|

सुर्खेत : आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली क्षेत्रबाट खाली हुन लागेका तीन सिटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र छलफलले तीव्रता पाएको छ।

चुनाव हारेकादेखि युवाहरु राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफूले पाउनुपर्ने भन्दै तीव्र लबिङमा लागेका छन्। कर्णालीमा यसपटकको चुनावमा राष्ट्रियसभा सदस्यका तीनवटा मात्र सिट छन्।

गठबन्धनकै आधारमा प्रतिस्पर्धा गर्ने हो भने कर्णालीमा तीन सिटमा तीन दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले १-१ उम्मेदवार पाउनेछन्।

यद्यपि, ती दलमा आकांक्षीहरूको भने लामो लर्को लागेको छ। नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रियसभामा जान चाहनेहरूमा युवा नेतादेखि बौद्धिक नेता र पूर्व राज्यमन्त्रीको दाबी देखिएको छ।

जाजरकोटबाट ढकवीर राना, गगनबहादुर खडका, पूर्वमन्त्री गणेशप्रसाद सिंह राष्ट्रियसभाका लागि सम्भावित उम्मेदवार हुन्। जाजरकोटमा प्रदेशसभा २ सिट कांग्रेसको भागमा परेकाले प्रतिनिधिसभाको १ सिट मात्र माओवादीको हातमा रहेको छ।

हुम्लाबाट माओवादीका जिल्ला संयोजकसमेत रहेका बौद्धिक नेता डा. दीपेन्द्र रोकायले दाबी गर्दै आएका छन् । प्रदेश योजना आयोगमा समेत काम गरिसकेका रोकाया पूर्वपत्रकार हुन्।

यस्तै, छिमी लामाले पनि आकांक्षा देखाएका छन्। उनी समानुपातिक संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन्।

त्यस्तै, सल्यानबाट टीका बुढाथोकीले आकांक्षा देखाएकी छन्। उनी शहीद परिवारकी हुन्। कालिकोटबाट केन्द्रीय सदस्य गंगा खड्का र विष्णु विकले आकांक्षा देखाएका छन्। दलित कोटाबाट विक सम्भावित उम्मेदवार हुन्।

जुम्लाबाट प्रतिनिधिसभा सदस्य चुनाव हारेकी गोमा कुँवरले पनि राष्ट्रियसभामा आकांक्षा देखाएकी छन्। ०७९ मा प्रतिनिधिसभामा उनी पराजित भएकी थिइन्।

कुँवर पूर्वराज्यमन्त्रीसमेत भइसकेकी नेतृ हुन्। उनले एकपटक समानुपातिकबाट संसदको अनुभव बटुलिसकेकी छन्।

दैलेखबाट पुराना माओवादी नेता थीरबहादुर कार्की र प्रेम कटुवालले आकांक्षा देखाएका छन्। कार्की यसभन्दा अघि एकपटक चुनाव लडेर पराजित व्यक्ति हुन्। रुकुम पश्चिमबाट केन्द्रीय सदस्य वसन्त शर्मा, डोल्पाबाट मालबहादुर रोकाया र मुगुबाट सुकवीर बुढाले पनि आकांक्षा देखाएका छन्।

बुढाले लगातार ११ वर्ष पार्टीको जिल्ला नेतृत्व सम्हालेका छन्। स्रोतका अनुसार भागबण्डामा दलित कोटा पर्‍यो भने कालिकोटका विष्णु विक एक नम्बरमा उम्मेदवार हुने देखिन्छ।

माओवादी स्रोतका अनुसार जिल्लाहरुबाट नाम पठाउन आग्रह गरिएको छ। जिल्लाबाट नाम आइसकेपछि प्रदेशमा छलफल हुन्छ र त्यसपछि उम्मेदवारको नाम फाइनल हुने छ।

त्यस्तै, नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीहरूको लिष्ट पनि ठूलै रहेको छ। चर्चित युवा नेतादेखि यसअघि नै मन्त्रीसमेत भइसकेका कांग्रेसका नेताहरुसमेत राष्ट्रियसभामा जान चाहिरहेका छन्।

राष्ट्रियसभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको छ।

सोहीअनुसार जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिस भएर आइसकेका छन्। कर्णालीबाट एउटा अन्य, दलित र महिला सिटमा उम्मेदवार हुनेछन्।

युवा नेता भूपेन्द्रजंग शाहीले आकांक्षा देखाएका छन्। कालीकोट निवासी शाही यसअघि प्रत्यक्षतर्फ पटक–पटक चुनाव हारेका व्यक्ति हुन्। यद्यपि, उनी युवा वर्गमा निकै चिनिएका नेता हुन्।

पार्टीभित्र प्रदेश कमिटीको सभापतिमासमेत पराजय भोगेका शाहीले राष्ट्रियसभामा जान चाहेका हुन्।

कालीकोटबाटै कालीबहादुर सहकारी, दैलेखबाट रवीन्द्रराज श्रेष्ठ, हिमबहादुर शाही, रंगबहादुर शाहीको नाम चर्चामा छ। हिमबहादुर शाही ०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य भई कानुनमन्त्रीसमेत भइसकेका नेता हुन्।

रंग शाही पनि गणतन्त्रभन्दा पहिला नै सांसद भइसकेका पुराना नेता हुन्। सुर्खेतबाट डम्बर जिसी नामसमेत चर्चामा रहेको छ।

मुगुबाट हस्तबहादुर मल्ल, जाजरकोट सनक कार्की, रुकुम पश्चिमबाट कृष्ण रोकाय, मानबहादुर नेपाली, सल्यानबाट पूर्व-केन्द्रीय सदस्य विन्दु रेग्मी, ध्रुव पुरी लगायतका नेताहरूको नाम चर्चामा छ।

जुम्लाबाट दीनबन्धु श्रेष्ठको नाम पनि चर्चामा छ। उनी ०७४ मा प्रदेशसभा सदस्य भई जलस्रोत तथा ऊर्जामन्त्री समेत भइसकेका नेता हुन्। लंकबहादुर शाहीलगायत अन्य नेताहरूले पनि चाहना देखाएका छन्।

महिलातर्फ खासगरी खगिसरा आचार्य, रामछाया शाही, यशोदा शाही लगायतको नाम चर्चामा छ। पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारको नाम पठाउन भनेपछि सोमबार जिल्लाबाट आएका नामउपर प्रदेश कमिटीले छलफल चलाएको छ।

प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा र नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एंव कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सहभागितामा छलफल भइरहेको हो। उता प्रतिपक्ष नेकपा एमालेले पनि तयारी तीव्र बनाएको छ।

आन्तरिक छलफलदेखि केन्द्रका नेताहरूलाई आफ्नो पक्षमा रिझाउनका लागि छलफल तीव्र भएको जनाएको छ। नेकपा एमालेभित्र पनि धेरैजना आकांक्षी रहेको प्रदेश कमिटीका सदस्य नवेन्द्र नेपालीले बताए।

नेकपा (एकीकृत समाजवादी)ले पनि आफ्नो छलफललाई तीव्रता दिएको छ। तीन सिटमध्ये एकसिट पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको तर्क रहँदै आएको छ।  जाजरकोटका कृष्ण बिसी लगायतका अन्य नेताहरूको दाबी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.