|

दुल्लु : दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उपलब्धिनजिक पुगेको छ।

पेट्रोलियम पदार्थ उत्खननको अन्तिम ड्रिलिङ जारी छ। भैरवी गाउँपालिका–१ स्थित शिरस्थान मन्दिरस्थित ज्वाला बलिरहेको क्षेत्रबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको छ।

ड्रिलिङका लागि सय बाई सय मिटरको खुला स्थान तयार गरिँदै छ। मेसिन जडान गर्न ठाउँ निर्माण भइरहेको छ। खानी तथा भूगर्भ विभागका तर्फबाट निर्माणस्थलमै खटिएका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार एक महिनाभित्र मेसिन जडान गर्न सके करिब ४ किलोमिटर ड्रिलिङ गरिनेछ।

तोकिएकै समयमा सडक बनेर उपकरण जडान गर्न सके ४ महिनाभित्र ड्रिलिङ सकिनेछ।

यसअघि करिब ३ सय किलोमिटरको परिधिमा रही ३ हजारभन्दा बढी ठाउँमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाएर गरिने एक किसिमको धर्तीको अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निर्क्योल गरी ड्रिलिङ गर्ने ठाउँ तय गरिएको छ। 

भैरवी गाउँपालिका–१ स्थित जलजलेमा कुल २८ घरधुरीको ४५ रोपनी जग्गा अधिग्रहण सम्पन्न भएपछि पूर्वाधार निर्माणले गति पनि लिएको छ। मुआब्जामा न्यायोचित मूल्य निर्धारण नभएको स्थानीयको गुनासो सम्बोधन गरेपछि जग्गा पास गरिएको छ।

देशकै आर्थिक समृद्धिको द्वार खोल्न सक्ने महत्वाकांक्षी मानिएको राष्ट्रिय गौरवको आयोजनाका व्यवधान हटाउन क्याम्प खडा गर्ने, प्लेटफर्म तयार गर्ने, स्थानीयको माग सम्बोधन समेत सँगसँगै लगिएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले ड्रिलिङ गर्न ठूलो उपकरण ल्याउने गरी कर्णाली राजमार्ग विस्तारलाई तीव्रता दिइएको जानकारी दिए।

उपकरण चीनको तियानजिङ शहरदेखि भारतको कोलकाता बन्दरगाहबाट नेपालगन्जको जमुनाहा नाका, सुर्खेत र कर्णाली राजमार्गको साङ्गेतडा, चामुण्डा बिन्द्रासैनी हुँदै मध्यपहाडी राजमार्ग भएर जलजलेसम्म ल्याइने भएको छ। यसअघि प्राविधिक टोलीले सिस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओकेमिकल स्याम्पलिङ सर्भेलगायत  गरिसकेको छ। यस अध्ययनबाट पेट्रोलियम पदार्थ कति छ‚ उत्खनन सम्भव छ कि छैन भन्ने उत्तर दिनेछ।

अन्तिम प्रतिवेदनअनुसार भण्डारण निश्चित हुनुका साथै प्रचुर मात्रामा भण्डारण र उत्खननको सम्भावना प्रबल रहेको पुष्टि भएसँगै अन्तिम चरणको अन्वेषणात्मक ड्रिलिङ अघि बढाइएको छ।

अन्वेषणका लागि २०७६ सालमा खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो।

सन् २०२२ सम्म अन्वेषण सक्ने गरी सम्झौता गरिए पनि कोरोना महामारीका कारण तोकिएको समयमा अपेक्षाअनुसार काम हुन सकेन।

पुनः २०७८ चैत १४ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद २ वर्ष थप गर्ने निर्णय गरेपछि काम फेरि अघि बढाइएको थियो। यद्यपि तोकिएको अवधिसमेत सकिनै लागेका बेला अवधि थपेर मात्र अगाडि बढ्ने आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.