संघ र स्थानीय सरकारको जुहारी

|

काठमाडौँ : काठमाडौँका मेयर बालेन शाह संघीय सरकारका लागि चुनौती बनेका छन्। 

गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेर ठूला राजनीतिक दलका प्रभावशाली नेतालाई हराएपछि बालेन प्रमुख दललाई मात्र होइन संघीय सरकारलाई समेत टाउको दुखाइको विषय बनेका छन्।

पार्टीका जनप्रतिनिधिले नेताको इशारामा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ तर देशको संघीय राजधानीमा स्वतन्त्र व्यक्ति मेयर बनेपछि संघीय सरकार नै बालेनप्रति त्रसित हुने अवस्थासम्म आइपुगेको छ।

डेढ वर्षमै मेयर शाहले प्रशंसा पाइरहेका छन् तर काठमाडौँको खोला अतिक्रमण हटाउन र फोहोर व्यवस्थापनलगायतका काममा संघ र प्रदेश सरकारको सहयोग नपाएकाले परिणाम दिन नसकेको उनले बताउने गरेका छन्। 

सोमबार ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा मेयर बालेनले उक्त काम प्रधानमन्त्री र गृह मन्त्रालयले चाहे पाँच मिनेटमै सदाका लागि समाधान हुने बताए। संघ र प्रदेश सरकारको काम स्थानीय सरकारले गर्न खोज्दा खुशी हुनुपर्नेमा अधिकार खोस्न तिर लागेको बालेनले गुनासो समेत गरेका थिए। 

उनले भने, 'फोहोर व्यवस्थापनका कुराहरू छन्। संघ र प्रदेश सरकारको काम स्थानीय सरकारले गर्न खोज्दा उहाँहरू खुशी हुनुपर्ने हो तर कसैले काम गरिदिनु भनेको अधिकार खोस्नु होइन। फोहोर व्यवस्थापनको काम संघ सरकारले गरेको भए हामीले किन गर्नुपर्थ्यो। अधिकारभन्दा पनि कर्तव्यको रुपमा लिनुपर्छ। त्यो सबै तहका सरकारले बुझ्नुपर्छ। त्यो भयो भने फोहोर व्यवस्थापन र खोला अतिक्रमणलाई हटाउन सक्छौँ।'

स्थानीय सरकार आफैँले काम गर्नका लागि बाधा अड्चन परेकाले कानुनी बाधा अड्चन फुकाइिदन उनले प्रधानमन्त्रीलाई आग्रह पनि गरे।

उनले थपे, ‘काठमाडौँमा खोला अतिक्रमण छ, ललितपुरमा छैन। ललितपुरका फुटपाथ अतिक्रमण छ काठमाडौँमा छैन। कुनैकुनै अतिक्रमण हामीले हटाउन सक्छौँ तर खोला अतिक्रमण हटाउन सम्माननीयज्यूलाई आग्रह गरेँ, उहाँ र गृह मन्त्रालयले चाहनुभयो भने ५ मिनेटदेखि एक घण्टासम्म सल्टिन्छन्।’

त्यसपछि उनी निस्किए । अनि बोल्ने पालो आयो प्रधानमन्त्री प्रचण्डको। सरकारसँगै असन्तुष्टि जनाएर बालेन हिँडेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो जवाफ नसुनेको भन्दै आक्रोश पोखे।

‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ। आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म’, प्रधानमन्त्रीले भने, ‘म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस् या तीनकुनेको कुरालाई होस्। चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कति पटक सिंहदबारमा बैठक भयो? अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढङ्गले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’

यसअघि

काठमाडौं उपत्यकाको विकास एकैपटक हुनुपर्छ : मेयर बालेन

संघीयतापछिको विकास सन्तोषजनक छ : प्रधानमन्त्री

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.