|

काठमाडौँ : काठमाडौँ उपत्यकामा वर्षेनि डरलाग्दो संख्यामा सवारीसाधन दुर्घटना बढ्दै गएको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक २०७१ सालयताको दुर्घटना विवरण हेर्दा संख्या अझै बढ्दै गएको पाइएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक दुर्घटना तथ्यांकअनुसार करिब १० वर्षमा ७७ हजार २३ सवारी दुर्घटना भएका छन्। जसमध्ये चालू आर्थिक वर्ष ०८०/८१ मा नै साउनदेखि अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ४ हजार ९५१ सवारीसाधन दुर्घटना भएको तथ्यांकमा उल्लेख छ।

यसमध्ये १४ जेब्रा क्रसिङमा १५ वटा सवारी दुर्घटना भएका छन्, जसमा एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते र १५ जना सामान्य घाइते भए। 

१ हजार ७९९ को मृत्यु, २हजार ३५५ गम्भीर घाइते

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक दुर्घटना तथ्यांकअनुसार आव ०७१/७२ देखि चालू आवको पुस ६ गतेसम्ममा सवारी दुर्घटनाबाट १ हजार ७९९ जनाको मृत्यु भएको छ।

ती सवारी दुर्घटनामा २ हजार ३५५ जना गम्भीर घाइते भए। यस्तै, ५५ हजार ७४० जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। 

कुन वर्षमा कति भए दुर्घटना ?  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक दुर्घटना तथ्यांकअनुसार आव ०७१/७२ मा ४ हजार ९९९ सवारी दुर्घटना हुँदा १३३ जनाको मृत्यु भयो। २३३ जना गम्भीर घाइते भए भने ३ हजार ६४३ जना सामान्य घाइते भए।

आव ०७२/७३ मा ५ हजार ६६८ सवारी दुर्घटना हुँदा १६६ जनाको मृत्यु भयो। २७५ जना गम्भीर घाइते भए भने ३ हजार ८०१ जना सामान्य घाइते भए।

आव ०७३/७४ मा ५ हजार ५३० सवारीसाधन दुर्घटना भए। उक्त दुर्घटनामा १८२ जनाको मृत्यु भयो भने २०१ जना गम्भीर घाइते भए। ३ हजार ९१४ जना सामान्य घाइते भए।

आव ०७४/७५ मा बढेर ६ हजार ३८१ सवारी दुर्घटना भए। ती दुर्घटनामा १९४ जनाको मृत्यु भयो भने २१९ जना गम्भीर घाइते भए। ४ हजार ३३३ जना सामान्य घाइते भए।

०७५/७६ मा ८ हजार ५११ सवारी दुर्घटना हुँदा २५४ जनाको मृत्यु भयो। ३१७ जना गम्भीर घाइते भए भने ५ हजार ९१३ जना सामान्य घाइते भए।

०७६/७७  मा ह्वात्तै बढेर १० हजार ३० सवारी दुर्घटना हुँदा १५३ जनाको मृत्यु भयो। २४२ जना गम्भीर घाइते भए भने ६ हजार ६८४ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, आव ०७७/७८ मा भने केही दुर्घटनाको संख्या केही घटेको देखिन्छ। उक्त अवधिमा ९ हजार ५४५ सवारी दुर्घटना भए। १६७ जनाको मृत्यु भयो भने २२६ जना गम्भीर घाइते भए। ७ हजार ९३ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार आव ०७८/७९ मा दुर्घटनाको संख्या बढेको छ। उक्त अवधिमा १० हजार ७३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भयो। २५७ जना गम्भीर घाइते भए भने ८ हजार २७६ जना सामान्य घाइते भए।

आव ०७९/८० मा १० हजार ६७५ सवारी दुर्घटना हुँदा १८७ जनाको मृत्यु भयो। २६१ जना गम्भीर घाइते भए भने ८ हजार ३ सय सामान्य घाइते भए।

आव ०८०/८१ को पुस ६ गतेसम्ममा ४ हजार ९५१ सवारी दुर्घटना भए। ७० जनाको मृत्यु भयो भने १२४ जना गम्भीर घाइते भए। ३ हजार ६३३ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ। 

किन बढ्दै गयो दुर्घटनाका घटना 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट मुख्य त सवारीचालकहरूको लापरवाहीकै कारण दुर्घटना हुने गरेको बताउँछन्।

‘सवारीचालकहरू धेरै लापरवाही गरेर सवारी चलाउँछन्, ट्राफिक नियम पालना गरी चलाउनु पर्छ भन्ने सबैलाई थाहा छ तर अटेर गर्छन्। त्यसपछि दुर्घटना हुन्छ,’ उनले भने। अवकाशप्राप्त ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु पनि सवारीचालकहरूको तीव्र गतिका कारण दुर्घटना हुने गरेको बताउँछन्।

उनका अनुसार पैसाको लोभले सिट क्षमताभन्दा दोब्बर यात्रु बोक्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनुलगायतका कारण सवारीसाधन दुर्घटना भइरहेको छ। हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले भने, ‘सडक खाल्डाखुल्डी भएका कारण पनि दुर्घटना हुने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.