जेब्रा क्रसमा १५ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

|

काठमाडौं :  शुक्रबार माइतीघर मण्डला चोकको जेब्रा क्रसबाट सडक पार गरेर कुपण्डोल जान लागिरहेकी थिइन्, ललितपुरका रिया श्रेष्ठ। तर,जेब्रा क्रस नै छोपिनेगरी सवारीसाधन रोकिएका कारण उनी अन्योलमा देखिइन्। सवारीसाधन छिचोल्दै अन्य बाटो खोजेर बल्लबल्ल सडक पार गरिन्। ‘नामचाहिँ जेब्रा क्रस,तर पार गर्ने ठाउँ नै छैन’, आक्रोशित हुँदै भनिन्, ‘सवारीचालक यति साह्रो गर्दा पनि ट्राफिक प्रहरी किन केही गर्दैनन्?’

पैदलयात्रुलाई सुरक्षित ढंगले सडक पार गर्न बनाइएको संकेत हो, जेब्रा क्रसिङ। कतिपय ठाउँका ती जेब्राक्रसिङ मेटिएका छन् भने नमेटिएका ठाउँमा पनि सवारीसाधनले अवरोध गर्छन्। यसकारण रियाले भनेजस्तै हिजोआज पैदलयात्रुलाई सडक पार गर्नै सकस पर्छ। 

सबैभन्दा बढी समस्या माइतीघर मण्डला चोकमा छ। 

 माइतीघर मण्डलामा सवारीसाधनले जेब्राक्रस ढाकेपछि अन्यत्रबाट बाटो पार गर्दै पैदलयात्रु 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार त्यसरी जेब्रा क्रसिङमा रोक्न ऐन/नियमले दिँदैन। तर,पनि माइतीघर मण्डला चोक,रत्नपार्क, बौद्ध र जोरपाटी लगायत क्षेत्रका जेब्रा क्रसिङमै सवारीसाधन रोक्ने गर्दा पैदलयात्रुलाई समस्या परेको छ। जोरपाटी, बौद्ध, जोरपाटी अरब बैंक अगाडि लगायत क्षेत्रका भएका जेब्रा क्रसिङ पनि मेटिएका छन्। तर मर्मतमा सरोकारवाला निकायको चासो देखिँदैन।

जेब्राक्रसिङमा १५ सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

जेब्राक्रसिङमा समेत अत्यधिक गतिमा सवारीसाधनहरू हुइँकिन्छन्। त्यसो त पैदलयात्रुलाई ज्यानकै जोखिम छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार साउनदेखि अहिलेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा चार हजार ९५१ सवारीसाधन दुर्घटना भएका छन्। यसमध्ये  १४ जेब्रा क्रसिङमा १५ वटा सवारी दुर्घटना भएका छन्, जसमा एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते र १५ जना सामान्य घाइते भए।

तथ्यांकअनुसार साउन महिनामा बानेश्वरको एभरेष्ट अस्पताल अगाडिको जेब्रा क्रसिङमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भए भने एक जना सामान्य घाइते भएकाे उल्लेख छ। तथ्यांकअनुसार सोही महिनामा कोटेश्वरको शान्तिनगर चोकमा सवारीसाधन दुर्घटना हुँदा एक जना सामान्य घाइते भए। महाराजगञ्जको चप्पल कारखानामा सवारीसाधन दुर्घटना हुँदा एकजनाको ज्यान गयो।  

एयरपोर्टको सिनामंगलमा १ दुर्घटना हुँदा एक जना सामान्य घाइते भए। गौशालाको पिङ्गलास्थानमा १ सवारीसाधन दुर्घटना हुँदा एक जना सामान्य घाइते भए।  भदौमा एयरपोर्टको सिनामंगल चोकको जेब्रा क्रसिङमासवारीसाधन दुर्घटना भयो। एक जना सामान्य घाइते भए।

असोज महिनामा दरबारमार्गको याक एण्ड यति मोडको जेब्रा क्रसिङमा सवारी दुर्घटना हुँदा एक जना सामान्य घाइते भए। केशरमहलमा सवारीसाधन हुँदा एकजना सामान्य घाइते भए। यस्तै जावलाखेलको एकान्तकुना यातायात कार्यालय अगाडिको जेब्रा क्रसमा सवारीसाधन दुर्घटना हुँदा दुईजना सामान्य घाइते र एकजना गम्भीर घाइते भए।

