माघमा ल्याउने लक्ष्य, आगामी बर्खामा पुन: बन्द हुने

|

काठमाडौं : मेलम्ची खानेपानी आयोजना शुरू भएको दुई दशक बितिसक्दा पनि उपत्यकावासीले अझै दीर्घकालीन रूपमा प्यास मेट्न पाएका छैनन्। पानी आउन सकेको छैन नै, पटक–पटक मर्मतमा करोडौँ रुपैयाँ खर्च भइरहेको छ।

सन् २००१ मा शुरु भएको आयोजना दुई दशकपछि अर्थात् पहिलो पटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो। तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍यायो।

क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिए समयमा पानी आउन सकेन।

बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेरि मेलम्ची खानेपानी विकास समितिले गत बर्खामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मत गर्ने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्‍याे।

​उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो। विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर क्षति हुन नदिन भन्दै पुनः बन्द गरियो । नभन्दै यो वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍यायो। फलस्वरूप पाँच महिना भन्दा बढी समयदेखि मेलम्चीको पानी ठप्प छ। 

सकियो ३१ अर्ब, दुई पटक मात्रै मर्मत गर्दा ३० करोड खर्च

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले समितिमार्फत मात्रै यो आयोजनामा ३१ अर्ब सकिएको जानकारी दिए। उनका अनुसार अस्थायी रूपमा मात्रै ल्याउन बर्सेनी मर्मत कार्यमा १८ करोड रुपैयाँ सकिन्छ। दुई पटक क्षति मर्मत भने ३० करोड रकम खर्च भएको  छ।

‘पहिलो पटक बाढीले क्षति पुर्‍याएको वेला अस्थायी रूपमा मर्मत गर्दा १८ करोड सकियो’, उनले भने, ‘पछि भने कम क्षति भयो।’ उनका अनुसार गएको बर्खामा  फेरि बाढीले आयोजनामा धेरै क्षति भयो। मर्मतमा करिब १२ करोड लाग्ने अनुमान छ। 

अस्थायी रूपमा माघ पहिलो हप्ता ल्याउने योजना

आगामी माघ पहिलो हप्ताभित्र मेलम्ची खानेपानी ल्याउने सरकारको योजना छ। त्यो पनि दीर्घकालीन नभई फेरि अस्थायी रूपमा ल्याउन लागिएको हो। अहिले तीव्ररूपमा मर्मतको काम भइरहेको खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन्। ‘धमाधम काम भइरहेको छ,माघ पहिलो हप्तामा पानी ल्याउने योजना छ’, उनले भनिन्।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले पनि निर्धारित समयमै पानी ल्याउन काम भइरहेको जानकारी दिए। ‘काम भइरहेको छ,तर ठूला ठूला ढुंगाले पुरिएकाले काम गर्न भने कठिन भइरहेको छ,तर तोकिएको समयमा पानी पठाउन सकिन्छ भन्ने छ,’उनले भने। सरकारले दीर्घकालीन र अल्पकालीन मर्मत गरी दुई क्याटागोरी बनाएको छ। ‘अहिले भने वर्षात सुरू नभएको बेलामा मात्रै अस्थायी रूपमा पानी ल्याउन अल्पकालीन मर्मत भइरहेको हो’,उनले भने। फेरि  बर्खा  लागेपछि मेलम्चीको पानी बन्द गर्ने उनले बताए। 

‘हेड वर्क्स’ सार्नुपर्ने सुझाव आएपछि पुन: अध्ययन गरिँदै

आयोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजना विकास समितिले बनोट तथा बाढीपहिरोको जोखिमका कारण हेड वर्क्स सार्न सुझाव दिएको छ। (एडीबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेड वर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्न सुझाव दिएको छ।

सुझावअनुसार हेड वर्क्स सार्नुपरे तीन वर्ष भन्दा बढी समय लाग्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए। २०७८ सालमै मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढी पहिरोबारे एडीबीले अध्ययन गरेको थियो। 

यो अध्ययनमाथि पुनः अध्ययन गर्ने सरकारको तयारी छ। यसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पस छनोट भएको खानेपानी मन्त्रालयकी प्रवक्ता श्रेष्ठले जानकारी दिइन्। ‘एडीबीले दीर्घकालीन रूपमा पानी ल्याउन हेड वर्क्स नै सार्नुपर्ने भनेको छ। यो सार्नु कतिको उचित छ, सार्नु नै पर्ने हो वा होइन भनी अध्ययन गर्न लागिएको छ’, उनले भनिन्।

यो अध्ययन अब छिटो नै सुरू हुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए। ‘पहिला अध्ययन गर्नेहरू त विदेशका विज्ञहरू हुन्,अब यहाँका भूबनोट,परिवेश थाहा हुँदैन नी त,त्यसैले सुरूङ साँच्चै सार्नु नै पर्ने अवस्था देखिएको हो वा होइन भनी अध्ययन गर्न लागिएको हो’,उनले भने।

मेलम्ची योजनाको इतिहास

सन् २००१ मा ३७ अर्ब रूपैयाँ बजेट विनियोजन गरी यो आयोजना निर्माण आधिकारिक रूपमा शुरू भएको थियो। देशमा निर्दलीय पञ्चायत व्यवस्था भएकै वेला २०४५ मा बिन्नी एण्ड पार्टनर्स यूकेले खानेपानी समस्या समाधानका लागि २० आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये मेलम्ची आयोजनालाई  प्राथमिकतामा राखिएको थियो।

२०४७ मा स्टेनले एण्ड एसोसिएसनले मेलम्चीबारे थप अध्ययन गरेको थियो। २०४९ को अस्ट्रेलियाली कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहर गरेको थियो। खानेपानी आयोजना निर्माणका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो ग्रूप कर्पोरेसन र सिआरसिसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो।

सम्झौताअनुसार काम नभएपछि ६ किलोमिटर सुरूङ खनेको चिनिया कम्पनीसँग सन् २०११ मा सरकारले सम्झौता तोड्यो। त्यसपछि ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालेली कम्पनीको अपेराटिभ मुरातोरी एण्ड केमेन्टेस्टी (सीएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रूपैयाँमा सुरूङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो।

मार्च २०१८ अन्तिम समयसीमा तोकिएको सीएमसीले लक्ष्यअनुसारकै मितिमा काम सम्पन्न गरेमा ‘बोनस’ उपलब्ध गराइने घोषणासमेत गरिएको थियो। २०४७ पछि र गणतन्त्र आएपछिका सरकारले पटक–पटक कहिले दशैँका वेला त कहिले नयाँ वर्षमा उपत्यकावासीले मेलम्चीको आउने भनी आश्वासन दियो। मेलम्चीको पानी आए पनि दीर्घकालीन व्यवस्थापन अझै हुन सकेकाे छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.