|

जनकपुरधाम : जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आज मंगलबारदेखि विधिवत् रूपमा शुरु भएको छ।

नित्यानन्द मण्डलका अनुसार भगवान् राम एवम् जानकीको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा रामजानकी विवाह हुने गरेको छ।

मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पूरा गरेकाले जगज्जननी जानकीको विवाह उनीसँग भएको थियो।

यसपालि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण, निमन्त्रणापत्र वितरण, विवाहका सामग्री किनमेल लगायत जोडतोडका साथ गरिरहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशनदासले बताए।

दशरथको भूमिकामा जनकपुरधामस्थित राममन्दिरका महन्थ राम गिरिको नेतृत्वमा पौराणिक व्यवस्थानुरूप बिहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान् रामको प्रतिमा विशेष सिंहासनमा राखी रंगभूमि मैदान पुर्‍याइन्छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार विगतका वर्षमा ४-५ लाख श्रद्धालुहरू विवाहपञ्चमीमा आएकोमा यस वर्ष सो संख्या अझै बढ्ने बताए।

त्यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पुर्‍याइन्छ।

भगवान् रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरतिपछि स्वयंवर कार्यक्रम सम्पन्न हुने परम्परा रहेको जानकार डा. राजेन्द्र विमलले बताए।

विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज मंगलबार अपराह्न जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरूप बनाई घुमाएर नगर दर्शन गराइएको छ।

त्यसैगरी दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौँ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।

महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव समापन हुनेछ।

विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार वर्गफिटको सीतारामको प्रतिमा निर्माण विशेष आकर्षण रहेको छ।​

विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सीताराम प्रतिमा निर्माण भइरहेको विश्वमै पहिलोपटक जनकपुरधाममा अन्नबाट ११ हजार वर्ग फिटको प्रतिमा (मूर्ति) बन्ने भएको छ। अध्यक्ष साहका अनुसार ‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ।

जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि उक्त मूर्ति निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए।

यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० वर्ग फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ता गराइसकेको छ। जनकपुरधाममा त्योभन्दा ठूलो मूर्ति बनाउन लागिएको अध्यक्ष साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.