|

पर्वत : गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रमको लागि पर्वतबाट जाने शिक्षक र विद्यार्थीको छनोट पूरा भएको छ।

जिल्लाका सात वटा पालिकाहरूमा शिक्षक तथा विद्यार्थीको लागि आयोजना गरिएका वक्तृत्वकला र नृत्य प्रतियोगिताका आयोजना गरेपछि उनीहरूलाई जिल्ला स्तरमा शनिवार प्रतिस्पर्धा गराएर प्रतिस्पर्धीहरूको टुङ्गो लगाइएको सामाजिक विकास कार्यालय पर्वतकी प्रमुख मुना अधिकारीले बताइन्।

फरक फरक चार विधामा भएका प्रतिस्पर्धामा प्रथम स्थानमा आएकाहरू प्रदेश स्तरमा आयोजना हुने ‘शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान तथा प्रोत्साहन पुरस्कार’ कार्यक्रममा अन्य १० जिल्लाका सहभागीहरूसँग प्रतिस्पर्धा गर्ने छन्। पुस २० गतेभित्रमा जिल्लाका प्रतियोगिताहरू सकेर प्रदेशमा पठाउनुपर्ने भनिए अनुसार शनिवार नै पर्वतका प्रतिस्पर्धीहरूको टुङ्गो लगाइएको हो। प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयमा बाल विकास केन्द्रदेखि माध्यमिक तहसम्म स्थायी, अस्थायी, करार, राहत अनुदान कोटा र निजी स्रोतमा कार्यरत शिक्षक तथा विद्यार्थीहरू सहभागी हुन पाउँछन्।  

जसमा शिक्षकतर्फको वक्तृत्वकलामा राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासीय मा.वि.का सहायक प्रधानाध्यापक प्रकाश आचार्य प्रथम, पशुपति माध्यमिक विद्यालय राम्जाका शिक्षक कमल शर्मा तिमिल्सिना द्धितिय र जनता माध्यमिक विद्यालय फलेवासकी इन्दिरा तिवारी तृतीय भएका छन्। विद्यार्थीतर्फको वक्तृत्वकला प्रतियोगितामा नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्माकी निशा आचार्य प्रथम, जनकल्याण माध्यमिक विद्यालय बाच्छाकी अस्मिता क्षेत्री  द्धितिय र नवजागृत माध्यमिक विद्यालय तिलाहारकी रोशनी बि.क तृतीय बनेका छन्।

यस्तै शिक्षकतर्फको नृत्य प्रतियोगितामा मोदी गाउँपालिका प्रथम र कुश्मा नगरपालिका दोस्रो भएका छन् भने  विद्यार्थी नृत्यतर्फ कुश्मा नगरपालिकाको नारायण माध्यमिक विद्यालय प्रथम, मोदी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय द्धितिय र फलेवास नगरपालिकाको शिशु निकेतन विद्यालय तृतीय बनेका छन्। प्रतियोगितामा नृत्य र वक्तृत्वकलामा प्रथम बनेका समूहले नगद १०/१० हजार, द्धितिय बनेका समूहले ८/८ हजार र तृतीय बनेका समूहले नगद ६/६ हजार रुपैयाँ सहित प्रमाण पत्र पाएका छन्।

वक्तृत्वकला अन्तर्गत विद्यार्थीका लागि ‘समावेशी सीपमूलक शिक्षा, स्वदेशमा युवा राष्ट्रको इच्छा’ शीर्षक राखिएको छ भने शिक्षकका लागि ‘म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि’ शीर्षक दिइएको छ। वक्तृत्वकलातर्फ जिल्लामा प्रथम बनेका शिक्षक र विद्यार्थीले आउँदो पुस २७ गते पोखरामा हुने वक्तृत्वकला प्रतियोगितामा भिड्ने छन्। यस्तै नृत्यतर्फ प्रथम बनेका शिक्षक र विद्यार्थीले पुस २८ मा पोखरामा नै हुने नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।  नृत्यमा २ देखि ६ जना सहभागी हुन पाउने तथा नृत्यका लागि प्रयोग भएको गीत सामाजिक, सांस्कृतिक र सन्देशमूलक हुनुपर्ने भनिएको छ। वक्तृत्वकलाका लागि ७ मिनेटको समय राखिएको छ।

पोखरामा हुने वक्तृत्वकलामा प्रथम, द्धितिय र तृतीय बन्नेहरूले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ तथा नृत्यतर्फ प्रथम, द्धितिय र तृतीय बन्नेहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.