|

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधाममा नेपालमै पहिलोपटक किड्नीमाथिको ठूलो ट्युमरको सफल शल्यक्रिया भएको छ।​

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा युरोलोजिस्ट डा. सुधीर सिंहको टोलीले २ किलो ६ सय ग्रामको ट्युमर निकाल्न सफल भएको हो।​

जनकपुरधाम उपमहानगर-२४ बसहियाकी ३५ वर्षीया रामतोला देवी मण्डलको ट्युमर निकालिएको हो। रामतोलाका श्रीमान् ४३ वर्षीय रामबाबु मण्डलले थाहाखबरसित कुरा गर्दै भने‚ ‘पैसा नहुँदा लामो समयदेखि उपचार गराउन सकेको थिइनँ।’​

रामतोलाका श्रीमान् मण्डलले एकजनासँग १ लाख ५० हजार ऋण लिएर श्रीमतीलाई अप्रेशन गराएको बताए। गरिबीका कारण बच्चालाई पनि पढाउन नसकेको उनको दुखेसो छ।

उनको ५ धुर घडेरी थियो। ४ वर्षअघि जेठी छोरी रिमा मण्डलको बिहे गर्दा त्यो  बेचेको बताए। दुई छोरा र दुई छोरीका बुवा रामबाबुले भने‚ ‘परिवार चलाउन पनि गाह्रो छ।’​

जनकपुरधाममा काठमिलमा ज्यालादारीमा काम गर्दै आएको तर श्रीमतीको उपचारमा दौडधुप गर्नुपर्दा अहिले काम छुटेको बताए।

उनले भने‚ ‘मिटर ब्याज आन्दोलनका कारण अहिले कसैले पनि ऋण दिँदैन, श्रीमती र म कति ठाउँ पुग्यौँ तर कसैले दिएन।’

हिम्मत हारेका वेला श्रीमतीकी मितिनीले १ लाख ५० हजार रुपैयाँ ऋण दिएको र त्यसैले उपचार गर्ने आँट आएको उनको भनाइ छ। उनले अप्रेशन, औषधि र अस्पताल खर्च गरेर करिब २ लाख खर्च भएको बताए।​

कैयौं अस्पतालले उपचारै नहुने जवाफ दिएकाले बाँच्ने आशा मारिसकेको तितो अनुभव रामतोलाले सुनाइन्। शल्यक्रिया टोलीको नेतृत्व गरेका डा. सुधीर सिंहले यो खालको शल्यक्रिया नेपालमै पहिलोपटक भएको बताए।

बिरामीको ट्युमर किड्नीसँगै टाँसिए पनि किड्नी बचाउँदै ट्युमर निकाल्न सफल भएको भन्दै डा. सिंहले खुसी व्यक्त गरे।

नेपालमै पहिलोपटक भएको कारण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ठूलै उपलब्धि रहेको रजिष्ट्रार डा. विनोद यादवले बताए।

डा. सुधीरको नेतृत्वको शल्यक्रिया टोलीमा डा. अविन यादव‚ डा. नवीन साह‚ डा. अमित कर्ण, डा. सञ्जय यादव, डा. शैलेन्द्र यादव‚ शान्ति लिम्बू र पूजा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.