|

काठमाडौं : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशप्रतिको माया मर्दै गएको भन्दै आक्रोश पोखे। उनले नैतिक शिक्षा आवश्यक रहेको भन्दै अब शिक्षा नीति नै परिवर्तन हुन जरूरी रहेको धारणा राखे।

उनले भने, ‘हामी शिक्षा नीतिमा सोचौँ, पहिला पहिला बरू नैतिक शिक्षा भन्ने हुने गर्थ्यो, नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो, मैले थाहा पाएसम्म। त्यो हटाइयो, नैतिक शिक्षामा देशको माया, इतिहासको संस्कृतिको माया, राष्ट्रिय भावनाका कुरा हुन्थ्यो, अहिले छैन। धेरै ठाउँमा देखेँ, आफ्नै घरको खाना खाएर ८० हजार महिनाको तलब खाने टिचरहरू ८०–९० लाख तिरेर विदेश जाने लहर किन चलिरहेको छ?, रोजगारी नभएर हो?, के सबै रोजगारी नपाएर मात्रै विदेश गएका छन् त भन्दा कहीँ न कहीँ देशभक्ति, राष्ट्रिय भावना, नैतिक राष्ट्रप्रेम मर्दै गएको छ, यो चिजमा पनि सोच्नुपर्छ।’ 

राष्ट्रप्रतिको सदभाव, माया चाहिनेमा उनको जोड थियो। त्यसैले नैतिक शिक्षा आवश्यक रहेको तर्क गरे। प्रधानमन्त्री प्रचण्डले भनेजस्तै अहिले नैतिक शिक्षा अध्यापन गराइन्छ कि छैन? 

यस विषयमा पाठ्यक्रम विकास केन्द्रका सामाजिक शिक्षा अध्ययन शाखाका पाठ्यक्रम अधिकृत हेमराज खडिवडाले अहिले पनि नैतिक शिक्षा विद्यालय पाठ्यक्रममा रहेको र विद्यार्थीहरूले पढ्दै आएको जानकारी दिए।

उनका अनुसार पहिला कक्षा ४, ७ र ८ मा ‘नैतिक तथा शारीरिक शिक्षा’ नामको पुस्तक थियो। अहिले नाम परिवर्तन भएर ‘मानव मूल्य शिक्षा’ भनेर राखिएको छ।

‘नाममात्रै परिवर्तन भएको हो, कोर्सहरू पहिला र अहिलेको एउटै छ,’ उनले भने, ‘यसमा पनि नैतिकका कुरा, मानव मूल्य मान्यता, नीति, देशप्रतिको मानसम्मान, माया सबै कुराहरू छन,ऐच्छिक रूपमा राखिएको छ।’ उनका अनुसार पहिला नैतिक शिक्षामा धार्मिक कुराहरूलाई बढी जोड दिइएको थियो।

तर विसं २०६८ र २०६९ सालपछिका कक्षा ४ र ८ मा पढाइने कोर्समा धार्मिक कुराहरूलाई बढी जोड दिइएको छैन। पहिलाको पूर्णाङ्क ५० को राखिएको थियो भने अहिले १०० पूर्णाङ्क राखिएको छ। उनले नाम परिवर्तन हुँदा नैतिक शिक्षा नभएको भनी बहस सुरू हुन थालेको देखिएको बताए।

किन उठ्यो नैतिक शिक्षाको बहस?

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला मान्छेहरू अनैतिक भएपछि नैतिक शिक्षाका कुराहरू निस्किने बताउँछन्। उनका अनुसार कुनै पनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता पनि हो तर आज त्यही नैतिकताविहीन अवस्थामा मानव समुदाय पुग्न लाग्यो। मानिसले नैतिकता भन्ने कुरा भुलेका छन्।

उनका अनुसार पछिल्लो समय उच्च ओहदाको व्यक्ति होस् या हरेक निकायका अधिकांश सरकारी कर्मचारी अनैतिक बन्दै गए। नैतिक शिक्षा प्राप्त गर्ने थलो विद्यालय र घरपरिवार हो। तर त्यसलाई कमिसन, भ्रष्टाचार, गैरजिम्मेवार, ढिलासुस्ती, अराजकता, पार्टीवाद‚ जातिवादको अखडा बनाइएको छ। यो अत्यन्त दुःखद् हो। 

‘नैतिक भनेको के हो पहिला बुझ्नु जरूरी छ, राष्ट्रव्यापी मान्नुपर्छ, यसले धार्मिक हो भनेर चिन्तन बनाउँछ, यो अझै पाकिस्तान, चीनमा लागू छ,’ उनले भने।प्रधानमन्त्रीले किन नैतिक शिक्षाका कुरा उठाए भन्ने विषयमा उनले यस्तो विषयमा बोल्नै नहुने बताए।

‘नैतिक शिक्षा आवश्यक छ, अहिले पढाइ भइरहेकै छ। यस विषयमा उहाँलाई थाहा नभएको भन्नेले खासै प्रभाव पार्दैन तर प्रधानमन्त्री जस्तो पदमा बसेपछि यस्तो बोल्नै हुँदैन। प्रधानमन्त्रीले त अरूलाई शिक्षा दिने हो, काम गर्ने हो तर त्यो हिम्मत गर्न सक्नु भएन, के बोल्न मिल्छ के मिल्दैन, आफैँले सोच्नुपर्ने हो,’ उनले भने।

‘नैतिक होइन, व्यावसायिक, आत्मनिर्भर र स्वाभिमानी शिक्षा चाहिन्छ’

शिक्षाविद् डा. मीनबहादुर शाही नैतिक शिक्षाको बहसभन्दा पनि अहिले उच्च प्रविधिको व्यवसाय, आत्मनिर्भर र स्वाभिमानी शिक्षा चाहिने बताउँछन्।

‘नैतिक शिक्षाको बहसको अर्थ नै छैन, अहिले चाहिने भनेको उच्च प्रविधिको व्यवसाय, आत्मनिर्भर, उत्पादनमुखी, प्रविधिमुखी, स्वाभिमानी शिक्षा चाहिने हो। यसका लागि सक्षम शिक्षाको खाँचो छ, यसैभित्र नैतिक शिक्षा, व्यावसायिक सबै पर्छ तर राज्यले यसतर्फ चासो दिएन,’ उनले भने।

उनका अनुसार ७ वर्ष लगाएर नर्सिङ पास गर्छन्, लाखौं खर्च गर्छन् तर यहाँ टिक्ने खालको अवसर छैन।

‘माष्टर्स गर्नेहरू मासिक १२/१५ हजारमा प्राइभेट क्षेत्रमा काम गर्न बाध्य छन्। कुखुरा व्यवसाय गर्छु भन्नेहरू लगानी गर्छन् तर बजार छैन, कुखुरा मर्छन्,अनि उनीहरूले कसरी नैतिक शिक्षा, सामाजिक मूल्यमान्यताबारे चासो राख्छन् त? पहिला नागरिकहरूलाई आत्मनिर्भर बनाउनुपर्दैन? तर खै सही नेतृत्व गर्नेहरू नै छैनन्,’ उनले भने।

उनका अनुसार पछिल्लो समय अंग्रेजीकरणका कारण भाषा, संस्कृति मासिँदै गएका छन्। ‘पहिला नैतिक शिक्षा थियो, संस्कृत पढाइ थियो तर अहिले पश्चिमा दर्शन ल्याएर विभिन्न दलहरूले पूर्वीय धरातललाई ध्वस्त पारे,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.