यो आवको ५ महिनामा सल्यानमा ५ जना महिला, एक बालक र एक बालिका आफन्त र चिनेकैबाट मारिएका छन्। यस्तै बहुविवाह, सम्बन्ध विच्छेद र कुटपिटमा पनि महिला र बालबालिका बढी पीडित बनेको सल्यान जिल्ला अदालतका स्रेस्तेदार नारायणप्रसाद चापागाईंले बताए। प्रायजसो महिलालाई खानलाउन नदिएको, घरबाट निकालेर माइतीमा बसिरहेको, जबरजस्ती करणी, सामाजिक अभद्र व्यवहार भएका जस्ता घटना लिएर अदालतसम्म मुद्दा हाल्न आउने गरेको उनको भनाइ छ। 

प्रहरी र अदालतको तथ्यांक हेर्दा १० वर्षमुनिका बालबालिका र विपन्न घरपरिवारमा घरकै सदस्यबाट पीडित हुने गरेको देखाउँछ।

अझ कतिपय घटना त परिवारभित्रै लुकाउन खोजिन्छ। यस्ता घटना हुन नदिन सरोकारवाला निकाय, स्थानीय सरकार र प्रहरी प्रशासनबाट पहल र प्रयास भइरहेको शारदा नगरपालिकाकी उपमेयर सुस्मिता सापकोटाले बताइन्।  

लैंगिक हिंसाबाट विशेषगरी महिला र बालबालिका पीडित र प्रभावित हुने गरेकाले उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको उनको भनाइ छ।

पीडितमाथि पनि समाजले विभिन्न कोणबाट प्रश्न र शंका गर्ने हुँदा उनीहरू तिरस्कार भइरहनुपरेको अवस्था छ। जसका कारण आत्महत्याको प्रयास गर्ने गरेका छन्। थुप्रै ऐन कानुन निर्माण भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पीडकले झन् उन्मुक्ति पाएको देखिन्छ। यो विषयमा सबैले चासो र चिन्ताका साथै गम्भीर बन्न जरुरी देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.