|
फाइल तस्वीर

विराटनगर : यातायात मजदुरको रुखो बोली, गुन्द्रुक झैँ खाँदिएर गन्तव्यमा पुग्नुपर्ने यात्रुहरुको बाध्यता। यो दैनिकजस्तो देखिने कोशी प्रदेशमा लामो तथा छोटो  दुरीमा कुद्ने सार्वजनिक यातायातको दृश्य हो।

त्यसमा पनि भाडाकै लागि  क्षमताभन्दा धेरै यात्रुहरु राखेर सवारी चलाउँदै गर्दा सहचालकको रुखो व्यवहारको मारमा ज्येष्ठ नागरिक मात्रै होइन अन्य यात्रु पनि पर्ने गरेका छन्।

त्यसो त सार्वजनिक यातायातको अगाडिका सिटको भित्तामा अशक्त, महिला र ज्येष्ठ नागरिकका लागि आरक्षण सिटसमेत तोकिएको हुन्छ तर ती आरक्षित सिटसमेत सम्बन्धित व्यक्तिले उपभोग गर्न पाउँदैनन्।

सुनसरीको इटहरीबाट धरान जानका लागि सार्वजनिक यात्रायात चढेका ६८ वर्षीय लालबहादुर विक उभिएरै तरहरासम्म पुगे। खचाखच कोचिएको बसमा यात्रा गर्दै गर्दा लालबाहदुरका लागि कसैले आफू बसेको सिट छाडेर उठेनन्। देख्नेले समेत नदेखे झैँ गरेर बुझ पचाए।

ज्येष्ठ नागरिक, महिला र अशक्तका लागि छुट्याएका सबै आरक्षित सिट पढेलेखेका युवाहरुले ओगटेका थिए। उनीहरुले एकअर्कामा मुखामुख गरे तर ठाउँ  छाडेनन्।

सहचालकले समेत लालबहादुरलाई बस्नका लागि सिट व्यवस्थापन गर्नेतर्फ कुनै ध्यान दिएनन्। उल्टै रुखो स्वरमा ठाउँ सर्न भन्दै झम्टिए। इटहरीबाट धरान गन्तव्य बनाएर  गाडी चढेका लालबहादुर बीच बाटोमै ओर्लिए।

सहचालकको व्यवहारले गर्दा नै आफू तरहराबाट अर्को गाडी फेर्न बसबाट उत्रिएको उनले सुनाए। बस भाडामा राज्यले तोकेको सहुलियत छुटसमेत नपाएको गुनासो उनले गरे।

यता, विराटनगरको कन्चनबारीबाट इटहरीसम्म जान बस चढेकी ६० वर्षीया विनादेवी दाहालले पनि भनेजस्तो सिट पाउन सकिनन् न त यातायातको भाडामा छुट नै पाइन्।

भाडामा ज्येष्ठ नागरिकले पाउने नियमअनुसारको छुट माग गर्दा सहचालकले सबैलाई छुट दिए आफूहरु घाटामा जाने टर्रो जवाफ दिए। नातिनीको सहारामा इटहरी हिँडेकी सहचालकको व्यवहारले सधैँ आजित बन्ने गरेको उनले सुनाइन्। 

उनी भन्छिन्, ‘गाडी चढाउने बेलामा म्याउँम्याउँ गर्छन्, गाडी चढेपछि यात्रुलाई सिट मिलाउन मतलव नै गर्दैनन्।’ ज्येष्ठ नागरिक, अशक्तका लागि छुट्याइएको सिटमा समेत युवाहरु नै ढसमस्स बसेपछि उनले बर्बराउँदै भनिन्, ‘पढेलेखेकाको त ताल यस्तो छ अनि के गर्नु?’

आफू उभिएको छेवैका एक यात्रुले बस्न आग्रह गरेपछि सिटमा बसेर उनको यात्रा अगाडि बढेको थियो तर झर्ने समयमा सहचालकले हप्काउँदै बसबाट उतार्न खोज्दा केही समय विवादसमेत भएको थियो।

माथि उल्लेखित प्रतिनिधि पात्रहरु गएको शनिवार विराटनगरदेखि तरहरासम्म यात्रा गर्दा भेटिएका हुन्। सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा सहुलियत दिनेसम्बन्धी ऐन, नियम र कार्यविधि  बनिसक्दा पनि अझैसम्म छुट व्यवस्था भने नपाएको उनीहरुको गुनासो थियो।

ज्येष्ठ नागरिकको आरक्षण सिटमा युवाहरुले ओगट्नुभन्दा पनि नैतिकताको आधारले ठाउँ खाली गर्दिनुपर्ने विराटनगरका युवा कृशल आले बताउँछन्। यस्तो विषयमा नियमन गर्नु  राज्यको मात्रै दायित्व नभएर सचेत नागरिकको हिसाबले आफूहरु पनि सजग रहनुपर्नेमा उनी जोड दिन्छन्।

‘ज्येष्ठ नागरिक, महिला र अशक्तहरुका लागि छुटाइएको आरक्षण सिटमा युवाहरु नै बसेर अशक्त, ज्येष्ठ नागरिकहरुलाई बेवास्ता गर्ने गरेको पाइन्छ, यस्तो नैतिकताको विषयमा राज्यले मात्रै नियमन गरेर हुँदैन हामी नागरिक पनि सजग र सचेत हुनु जरुरी छ,’ उनी भन्छन्, ‘सहचालकले यस्तो विषयलाई ध्यानमा राख्नुपर्छ । ’

 कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेल सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकले नपाएको छुटको सम्बन्धमा उजुरी आए कारबाही गर्ने गरेको बताउँछन्।

कहिलेकाहीँ सार्वजनिक यातायातमा छड्के जाँचसमेत गर्ने गरेको बताउँदै एसपी पौडेलले जाँच गर्दा आरक्षण सिट नदेखिएमा नियमन गर्ने गरेको बताए।

‘हामीले सार्वजनिक यातायातमा छड्के चेकजाँच पनि गरेका छौँ र आरक्षण सिट नभेटेमा कारबाहीको दायरामा पनि ल्याएका छौँ‚‘ उनले भने, ‘हामीलाई ज्येष्ठ नागरिकले  भाडामा छुट दिनुपर्छ भनेर गाडीमा चढाएन भनेर उजुरी गरेको खण्डमा तत्कालै रेस्पोन्स गरेर कारबाहीसमेत गरेका छौँ।’

उनी यस्तो विषयमा नागरिक पनि सजग हुनुपर्नेमा जोड दिन्छन्। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयको यस वर्षको साउनदेखि पुस १५ गतेसम्मको तथ्याङ्कअनुसार ज्येष्ठ नागरिकलाई भाडा छुट नदिएको ७ वटा उजुरी परेका छन्।

विद्यार्थीहरुलाई छुट नदिएको ७ वटा, अशक्त र फरक क्षमता भएकालाई भाडा छुट नदिएको १० वटा गरी जम्मा २४ वटा उजुरी परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.