एयरपोर्टको कार्गोमा पनि सवारी दुर्घटना हुँदा दुईजना सामान्य र कोटेश्वरको शान्तिनगर चोकको जेब्रा क्रसिङमा २ सवारीसाधन दुर्घटना हुँदा दुईजना सामान्य घाइते भए। मंसिर महिनामा गठ्ठाघरको चारदोबाटो चोकको जेब्रा क्रसिङमा सवारीसाधन दुर्घटना हुँदा एकजना सामान्य घाइते भए।

पुसको पहिलो भत्केको पुल नजिकको जेब्रा क्रसिङमा सवारी दुर्घटना हुँदा एकजना सामान्य घाइते भए। यस्तै, रत्नपार्कको जेब्रा क्रसमा सवारी दुर्घटना हुँदा एकजना सामान्य घाइते भए।

 मेटिएको जोरपाटी अरब बैंकअगाडिको जेब्रा क्रस  

​काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यी माथिका सबै घटनाको तथ्यांक पैदलयात्रुलाई जेब्रा क्रसमा ठक्कर दिएको, जेब्रा क्रसमा दुई सवारीसाधन ठोक्किएको र जेब्रा क्रसमै तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ।

जेब्राक्रसमा रोके के हुन्छ कारबाही ?

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार सुरक्षित ढंगले पैदलयात्रु पार गर्न जेब्रा क्रस बनाइएको हो। यी कुनै पनि जेब्रा क्रसमा रातो बत्ती बलेको वेला जेब्रा क्रसिङको स्टप घेरामा सवारीसाधन रोकिनुपर्छ र अगाडि गइसकेको सवारीसाधनले पनि पछाडिको जेब्रा क्रसिङलाई छुन मिल्दैन।

जेब्राक्रसिङ भने पैदलयात्रुलाई सडक पार गर्न खाली राख्नुपर्छ। ‘तर,सवारीसाधन ‘मुभ’ भइरहेको बेला जेब्रा क्रसिङमा रोक्न पाइन्छ। किनभने ती गाडी अगाडि बढिरहेका हुन्छन्। त्यस्तो बेला रोकिएका हुन्छन्’,उनले भने। उनले त्यसरी जेब्रा क्रसिङमा रोक्ने गरेको पाए चालकले लापरबाही गरेको भनी ५oo देखि एक हजार ५०० रुपैयाँसम्म जरिवाना हुने बताए।

तर, किन ट्राफिक प्रहरीले गर्दैन कारबाही ?

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले भनेअनुसार जेब्रा क्रसमा त्यसरी गाडी रोकेको पाए तत्कालै ट्राफिक नियम उल्लंघन गरेको भनी कारबाही गर्नुपर्ने प्रावधान छ। तर,त्यसरी रोकेको वेला त्यही क्षेत्रमा खटिएका ट्राफिक प्रहरीले ती चालकलाई केही कारबाही गरेको देखिँदैन।

रियाले भनिन्,‘यहाँ मात्रै होइन,अन्य ठाउँहरूमा पनि जेब्रा क्रसमा पार गर्ने बाटो नै हुँदैन, समस्या छ, यसरी लापरबाही गर्ने चालकहरूलाई कारबाही भने हुँदैन,कारबाही गरे त चालकले त्यस्तो गर्दैन थियो होला।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्ट त्यसरी लापरबाही गरी चलाउने सवारी चालकलाई कारबाही गर्ने गरेको दाबी गर्छन्। ‘त्यसरी सवारीसाधन रोक्न पाइँदैन’, उनले भने, ‘तर,यहाँ धेरै सवारी चालकहरूको लापरबाही छ,अटेर गर्छन्। कारबाही भने गरिरहेका छौँ।’ मेटिएका जेब्रा क्रसको विषयमा भने सडक विभाग र सम्बन्धित स्थानीय तहले मर्मत गर्नुपर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.