यी हुन् सडक अलपत्र पार्ने ठेकेदार

|

काठमाडौं : जताततै खाल्डाखुल्डी, कतै माटो र निर्माण सामग्री थुपारिएको, धुलोको कुइरो मण्डल। यो बेहाल दृश्य हो–मिर्चैया–कटारी–घुर्मी सडकखण्डको। सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने यो सडक अहिले मात्रै यो बेहाल अवस्थामा पुगेको भने होइन। १५ वर्ष भयो यो सडक जीर्ण बनेको।

यो सडकको लम्बाइ जम्मा ४६ किलोमिटर मात्र छ तर यति दुरी पार गर्न अहिले सवारीसाधनलाई ५ घण्टासम्म लाग्ने गरेको छ। कटारीका रमन दनुवारका अनुसार यात्रुवाहक सवारीसाधन यो सडकखण्ड पार गर्न ३ घण्टा समय लाग्छ भने सामाग्री ढुवानी गर्ने सवारीसाधनहरूलाई ५ घण्टा समय लाग्छ।

दनुवार जिपचालक हुन्। उनी कटारी–ओखलढुंगा जिप चलाउँछन्। मंसिर २१ गते उनकै गाडीमा कटारीबाट ओखलढुंगासम्म यात्रा गरिरहेकी एक महिलाले ‘यो कस्तो बाटो हो?, यो बनाउने निकाय को हो?, ठेक्का लिएर पैसा मात्रै त खायो होला’ भन्दै आक्रोश पोखिन्।

उनले भनिन्, ‘राम राम ! यस्तो बाटोमा कसरी घुर्मीसम्म पुग्नु, यति हरिबिजोग हुँदा पनि कोही बनाउने निकाय छैन/रहेनछ क्या हो!’

जोखिम उस्तै। कच्ची सडक। जम्काभेट भएका सवारीसाधनले ब्याक गर्दै फराकिलो ठाउँ खोजेर वारपार गर्नुपर्ने बाध्यता छ। त्यसो त यात्रुहरू यो सडकमा हिँड्न नपरोस् भन्दै कामना गर्छन्।

चालक दनुवारका अनुसार २०६५ सालसम्म उक्त सडक पिच थियो। त्यसपछि पिच उप्कियो तर हालसम्म पनि बन्न सकेको छैन।

उनले भने, ‘१५ वर्षदेखि यो सडकको हालत यस्तै छ, जसकारण यात्रा गर्नेलाई समस्या छ, चालकहरूलाई झनै गाह्रो छ तर पनि चलाउनुपर्ने बाध्यता छ, सरकारको त कामै छैन।’ उनका अनुसार वर्षातको समयमा सवारीसाधन चलाउन अति दुष्कर छ।

यो सडकले माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुंगा र सोलुखुम्बु यी मुख्य ३ जिल्ला जोड्छ। सिन्धुली पनि जोडिन्छ। यी जिल्लाहरूका लागि उपभोग्य वस्तु ढुवानी हुन्छ तर पनि सरकार भने उक्त सडक बनाउन चासो लिएको छैन।

‘छिटो बनाउन आन्दोलन गरौँ‚ राज्यको प्राथमिकतामै परेन’

कटारी नगरपालिका वडा १४ का वडा अध्यक्ष अम्बरबहादुर मगरले वर्षौंदेखि यो सडक नबन्दा यात्रुसँगै स्थानीय पनि धेरै मारमा परेको बताउँछन्।

उनी भन्छन्,‘यो सडक नबनेको १५ वर्ष भइसक्यो, धुलोले सडकको २ सय मिटरसम्मको हरियो जंगल मासिइसक्यो। स्थानीय यस्तै समस्यामा छन्, रूवाबासी नै छ तर खै राज्यले बनाउन प्राथमिकता नै दिँदैन, हाम्रो समस्या सुनिदिएन।’

उनले यो सडक बनाउन स्थानीयको सहभागितामा पटक–पटक आन्दोलनसमेत भएको बताए। २०७८ वैशाखमा स्थानीयले ओखलढुंगा, सोलुखुम्बु, खोटाङ जोड्ने सिद्धिचरण राजमार्ग (सगरमाथा हाइवे) को मिर्चैया–कटारी–घुर्मी सडकखण्ड अनिश्चितकालका लागि बन्द गरेका थिए।

यस्तै, त्यस बेला खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका उद्योग वाणिज्य संघले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्तकुमार नेम्वाङसमक्ष मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नतिको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए तर निर्माण गर्न कुनै पहल भने भएन।

‘जनप्रतिनिधि र स्थानीय हिसाबले सक्दो सहयोग गरिरहेका छौँ तर समयमा काम नै हुँदैन,’ वडाध्यक्ष मगरले भने। अहिले भने काम हुन थालेको उनको भनाइ छ।

उनले भने, ‘घुर्मीदेखि ८ किमीसम्मको सडक पिच भइरहेको छ, सडक फराकिलो भइरहेको छ,जेसिबी पनि ल्याएर सम्याउने काम भएको छ।’   

कुन ठेकेदारले कहिले पाएका थिए ठेक्का?

