|

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लु बगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ छहरेबगर गोतामकोट जोड्ने ठूली भेरी नदीको पुल सम्झौता अनुसार २०७९ असार १५ गते हस्तान्तरण भइसक्नुपर्ने थियो। सम्झौतामा उल्लेख भएभन्दा दुई वर्ष बढी हुन लागे पनि कामले गति लिन सकेको छैन।

पुलको ठेक्का  हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धरा काठमाडौंले लिएको हो। उसले २०७८ पुस १६ गते सम्झौता गरेर २०७९ असार १५ सम्म सम्पन्न गरी बुझाउने सहमति गरेको थियो। यो पुल निर्माण गर्न भ्याटबाहेक तीन करोड ४७ लाखको लागत सम्झौता भएको भेरी करिडोर सडक आयोजनाका सूचना अधिकारी दत्त लामाले जानकारी दिए।

ढिलो गरी निर्माण शुरु भएको बेलिब्रिज पुल २०८० वैशाख ७ गते आधा लच्किएर भेरीमा खस्दा २ जनाको मृत्यु भयो। सात कामदार घाइते भए। ठूलीभेरी नदीको बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा रहेको समयमा लच्किएर भेरीमा खसेको थियो। अघिल्लो आर्थिक वर्षमै पुल निर्माण गरिसक्ने भनिए पनि हालसम्म पुलको काम शुरु नै भएको छैन।

निर्माण व्यवसायी र आयोजनाको बीचमा कुरा नमिल्दा पुल निर्माणले गति लिन नसकेको हो। पुल पुल भाँचिएपछि उत्पन्न भएको अन्योलको अवस्था अन्त्य गर्न भेरी करिडोरको सडक निर्माणको जिम्मेवारी लिएको यति बिल्डर्सले पुल निर्माणका लागि सहजीकरण गर्दै बैंक ज्ञारेन्टी राखेर हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धरा काठमाडौंलाई पुल निर्माण छिटो सहयोग गरेको यतिका गोरखबहादुर केसीले जानकारी दिए।

पुल पूरै निकालेर पुन: जोड्नुपर्ने अवस्था रहेको केसीले जानकारी दिए। पुलमा जोडिएका नट बोल्ड खिया लागेर काम नलाग्ने भएकाले नयाँ बदल्नुपर्ने उनको भनाइ छ। अहिले निर्माण टोली गएर समस्य आएको ठाउँमा अध्ययन भइरहेको उनले बताए। सामान, नट–बोल्ड सबै आयोजनाले दिनुपर्ने भए पनि नदिँदाबजारमा पाइने नट बोल्ड प्रयोग भएपछि समस्या आएको जेभीले बताएको छ। 

हाल भाँचिएको, फुटेको र काम नलाग्ने सबै सामग्रीको ठाउँमा नयाँ आयोजनाले उपलब्ध गराए दुई महिनाभित्र पुल निर्माण हुने केसीले जानकारी दिए। जलप नेपालले पुलका सामान जोडका लागि जिम्मेवारी लिएको छ। यतिले कामको सहजीकरण गर्ने मौखिक सहमति अनुसार काम भइरहेको केसीले बताए। काम सम्पन्न भएपछि भुक्तानी हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धरा काठमाडौंको नाममा हुने छ। यो निर्माण कम्पनी छेडागाड नगरपालिका जाजरकोटका नगरप्रमुख रत्नबहादुर खड्काको हो। 

आयोजनाबाट समयमै सामान पाए काम छिटो हुने केसी बताउँछन्। ‘अलपत्र परेको काम छिटो होस् भनेर हामीले जिम्मेवारी लिएका छौँ। जाजरकोट, डोल्पा र रुकुम पश्चिमको साझा समस्य भएकाले हामी निरन्तर काममा लाग्नुपर्छ।’ हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धारा काठमाडौंका प्रतिनिधि बुद्धिबहादुर खत्रीले आफूले नसकेर हैरान हुँदा यतिलाई जिम्मेवारी दिएको बताएका छन्। उनले ६ महिनाभित्र पुल निर्माण गर्छु भन्दै ठेक्कामा लिएर लामो समय सम्म अलपत्र पारेका थिए। 

शुरुमा सडक डिभिजन चौरजहारी मातहातमा रहेको यो सडक हाल भेरी करिडोर सडक आयोजना नामले छुट्टै कार्यालय स्थापना भएर काम भइरहेको छ। आयोजना सञ्चालन भएको ठाउँमा निर्माण हुने सबै पुल अन्य निकायले समेत भेरी करिडोरलाई जिम्मेवारी दिएका छन्।

भेरी करिडोर अन्तर्गत जाजरकोटबाट डोल्पा सडक खण्डको १८ किलोमिटर सडक पर्छ। २०७४ चैत २५ गते नेपाली सेनाको निगरानीमा ट्र्याक खोल्ने काम सकेर नेपाल सरकार सडक विभागलाई हस्तान्तरण गरी डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो। अहिले यही पुल निर्माण नहुँदा तीन जिल्लाको सडक यातायात अवरुद्ध भएको छ। डोल्पाबाट आएका सवारीसाधन रुकुम पश्चिमको छहरेबगर र जाजरकोटतर्फ यातायातका साधन तल्लुमा राख्नुपर्ने अवस्था छ। 

पक्की पुल निर्माण हुन समय लाग्ने भएकाले तत्काल समस्या समाधान गर्न बेलिब्रिजको योजनासहित काम थालिएको भए पनि निर्माण व्यवसायीको चरम ढिला सुस्तीका कारण दैनिक समस्या भएको छ। भेरी करिडोरले पनि आवश्यक सामान उपलब्ध गराउन खासै ध्यान नदिएको सरोकारवाला बताउँछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.