मलै : बबई गाउँपालिका-७ मलैका लीलबहादुर बुढाथोकी फोन गर्नुपर्दा घण्टौँ हिँडेर अग्लो डाँडामा जान्छन् र कुरा गर्छन्। यो उनको दिनचर्या बनेको छ। दाङ जिल्लामा पर्ने मलैका सबै बासिन्दाको कथा यही हो।
भोट माग्न आउँदा नेताहरूले आश्वासन दिएपछि यस्ता समस्याबाट मुक्त भइन्छ भन्ने लागे पनि अहिलेसम्म समस्या उस्तै रहेको उनले बताए। नेताले आफूहरूलाई भोटका लागि मात्र प्रयोग गरेको उनको दुखेसो छ।
उनले भने, ‘यहाँको समस्याको कुरा गरेर साध्य छैन। हामी सबै कुराबाट पछाडि परेका छौँ। अहिलेको जमानामा पनि फोन गर्न एक डेढ घण्टा हिँडेर अग्ला पहाडमा जानुपर्छ। बाटो, विद्युत्, स्वास्थ्य, शिक्षा लगायतको समस्या छ। नेताहरू भोट माग्न त आउँछन्‚ जितेर गएपछि फर्केर हेर्दैनन्।’
उनले सिंहदरबारको अधिकार गाउँगाउँसम्म भन्ने गरे पनि त्यो अधिकार आफूहरूले नपाएको गुनासो गरे। उनका अनुसार मलै गाउँ विकट क्षेत्रमा पर्ने भएकाले वर्षमा ६ महिना मात्र जोखिम पूर्णरूपमा गाडीहरू चल्छन्। बाँकी ६ महिना हिँडेर वडा कार्यालय वा गाउँपालिकामा काम भए आउनुपर्ने बाध्यता रहेको बताए।
उनले भने, ‘सडक राम्रो छैन। अहिले त गाडी जसोतसो चल्छन्। पानी परेपछि सबै बाटो बिग्रिन्छ। वडा वा गाउँपालिकामा कुनै काम परे २-४ घण्टा हिँडेर जान बाध्य छौँ।’
मलैका बासिन्दालाई अहिले पनि फोन गर्न घण्टौँ हिँडेर अग्ला डाँडा खोज्नुपर्ने बाध्यता छ। देशमा के हुँदै छ भन्ने उनीहरूलाई थाहा छैन।
वरिपरि अग्ला पहाड बीचैमा समतल भूमि रहेको मलै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र समेत हो।
मध्यवर्ती क्षेत्र पर्ने हुँदा यहाँका बासिन्दा जंगली जनावरबाट पनि उत्तिकै पीडित छन्। स्थानीय देउमा पुनका अनुसार बाख्रापाठा चराउन लैजाँदा बाघले खाइदेला भन्ने डर हुन्छ। खेतबारीमा लगाएको अन्नबाली जंगली जनावरले खाइदिन्छन्। सबै कुराबाट आफूहरू पछाडि परेको भन्दै उनले फोन गर्न अग्ला पहाडमा नेटवर्क खोज्दै जानुपर्ने बाध्यता रहेको बताइन्।
यसैगरी उनले अहिले गाडी चल्दा विरामी हुँदा गाडीमा लैजाने भए पनि बर्खाको समयमा बोकेर लैजानुपर्ने बाध्यता रहेको भन्दै समयमै अस्पताल पुर्याउन नसक्दा अकालमै ज्यान जाने गरेको पनि बताइन्। यस्तै उनले गाउँका सबै जग्गामा सिँचाइको सुविधा नभएको उनको कथन छ। उनले भनिन्, ‘हामी सबै कुरामा पछि परेका छौँ। नेताले हामीलाई चुनावका वेला मात्र सम्झिन्छन्। अरू वेला त यस्तै हो। कहिलेकाहीँ त हामी कहाँका नागरिक हौँ जस्तो पनि लाग्छ।’
चुनावका वेला नेताहरू आएर धेरै आश्वासन दिने र जितेपछि एकपटक पनि नफर्किंदा यहाँका बासिन्दाले यस्तै समस्या भोग्दै आएको स्थानीय बमबहादुर बुढाले बताए। आफू २०३० सालमा सल्यानबाट बसाइँसराइँ गरी यहाँ आएको भन्दै अहिलेसम्म धेरै कुराबाट वञ्चित भएको उनको भनाइ छ।
उनले भने, ‘त्यो वेला सल्यान एकदमै विकट क्षेत्र भएको हुँदा बसाइँ सरी यहाँ आयौँ। अहिले सल्यानमा सबै सुविधा पुगेको छ तर यहाँ सबै कुराबाट हामी पछाडि परेका छौँ। यहाँ छाडेर जाऊँ भने कहाँ जाऊँ? नजाऊँ भने कहिलेसम्म यसरी बाँच्ने?’
५० वर्षअघि आफू आउँदा मलै जस्तो थियो, अहिले पनि उस्तै रहेको भन्दै उनले राज्यले दिनुपर्ने सबै सेवा सुविधा दिनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।