सडक विभागको मिर्चैया–कटारी–घुर्मी सडक योजनाका अनुसार उक्त सडकखण्ड निर्माणका लागि विभिन्न चरणमा निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता भएको छ।

निर्माण कम्पनी एमएस वार्डवाइट आइएस एण्ड बी जेभीसँग २०७९ वैशाख २० गते नै २०८० वैशाख २० गते १.४ किलोमिटरको सडक पिच गरिसक्ने गरी ठेक्का सम्झौता भएको थियो।

एमएस सपना विकास एण्ड ब्रोडर्स जेभीसँग २०७८ माघ २४  गते नै २०७९ असार २५ गते ०.५ किमी सडक पिच गरिसक्ने गरी ठेक्का सम्झौता भएको थियो।

एमएस वर्डवाइटड आइएस एण्ड बी जेभीसँग २०७८ वैशाख ५ गते ५ किमी कालोपत्रे २०७८ चैत ५ गतेभित्र सक्ने गरी ठेक्का सम्झौता भएको थियो। एमएस ड्र्रागन/विवस जेभीसँग २०७७ चैत २५ गते ५ किमी सडक २०७८ चैत २४ गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

एमएस विकास निर्माण सेवा मिर्चैयाले २०७४ असोज ६ गते २०७४ पुस २८ गतेभित्र ०.५ किमी कंक्रिट बेसमेन्ट गर्ने गरी ठेक्का सम्झौता गर्‍यो। त्यस्तै, एमएस वर्डवाइड आइएस एण्ड बी जेभीसँग २०७८ वैशाख ५ गते नै २०७८ साउन १२ गतेसम्ममा ३ किमी सडक कालोपत्रे तथा सडक चौडा पार्ने, पर्खाल लगाउने ठेक्का सम्झौता भयो।​

एमएस उमा काली जेभीसँग २०७८ असार २४ गते २०७९ असार ३ गते ७ किमी सडक कालोपत्रे, सडक चौडा गर्नेगरी ठेक्का सम्झौता भयो।

एमएस अमृत जेभीसँग २०७७ असार २६ गते नै २०७८ जेठ २८ गते सक्नेगरी ४ किमी सडकको कालोपत्रे, सडक चौडा, पर्खाल लगाउनेगरी ठेक्का सम्झौता भयो।

यस्तै, एमएस सूर्य एण्ड सोना लिमिटेडसँग पुलनिर्माण कार्यका लागि २०७९ असार २९ गते ठेक्का सम्झौता भयो। शिवको नयाँ नौलो ओम जेभीसँग पनि २०८० वैशाख ४ गते नै २०८१ वैशाख ३ गतेसम्ममा १.५ किमी सडकमा कंक्रिट बेसमेन्ट हाल्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ।

सिर्जना डिएस जेभीसँग २०८० वैशाख २७ गते २०८१ वैशाख २० गतेभित्र बक्स कल्भर्ट निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ। रामेछाप शेर्पा रेयार जोइन भेन्चरसँग २०८० असार १८ गते नै २०८१ असार १७ गतेसम्ममा १.०४ किमी सडकको कंक्रिट बेसमेन्ट हाल्ने सम्झौता भएको छ। तर ठेक्का सम्झौता भएर म्याद नाघिसक्दा पनि काम भने भएन।

हामीले सडक बनाउने होइन, दबाब भने दिइरहेका छौँ : कटारी नगरपालिका

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले उक्त सडकखण्ड निर्माण नगरपालिकाको काममा नपरेको तर नगरपालिकाले छिटो काम सक्न दबाब भने दिइरहेको बताए।

उनले भने, ‘यो सडकखण्ड बनाउने काम सडक विभागको हो, मिर्चैया–कटारी–घुर्मी सडक योजनाको अफिस नै कटारीमा छ, त्यहाँ छिटो काम सक्न भनी पत्र पठाउने, दबाब दिने‚ समन्वय गर्ने काम भने गर्दै आएका छौँ तर बजेट अभावले काम नभएको कुरा सुनिएको छ।’ 

सडक विभाग भन्छ : बजेट अभाव छ, हामी पहल गर्दै छौँ

सडक विभागको मिर्चैया–कटारी–घुर्मी सडक योजनाका सूचना अधिकारी इन्जिनियर मनोजकुमार मण्डलले बजेट अभावमा समयमै उक्त सडक पिच गर्न नसकिएको तर्क गरे। उनले भने, ‘पहिला यो सडकलाई सडक डिभिजन लहानले हेरेको थियो, यहाँ यो सडक आयोजना अफिस खुलेको डेढ वर्षमात्र भयो।’

उनका अनुसार सडक डिभिजन लहानले नै पहिला नै सडक निर्माणका लागि दुई प्याकेजमा यी माथिका निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गरेको थियो। पछि बजेट अभावले मिर्चैया–कटारी–घुर्मी सडक योजनाले ठेक्का नलगाएको उनको भनाइ छ।

‘बजेट अभाव छ, हामीले अर्थ मन्त्रालयसँग बजेट माग गरेका थियौँ तर फाइल नै फिर्ता आयो, बजेट सुनिश्चित भएन,’ उनले भने। तर पनि अहिले पुरानै ठेक्कामार्फत काम भइरहेको उनले बताए।

‘पहिला ५ करोडदेखि १० करोडसम्मको विभिन्न प्याकेजमा ठेक्का सम्झौता भएको रहेछ,’ उनले भने, ‘त्यहीअनुसार काम भइरहेको छ। हामीले पनि बजेटका लागि पहल गर्दै आएका छौँ।’ 

(ठेकेदारको नाम र योजनाको रकम)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.