|

काठमाडौं : सरकारले रैथाने विश्वविद्यालय सञ्चालनको तयारी गरेको छ। डा. मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बैठक बस्दै दोस्रो चरणको प्रतिवेदन बुझाइसकेको छ।

हिजो भएको बैठकमा उक्त विश्वविद्यालयबारे छलफल भएको थियो। पर्यटनमन्त्री सुदन किरातीले विश्वविद्यालय स्थापनाका लागि मन्त्रालयबाट आवश्यक सहयोग गर्ने र तत्काल काम अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।   

सम्भाव्यता अध्ययनका लागि १० सदस्यीय समिति गठन

विसं २०७९ चैत ९ गते पर्यटन मन्त्रालयमा पर्यटनमन्त्री र उच्च पदाधिकारीहरूसँग प्रस्तावित विश्वविद्यालय स्थापना सम्बन्धमा छलफल भएको थियो।

उक्त छलफलको नतिजास्वरूप रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न २०७९/१२/२० को मन्त्रीस्तरीय  निर्णयअनुसार पूर्वसचिव तथा प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर बीके(विश्वकर्मा)को संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन भएको थियो।

जसमा संयोजकमा रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा. मान बहादुर बीके थिए। सदस्यहरूमा साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य राजन मुकारूङ, मुन्दुम तथा संस्कृतिका अध्येता भोगीराज चाम्लिङ, राष्ट्रिय युवा परिषद्की पूर्वसदस्य तथा कानुन व्यवसायी गीता चौधरी र पर्यटन मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठ थिए।

उक्त समितिले विभिन्न सरोकारवालाहरूसँग परामर्श गरी जेठ २९ गते प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। सोही प्रतिवेदनको सिफारिसबमोजिम उक्त समितिमा एकजना प्राध्यापक र अभियन्ता र सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरू रहने गरी गत असार २५ गतेको पर्यटन मन्त्रालयको निर्णयअनुसार १० सदस्यीय रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समिति गठन भएको छ।

उक्त समितिका संयोजकमा डा. मानबहादुर बीके छन्। सदस्यहरूमा मुकारूङ, चाम्लिङ, चौधरी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.लिला न्याइच्याई, शिक्षा मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्याेग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र  संस्कृति शाखा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि छन्।

के हो रैथाने विश्वविद्यालय, कसरी सञ्चालन हुन्छ?

समितिका सदस्य एवं साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य  राजन मुकारूङका अनुसार नेपाली मौलिकता खोज्ने र त्यसमै आत्मनिर्भर गराई संरक्षण गराउने साथै ज्ञान दिने थलो नै रैथाने विश्वविद्यालय हो।

उक्त विश्वविद्यालय सञ्चालनमा आएपछि यहाँको रैथाने ज्ञान, सीप, कला,संस्कार, संस्कृतिबारे अध्ययन अध्यापन गराइनेछ।

‘हामी विभिन्न जाति, भाषी सोच भएका मान्छे छौँ, आफ्नो कला, सीप, सोच, शैली, सौन्दर्य छन्, यसलाई लोप हुन नदिइ कसरी उत्पादनशील बनाउन सकिन्छ भनेर यसको अवधारणा ल्याएको हो,’ उनले भने।

आधुनिकतासँगै भूमण्डलीकरणका कारण आनुवांशिक ज्ञान तथा रैथाने सीप, कला‚ कौशल र संस्कृति ओझेलमा पर्दै गएकाले यसको संरक्षणका लागि विश्वविद्यालय खोल्न आवश्यक रहेको उनको भनाइ छ।

उनका अनुसार यो विश्वविद्यालय समुदायमा आधारित गुठियारी ढाँचामा स्थापना हुन सक्नेछ। ‘यस विषयमा छलफलकै क्रममा छ, पछि कुन ढाँचामा कहाँ कसरी सञ्चालन गर्ने भनी छलफलबाटै टुंगो लाग्छ,’ उनले भने।

बजेट विनियोजन नहुँदा समस्या

समितिका अनुसार यसअघि रैथाने सीप, कला तथा संस्कृति संवर्द्धनका सम्बन्धमा संगठित रूपमा भइरहेका कामहरूको नक्शांकन गर्ने, प्रस्तावित विश्वविद्यालय स्थापनाका लागि अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसारको ढाँचामा आवश्यक पर्ने कानूनको मस्यौदा तयार गरी पेस गर्ने लगायत कार्य विवरण तोकिएको थियो।

तर बजेट अभावले अहिलेसम्म यी काम हुन नसकेको समितिले जनाएको छ। समितिले हिजो पर्यटन मन्त्रीलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘तयारी समिति गठन गरिएको भएता पनि समितिको काम कारबाहीका लागि कुनै बजेट विनियोजन नगरिएको हुँदा औपचारिक बैठक बसी काम कारबाही अघि बढाउन नसकिएको र हालसम्म श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिबाहेक अरू मन्त्रालय र निकायबाट प्रतिनिधि तोकिनसमेत बाँकी रहेको छ।’

तथापि गत कात्तिक २ गते र मंसिर १८ गते औपचारिक बैठक बसिएको थियो भने अनौपचारिक रूपमा विभिन्न माध्यमबाट विषयका विभिन्न विज्ञहरूसँग समेत छलफल गर्ने कार्य गरिएको समितिले जनाएको छ।

यस्तै, गत भदौ ४ गते लुम्बिनी प्रदेशमा समेत छलफल गरेको समितिले जनाएको छ। समितिका संयोजक डा. मानबहादुर विश्वकर्माले अझै थप अध्ययन गरेर सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.