रास्वपा महाधिवेशनमा केन्द्रित

|

काठमाडौँ : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल अहिले सरकार र संसद्‍मा बसेर काम गर्न छाडी जनतासँग पुग्ने नाममा विभिन्न अभियान चलाइरहेका छन्। 

गत वर्ष मंसिरमा भएको आम-चुनावपछि बनेको संसद्‍ र सरकारले चुनावका बेला गरिएका प्रतिबद्धता र जनअपेक्षाअनुसारका काम नगरेको भन्दै आलोचना भइरहेका बेला दलहरु फेरि जनतामाझ गएको बताउन थालेका छन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको एक वर्ष पुग्नै लाग्दा सत्ता गठबन्धनमा प्रधानमन्त्री र मन्त्री नै फेर्नुपर्ने आवाज उठिरहेको छ। 

आफ्ना पार्टीबाट पठाएका मन्त्रीले काम गर्न नसकेको भन्दै सत्तारुढ दलले अनौपचारिक छलफल गरिरहेका छन्। अर्कोतर्फ संसद्‍ले आवश्यक कानुन निर्माण गर्न नसकेको र प्रतिपक्षी दलले सांसदमार्फत सरकारलाई खबरदारी गर्न नसकेको भनेर आलोचना भइरहेको छ। यही आलोचनाका बीच आलोपालो सरकार र प्रतिपक्षमा बस्ने गरेका यी दल अहिले अभियान चलाउने प्रतिस्पर्धामा उत्रेका हुन्।

प्रतिपक्षी दल नेकपा एमालेले हालै १८ दिन लामो मध्यपहाडी संकल्प यात्रा सकेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी चार महिनादेखि नै जनतासँग माओवादी विशेष अभियान चलाइरहेको छ। 

तीन महिने अभियानलाई एक महिना थपेको माओवादीले पार्टीको संगठन सुदृढीकरण, पार्टी सदस्यता वितरणलगायतका काममा केन्द्रित भएको माओवादी नेता दीनानाथ शर्माले जानकारी दिए।
‘जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नाराका साथ हाम्रा सबै साथीहरू गाउँ-गाउँमा खटिनुभएको छ। १६ गते अभियान सकिँदै छ। सकिएपछि हामी समीक्षा गर्छौँ।’ शर्माले भने।

सरकारमा बसेर चुनावी घोषणापत्रमा लेखिएका बाचा र संसद्‍मा बसेर आवश्यक कानुन निर्माण गर्न छाडेर जनतामा किन? भन्ने थाहाखबरको प्रश्नमा उनले पार्टीको काम लिएर जनतामा गएको जवाफ दिए.

माओवादीको सकिएकै दिन कांग्रेसको अभियान 

माओवादीको अभियान सकिएकै दिन पुस १६ गते सत्तारुढ नेपाली कांग्रेसले एक महिने अभियान सुरु गर्ने भएको छ। 

मंसिर २९ गते बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयअनुसार पुस १६ देखि माघ  १६ गतेसम्म सबै जिल्लाका वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेस सह-महामन्त्री जीवन परियारले जानकारी दिए। 

‘हाम्रो अभियानको नामै 'समुदायमा कांग्रेस' भनेका छौँ। अर्कोतर्फ पार्टी सरकारमा पनि छ, त्यसैले वडा वा समुदायमा भएका नागरिकसँग सरकारले गरेका कामबारे जानकारी लिने र पार्टी कसरी जाने भन्ने सुझाब लिने गरी जान लागेका हौँ’, परियारले थाहाखबरसँग भने, ‘कांग्रेसका विचार र दृष्टिकोणसहित कांग्रेसका प्रतिनिधिहरु ७७ वटै जिल्लामा खटिनुहुन्छ र ती प्रतिनिधिले वडातहमा प्रतिनिधि खटाउनुहुन्छ।’

रास्वपा महाधिवेशनमा केन्द्रित

संसद्‍को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यतिखेर पार्टीको प्रथम महाधिवेशनमा केन्द्रित भएको छ। 

मंसिर २८ गते सात प्रदेशका एक–एक वटा वडाको अधिवेशन गरेर प्रथम महाधिवेशनको प्रक्रिया सुरु गरेको रास्वपाले अहिले महाधिवेशनसँगै पार्टीका आगामी कार्यक्रमको तयारी गरिरहेको पार्टीका सह-प्रवक्ता मनिस झाले जानकारी दिए।

‘अस्ति हामीले प्रक्रियागत रुपमा सुरु भयो है भनेर मात्र ७ वटा वडामा सुरु गरेका हौँ। अहिले हामी अब पार्टी कसरी जाने भनेर योजना बनाउनेदेखि प्रक्रियागत रूपमा स्पष्ट हुने गरी लागिरहेका छौँ’, झाले भनेका छन्।

कतिपयले नयाँ पार्टी विचारमै अड्किएको भनेर आलोचना गरिरहेका वेला सह-प्रवक्ता झालेआफूहरू भने धेरै अगाडि बढिसकेको दावी गरेका छन्। 

‘सुरुमा जमान जम्मा हुन्छ। त्यसपछि सिद्धान्तको कुरा गरिन्छ। कतिपय दल विचारमै अड्किएको अवस्था पनि छ। हामी अलि नयाँ राजनीतिक संस्कार सुरु गर्ने भनेर आएको दल भएकाले पनि चुनौती धेरै छ, उनले थपे, 'यो पार्टीमा लागेकामध्ये ७० प्रतिशत जति राजनीतिका लागि नयाँ हुनुहुन्छ। त्यसैले विस्तारै अध्ययन गर्दै, काम गरिरहेका छौँ।' 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.