|

काठमाडौँ : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘धेरै ठाउँमा देखेँ, आफ्नै घरको खाना खाएर ८० हजार महिनाको तलब खाने टिचरहरू ८०-९० लाख तिरेर विदेश जाने लहर किन चलिरहेको छ?, रोजगारी नभएर हो?, के सबै रोजगारी नपाएर मात्रै विदेश गएका छन् त भन्दा कहीँ न कहीँ देशभक्ति, राष्ट्रिय भावना, नैतिक राष्ट्रप्रेम मर्दै गएको छ, यो चिजमा पनि सोच्नुपर्छ।’

उनका यी भनाइलाई आधार मान्ने हो भने नेपालमा शिक्षकले मासिक ८० हजार तलब खान्छन्। तैपनि यी सम्मानित पेशा छाडेर विदेश पलायन भइरहेका छन्। के प्रधानमन्त्रीले भनेका कुरा साँचो नै हो त? नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी राज्यले शिक्षकलाई मासिक ८० हजार तलब दिएको कुरा साँचो नभएको बताउँछन्।

‘शिक्षकहरूको तलब भनेको ३२ हजारदेखि ७० हजार रुपैयाँसम्म हो’, उनले भने। उनले ‘ईसीडी’ शिक्षकहरूको तलब झनै कम हुने बताए। उनका अनुसार ईसीडी शिक्षकको मासिक तलब १५ हजार रुपैयाँ छ। विद्यालयका कर्मचारी त पनि मासिक १५ हजार रुपैयाँमै काम गर्न बाध्य भएको उनले जानकारी दिए। 

उनका अनुसार सबैभन्दा बढी तलब भनेको माध्यमिक तहको प्रथम श्रेणीको अन्तिम ग्रेडको शिक्षकको तलब अहिले सेवा सुविधासहित मासिक ७० हजार छ। कुनै हालतमा पनि ८० हजार पुग्दैन।

‘शिक्षकहरू विदेश पलायन भएका छैनन्’

संसदीय समितिकै बैठकमा​ प्रधानमन्त्री प्रचण्डले शिक्षक ८०-९० लाख तिरेर विदेश पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। यो त झनै तथ्यमा आधारित नभएकोमहासचिव सुवेदी बताउँछन्। शिक्षक त्यसरी उल्लेख्य संख्यामा विदेश पलायन नभएको उनको दाबी छ।

उनले भने, ‘धेरै विदेश पलायन हुने भनेको अहिले १२ पास गरेर विदेश जाने विद्यार्थी हुन्’, उनले भने, ‘तर शिक्षण पेशा छाडेर त्यसरी विदेश गएका भने छैनन्। गए पनि दुई–चारजना होलान्।’

कम तलब भएपछि बढाउन माग गर्दै आन्दोलन

प्रधानमन्त्री प्रचण्डले शिक्षकहरू ८० हजार मासिक तलब खान्छन् भनिरहँदा विद्यालय कर्मचारी भने तलब बढाउन माग गर्दै आन्दोलन गरिरहेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले गत असारमा विद्यालय नै बन्द गरेर आन्दोलन गरेको थियो।

विद्यालय कर्मचारी परिषद्का महासचिव योगीका अनुसार विद्यालय कर्मचारी सहायक (लेखापाल)का लागि ३४ हजार ७३० रुपैयाँ तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीका लागि २४ हजार २१० तलब रुपैयाँ कायम हुनुपर्ने मागसहित आन्दोलन गरे।

सुवेदी भन्छन् : प्रधानमन्त्रीलाई तलबबारे जानकारी छैन

नेपाल शिक्षक महासंघका महासचिव सुवेदीले प्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिले शिक्षकको तलब, समस्याबारे जानकारी नभएकोमा आश्चर्य प्रकट गरे।

‘हाम्रै देशका प्रमुख मान्छेलाई तलबबारे थाहा नभएको जस्तो लाग्छ, शिक्षण सम्मानित पेशा हो। प्रधानमन्त्री भएपछि तथ्यमा आधारित भएर बोल्नुपर्थ्यो’, उनले भने। राज्यले शिक्षालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने वेला बेवास्ता गरिएको उनी बताउँछन्।

त्यसो त आफूहरू सडकमा आन्दोलन गर्न बाध्य भएको उनले बताए। देशभरका शिक्षकले माग नसमेटिएको भन्दै ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ विरुद्ध गत असोज ३ गतेदेखि काठमाडौँमा आन्दोलन गरेका थिए। पछि शिक्षक र सरकारबीच दुई चरणमा ५ र ६ बुँदे सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.