सर्भर डाउन हुँदा डाटा नै गायब

|

काठमाडौँ : अमित पाण्डे वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)का लागि गत बिहीबार बिहानै सानोठिमीस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा गए। उनले सोचेका थिए, सबै कागजपत्र मिलिसकेकाले सहजै एनओसी पाइन्छ।

उनको सोचाइ गलत ठहरियो। उनी एनओसी पाउन बिहीबार अर्थात् पाँच दिनदेखि कार्यालय धाइरहेका छन् तर अझै पाउन सकेका छैनन्। आज (मंगलबार) पनि उनी कार्यालयमा लाइन बसिरहेका भेटिए। उनका अनुसार बिहीबारदेखि नै कार्यालय धाइरहेका छन्।

‘बिहीबार काम मिलेन, फेरि शुक्रबार त्यसैका लागि कार्यालय पुगेँ तर सर्भर बन्द भएको भन्दै कर्मचारीहरूले आइतबार आउन सुझाए। फेरि आइतबार पहिलाजस्तै बिहानै कार्यालय आइपुगेँ, उक्त दिन पनि सर्भर बन्द भएको जानकारी दियो, फेरि घर फर्किएँ। हिजो सोमबार पनि आएँ, आज पनि आएँ तर खै अझै काम भएन’, उनले थाहाखबरसँग गुनासो पोखे। 

उनी प्लस टु पास भएपछि स्नातक अध्ययनका लागि क्यानडा जाने तयारीमा छन्। एनओसी लिन उनले युद्ध लड्नुपरेको अनुभव गरेको बताएका छन्। 

‘यो कार्यालयको चरम लापरबाही हो। यस्तो कमजोर सर्भर विकास किन गरियो?, यो त विद्यार्थीलाई दुःख दिने काम मात्रै भइरहेको छ’, उनले आक्रोश पोखे।

उनका अनुसार सर्भर चलेका वेला पनि विभिन्न बहानामा कर्मचारीहरू दुःख दिन्छन्। ‘नजिक भएकालाई केही समस्या नहोला तर कोही टाढाबाट आएका हुन्छन्,डकुमेन्ट घरमै बिर्सिन्छन् तर कर्मचारीहरू भने ओरजिनल डकुमेन्ट खोजेर हैरान पार्छन्, फोटोकपी मगाउँदा पनि मान्दैनन्’, उनले भने।

धरानका मिसन तामाङ पनि बिहीबारदेखि एनओसीकै लागि कार्यालय धाइरहेका छन् तर काम हालसम्म भएको छैन। क्यानडा जान लागेका तामाङले भने, ‘मेरो काम बिहीबारदेखि अझै भएको छैन,आज पनि हुन्छ कि हुँदैन‚ केही थाहा छैन। सर्भरको समस्यामा शिक्षा मन्त्रालयकै लापर्बाही छ, व्यवस्थापनमा कमजोरी छ, सेकेन्डरी सर्भर राख्नुपर्ने हो नि।’

सर्भर डाउन हुँदा डाटा नै गायब

शुक्रबारबाट बन्द भएको वैदेशिक अध्ययन अनुमति शाखाको सेवा हिजोदेखि खुलेको छ। वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बस्नासाथ सेवा सुरु हुने भन्दै सूचना टाँस गरेको थियो। विद्यार्थीहरूले एनओसी लिन चार दिनदेखि धाउनुपरेको भन्दै गत आइतबार दिनभर र सोमबार नाराबाजी गर्दै धर्नासमेत दिएका थिए।

आजबाट नियमित सेवा सुचारु भएको छ। अहिले पनि कार्यालयमा धेरै भीडभाड छ। सुरक्षाकर्मीहरू तैनाथ छन्। शाखाका कर्मचारीहरूका अनुसार हिजो दिउँसोदेखि सेवा खुलेको हो तर मंसिर २२ गतेयताका सबै अनलाइनबाट भरेका विवरण गायब छन्। विद्यार्थीहरू एनओसी पाउने वेला पुनः फाराम भर्न बाध्य छन्।

विद्यार्थीहरूले भने २२ गतेपछिका मात्र नभई मंसिर २६ गते भरेको फाराम समेत हटेको बताएका छन्। लाइनमा भेटिएका काठमाडौंका पेमा लामाका अनुसार उनले एनओसीका लागि मंसिर २६ गते नै अनलाइन फाराम भरेकी थिइन् तर दैनिक धाइन्‚ काम भएन। आज भने कम्प्युटर सिष्टममा उनले भरेको डाटा नै देखाएन। ‘मलाई फेरि आज नयाँ फाराम भर्न लगाइयो, यहाँको सेवा लिनै नसकिने रहेछ’, उनले भनिन्। 

शाखा प्रमुख भन्छन् : रिकभर हुँदै छ, मिलेसम्मको काम गरिरहेका छौँ

वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख शान्तिराम पौडेलले मिल्नेजति डाटा रिकभर भइरहेको बताए। उनले भने, ‘सर्भर डाउन भएको हो तर के कारणले यस्तो भयो‚ प्राविधिक कुरा थाहा भएन, हिजोबाट भने काम सुचारु भएको छ।’ उनका अनुसार पुरानो डाटा आंशिक मात्रै देखिएको छ।

नदेखिएका निवेदन भने फेरि नयाँ फाराम भर्नुपर्छ। बढी भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी एनओसी पाउन नसक्दा मारमा परेका छन्।

उनीहरूको हकमा भने तत्कालै काम गरिदिने उनको आश्वासन छ। उनका अनुसार हिजो ९ सयजनाले एनओसी लिएका छन्। ‘हामीले साँझ ५:३० बजेसम्म सेवा दिएका थियौँ, आज पनि धमाधम काम भइरहेको छ’, उनले भने।

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.