लहान : भौतिक सम्पत्ति जोड्ने उद्देश्यसहित आर्थिक अवसर खोज्दै अचेल जाँगर भएकाहरु दिनरात नभनी भोक प्यास बिर्सिएर कामको धपेडीमै कुदिरहेका हुन्छन्। सम्पत्तिकै लागि मानिसले आफन्त र छिमेकीसँग पनि झगडा र मुद्दा मामिला गरेका हुन्छन्।
तर सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका १ रामपुरका सामान्य चिया पसल सञ्चालक ४७ वर्षीय विन्देश्वर साहले आधा पेट खाएर जोहो गरेको रकमले किनेको जग्गा नै गाउँको स्वास्थ्य चौकीलाई दान गरेका छन्। अथक मिहिनेत र परिश्रम गरेर जोडेको २१ कठ्ठा जग्गामध्ये उनले सात कठ्ठा जग्गा गाउँको स्वास्थ्य चौकीलाई दान गरेका छन्। उक्त जग्गाको मूल्य नै अहिलेको भाउमा हिसाब गर्दा करिब डेढ करोड रुपैयाँको हाराहारी हुन्छ।
किन गरे दान ?
‘मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ’ उनले दार्शनिक ढङ्गले विन्देश्वरले सुनाए ‘जन्मेपछि मृत्यु नहुञ्जेल मानिस आफ्नो र परिवारका लागि केसम्म गर्दैन तर मरेपछि आखिर नाम बाहेक सबै छोडेर जान्छ। ‘बाँचुञ्जेल दुःख सुख त सबैले गर्छन् तर मरेपछि सबैले नाम लिने काम गर्नुपर्छ भन्ने लागेर दुःख गरेर किनेको जग्गामध्ये सात कठ्ठा समाजका लागि दान गरेको हुँ।’
सामान्य खेतीपाती गरेर जीविका चलाइरहेका सुखी साह र रामपरी साहका छोरा विन्देश्वरले विवाह भएर छुट्टिंदा अंशको रुपमा १६ धुर जग्गा पाएका थिए। दुई छोरा र दुई छोरी, पत्नी र आफूसहित छ जनाको हातमुख जोड्नै संकट भएका बेला २५ वर्षअघि उनले धनगढी– लक्ष्मीपुर पतारी सडकमा पर्ने आफ्नै गाउँको रामपुर चोकमा सानो झुपडीमा चिया पसल चलाएर त्यसबाट हुने आम्दानीले परिवार पाल्दै आएका थिए। सामान्य खाजा र चिया पसलको आम्दानीमध्ये घर खर्च कटाएर जोहो गरेको रकमले उनले पटक पटक गरी २१ कठ्ठा जग्गा जोड्न भ्याए।
गाउँदेखि दक्षिणतिर रहेको स्वास्थ्य चौकी भवन अपायक र दूरीको हिसाबले पनि बढी लाग्ने भएकाले रामपुर बजार क्षेत्रमा सबैलाई पायक पर्ने गरी स्वास्थ्य चौकी बनाउन दुःख गरेर जोडेको जग्गा दिन रत्तिभर अप्ठ्यारो नलागेको उनले बताए। ‘समाजकै सहयोगले जोडेको थिएँ, समाजकै भलाइको लागि दान गरें’ उनले भने।
छोरा इञ्जिनियर पढाउँदै
साप्ताहिक हटियाको दिन बाहेक पनि दैनिक करिब दुई हजार रुपैयाँको चिया, खाजा बिक्री गर्ने उनले त्यसले चार जनाको परिवार मात्र चलाएका छैनन्, जेठो छोरो रविन्द्र कुमारलाई काठमाडौंमा कम्प्यूटर इञ्जिनियरिङ पढाउँदैछन्। कान्छो छोरो र कान्छी छोरी गाउँ नजिकै रहेको मोहनपुर कमलपुर विद्यालयमा क्रमशः कक्षा ९ र ८ मा पढिरहेका छन्।
विन्देश्वरको पुण्यको काममा पत्नी सकुन्तला साहको पनि ठूलो योगदान रहेको स्थानीय जयप्रकाश साहले बताए। ‘स्वास्थ्य चौकीलाई दान दिएको जग्गाको कानुनी प्रक्रिया पुर्याउन कहिले राजविराज र कहिले काठमाडौं धाउनु पर्ने विन्देश्वरलाई पत्नी सकुन्तलाले नसघाएको भए केही कठ्ठा जग्गाको मालिक त हुन्थे तर दानवीर कहलाउँदैथे’ साहले भने।
विन्देश्वरले गरेको जग्गादानबाट ‘रामपुर गाउँमा बिघौं बिघा जग्गा भएका पुरानो रवाफका जमिन्दारहरुलाई माथ खुवाएर चिया बेचेर जोहो गरेको रकमले जोडेको जग्गा दान दिनु पक्कै पनि सानो छाती भएको मानिसले गर्न सक्दैन’ छिमेकी भवानीपुरका समाजसेवी दिपेशकुमार चौधरीले भने ।
साउनदेखि स्वास्थ्य चौकी सञ्चालन
सुनकोशी कन्सट्रक्सन प्रा.लि. काठमाडौंले निर्माण गरिरहेको दुई तल्लाको १८ कोठे स्वास्थ्य चौकी भवन चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ। आगामी साउनदेखि नयाँ भवनमै स्वास्थ्य चौकी सञ्चालन गर्ने गरी अन्तिम चरणको निर्माणको काम भइरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीका इञ्जिनियर हरिनारायण यादवले बताए।
एक दर्जन गाउँलाई सुविधा
विन्देश्वरले दान गरेको जग्गामा निर्माणको अन्तिम काम चलिरहेको स्वास्थ्य चौकी सञ्चालनपछि रामपुर वरिपरिका करिब एक दर्जन गाउँका सेवाग्राहीलाई सहज हुने स्थानीय गाउँलेहरु बताउँछन्। रामपुर स्वास्थ्य चौकी संचालन भएपछि महेशपुर पतारी, पोखरभिण्डा, पर्सा, पिप्रा, वैशखा, मोहनपुर कमलपुर, शिवनगर, कुर्वा, भवानीपुरका बिरामीहरुलाई आधारभूत स्वास्थ्य सेवा पाउने पिप्रा प्र.ध.स्वास्थ्य चौकीका इञ्चार्ज सरोज मण्डलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।